९५ वर्षअघि निगौल गाई गौशालाको जग्गा २ सय बिघा थियो। १५ सय गाई थिए। जग्गा अतिक्रमणका कारण गौशालासँग १ सय ४८ बिघा १५ कट्ठाको मात्रै लालपुर्जा छ। गाई, बाच्छाबाच्छी र साँढे गरी २ सय ९४ वटा मात्रै बाँकी छन्। झन्डै ५२ बिघा जमिन र १२ सय गाई हराएका छन्।
गौशालाको सम्पत्ति विभिन्न व्यक्तिले हडपेका छन्। जसकारण चरण क्षेत्र मासिएको छ। गाईलाई खुवाउन हम्मेहम्मे परिरहेको छ। जहाँ बस्ती विस्तार भइसके। ठूला पक्की भवन बनिसकेका छन्।
‘गाईले केही खानेकुरा पाउँदैनन्। पराल पनि १० दिनमा एक दिन पाउँछन्। गुन्डा (कुडो) त देख्नै पाउँदैन। गाई, बाच्छाबाच्छी, साँढे भोकै प्यासै बाँचिरहेको छ’, गोठाला प्रमेश्वर मण्डल भन्छन्, ‘डेढ महिनाभित्र १० वटा गाईवस्तु खानै नपाएर मरे।’ यहाँ काम गर्ने २० कर्मचारीले नियमित तलबसमेत नपाएको उनी सुनाउँछन्।
बहाल बिदौरीका नाममा जग्गा भाडा लिएकाहरूले आफ्नै नाममा लालपुर्जा बनाएका छन्। नापी, मालपोत र गौशालाकै कर्मचारीको मिलेमतोमा जग्गा हडपेको जानकार बताउँछन्। यहाँको सम्पत्तिमा बोलवालाको रजाइँ छ। विभिन्न दलका स्थानीय नेताले अतिक्रमणकारीलाई साथ दिएको जनता समाजवादीका लक्ष्मी महतो बताउँछन्।
‘गाईको सम्पत्ति हडप्ने र भोकै मार्नेलाई पाप लाग्छ’, स्थानीय रामकेवल साह भन्छन्, ‘गत वर्षदेखि नै गाईहरूले राम्रोसँग खान पाएका छैनन्। एउटा गाई पालेर किसानले त्यसको दूध बेचेर सम्पत्ति जोड्छन्। गाईको बथान बढाउँछन्। यहाँ त कुन पापीको नजर लाग्यो, गाई खानै नपाएर भोक्कै मरिरहेको छ।’ धेरै ठाउँमा मनखपको नाममा जग्गा ठेक्का लिएर व्यक्ति मोटाइरहेका छन्। तर, ठेक्का रकम गौशालालाई तिर्दैनन्।