कोरोना भाइरस युरोप: नयाँ प्रतिबन्धात्मक व्यवस्था विरुद्ध प्रदर्शन

BBC

युरोपमा कोभिड-१९ सङ्क्रमण बढ्न थालेसँगै नेदरल्यान्ड्समा लागु गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भएको छ।

हेगमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आगो फ्याँकेका थिए। उनीहरूले साइकलहरू पनि जलाइदिए।

अघिल्लो रात रोटरड्याममा भएको कोभिड प्रतिबन्ध विरोधी प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको थियो।

अस्ट्रिया, क्रोएशिया अनि इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढिरहेको कोरोनाभाइरस सङ्क्रमणका कारण आफू ''निकै चिन्तित'' रहेको जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लुग्अले युरोपभर प्रतिबन्धात्मक व्यवस्थाहरू कडा नपारिए आगामी वसन्तसम्ममा थप ५००,००० मानिसको मृत्यु हुनसक्ने बीबीसीले जनाएकाे छ।

''कोभिड १९ फेरि हाम्रो क्षेत्रमा मृत्युको प्रमुख कारण बनेको छ,''उनले भने। भाइरससँग लड्नका लागि खोप अनि मास्क लगाउने जस्ता गरिनुपर्ने कार्यहरूबारे सर्वसाधारणहरूलाई थाहा भएको उनले टिप्पणी गरे।

कोभिड सङ्क्रमण फैलन नदिनका लागि कैयौँ सरकारहरूले नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै छन्।

नेदरल्यान्ड्सका कैयौँ सहरहरूमा लगातार दोस्रो रात प्रदर्शनहरू भए। प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि आपत्कालीन अवस्थाको घोषणा गरेको छ भने सात जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कसैले एउटा झ्यालबाट बिरामी बोकेको एम्बुलेन्समा ढुङ्गा प्रहार गरेका थिए। अधिकारीहरूका अनुसार पाँच जना प्रहरी घाइते भएका छन्।

घुँडामा चोट लागेका एक जनालाई एम्बुलेन्समार्फत उद्धार गरिएको छ।

शुक्रवार प्रहरीले रोटरड्याममा कोभिड प्रतिबन्ध विरोधी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा दुई जना घाइते भएका थिए।

महामारीयता सबैभन्दा ठूलो सङ्ख्यमा दैनिक सङ्क्रमण पुष्टि भएपछि गत शनिवार नेदरल्यान्ड्सले तीन साता लामो आंशिक लकडाउन लागु गरेको छ।

रोटरड्याममा आपत्काल घोषणा गरी रेल स्टेसनहरू बन्द गरिएका छन्।

प्रकाशित मिति: : 2021-11-22 05:42:00

प्रतिकृया दिनुहोस्