साँखुका पाँच ढोका, जसले बुझाउँछन् इतिहास र संस्कृति

काठमाडौंप्रेस

प्रबिता श्रेष्ठ

वरपर रहेका शिवलिंगहरूले महादेव मन्दिरको परिसर बुझाउँछन् । यो परिसर हो, ज्योतिर्लिंगेश्वर महादेव मन्दिरको । नजिकै साइन बोर्डमा पनि लेखिएको छ, महादेवस्थान । छेउबाटै बगेको छ, राजकुलो । नजिकै फल्चा छ, जहाँ थाकेर आएका बटुवादेखि मन्दिर परिसरमा टहल्न आउने स्थानीय बासिन्दा एकछिन बिश्राम गर्छन् ।

राजकुलोले आफ्नो बाटो तय गरेको छ, दक्षिणतर्फ । सोही कुलोलाई आँखाले पहिल्याउँदै जाँदा पुरानो इँटाले बनेको एउटा ढोका देख्न सकिन्छ । त्यही ढोकाबाट हो, साँखु नगर प्रवेश गर्ने ।

मन्दिरको दक्षिणतर्फ इँटाको पुरानो शैलीमा बनेको ढोका उभिएको छ, एउटा इतिहास बोकेर । यो ढोकाबाटै ल्हासाका लागि एकाबिहानै मानिसहरू हिँड्थे रे, कुनै समय । साँखुका स्थानीयवासी तथा इतिहासकार प्रकाशमान श्रेष्ठ (साख्व) त्यसै भन्छन् ।

ढोका सामान्य देखिन्छ । तर, ढोकामा जडित मूर्तिले यसको स्थापना मल्लकालभन्दा पहिले नै भएको छनक दिन्छ । करिब ३३ सय वर्ष पुरानो इतिहास बोकेको सहर हो, साँखु । मणिशैल महावदानमा उल्लेख भएअनुसार कलिगत सम्वत् १८०१ राजा शंकदेवले एक हजार घरको नगर बनाउँदा उक्त ढोका पनि निर्माण गरिएको इतिहासकार श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति: : 2021-11-22 11:20:00

प्रतिकृया दिनुहोस्