टीकाभैरव, रिसाल डाँडा, बोसन डाँडा, गागलफेदी, कागेश्वरी, कालुपाँडे स्मृतिपार्क, ह्वाइट गुम्बा, ईचंगु, चांगुनारायण, साँखु, गोदावरी, शिवपुरी, चम्पादेवी...। काठमाडौं उपत्यका वरिपरिका यी ठाउँहरु घुमघाम गर्नका लागि रमणीय गन्तव्य हुन्। काठमाडौं शहरसँगै जोडिएका यी स्थानमा म भने भर्खरैमात्र पुगेँ। त्यहाँ पुग्ने अवसर जुरायो साइकल चढ्ने रहरले।
चार दशकपछि पलाएको साइकल चढ्ने रहरले काठमाडौं उपत्यकाका कुनाकन्दरामा लुकेका सुन्दर र मनोरम स्थानहरुको दर्शन दिलायो। वास्तवमा साइकल किनेको थिएँ छोराछोरीका लागि। त्यही साइकल चढेर भित्री शहर घुम्ने रहर जाग्यो। त्यसमा जोडिए अरुण र सन्तोष। दुई तीन चार गर्दै साथीहरुको संख्या बढ्दै दर्जन पुग्यो। रहरै रहरमा पचास वसन्त देखेका बाल सखाहरु जोडिएर बन्यो साइकल समूह। नाम जुर्यो घःचा पुचः ४३। घःचा अर्थात् पांग्रा। पुचः माने समूह। ४३ सालमा एसएलसी दिएका साथीहरुको समूह भएकाले ४३ झुण्डियो घःचाःमा। बाल्यकालमा पाँग्रो डोहोर्याउँदै, खेलाउँदै हुर्केका साथीहरुको समूहको नाम उपयुक्त लाग्यो घःचाः पुचः४३। नेवाः साथीहरुलाई राम्रो लाग्नु स्वाभाविक हो। तर, गैर नेवाः साथीहरुले अर्थ बुझेपछि झन् मन पराए।
साइकल रहरले गुड्दैन। पहिलो दिनको यात्रामा नै थाहा पाइयो दिव्य ज्ञान। कामको दौडधुपमा मोटरसाइकल र गाडीको लत परिसकेका पचास लागेका तथा पार गरेका पचासे समूह। त्यसैले सजिलो र सहज यात्रा अनुभव दिलाउने जिम्मा दिइयो मित्र अरुण श्रेष्ठलाई।