कास्की–म्याग्दीकाे 'खोप्रा–पदमार्ग' नेपालका थ्रुपै मार्गहरू मध्ये एक प्रसिद्ध पदस्थल हाे। एकान्त र पृथक यात्रासँगै एकहप्ता लामो घुमफिरका अनेकाैँ अनुभवहरू मनमा ताजै छन्। पदयात्रा अवधिभर पहाडी र हिमाली दृश्यको साथै गुराँसे जंगल, सुन्दर गाउँ–बस्ती र बारी–कान्लाको गोरेटो पहिल्याउँदै ठाउँ–ठाउँ हिँडियाे।
याे मार्गलाई स्थानीयहरू 'खोप्रा–डाँडा' भनेर समेत चिन्छन्। 'खोप्रा–पदमार्ग'ले पश्चिम नेपालकाे पोखरा–छेउ घोरेपानी उत्तरतिरकाे सुन्दर पहाडी भूगोलमाथिकाे लय पछ्याउँछ। निःसन्देह– यो नेपालको उत्कृष्ट छोटो पदयात्रा मध्ये एक हो। खोप्रा पदमार्गमा पदयात्रीको आकर्षण बढेसँगै पर्यटकहरूको चहलपहल समेत बढेकाे देखिनै रह्याैँ।
एकदशक अघिसम्म 'खोप्रा ट्रेक'मा थोरै पर्यटक पदयात्रा गर्दर्थे। त्यो पनि 'क्याम्पिङ ट्रेक'को रुपमा। एकान्त, गुराँसे जंगल र डाँडै–डाँडाको गोरेटो हुँदै हिमालको अनुपम दृश्यहरूको आनन्द लिँदै हिँड्ने पदमार्गको रुपमा चर्चित भएकाे छ। यो क्षेत्र स्थानीयहरूले गोठ राख्ने खर्क हो।
विस्तारै विदेशी पर्यटक हिँड्न थालेपछि ठाउँ–ठाउँमा लजहरू खोलिएका छन्। क्याम्पिङदेखि टि–हाउस ट्रेकको रुपमा विकास गरिएकाे छ। सामाजिक अभियान्ता महाविर पुनले दशकअघि पूर्वीम्याग्दीको विभिन्न ठाउँहरू– जस्तैः महरे, बयले, सिस्टिबुङ र खोप्रालगायतमा सामुदायिक लज स्थापना गरेपछि खाना र बस्नको राम्रै सुविधा थपिएकाे रहेछ।
यहिँ ट्रेकमा अक्टोवरको पहिलोहप्ता अष्ट्रेलियन पर्यटक एमि र उनका ९ वर्षीय पुत्रसँगै पक्तिकार पनि पदयात्रामा निस्किएकाे थियाे। दोस्रो चरणको कोरोना महामारीलगतै नेपालभर पर्यटनक्षेत्र खुल्ला भएपछि यो पहिलो यात्रा थियो।
गत मे–महिनामा एमि एभ्रेस्ट बेस क्याम्पकाे पदयात्रामा निस्केकी थिइन्। यो पल्टको यात्रामा पहिलाे–दिन विदेशी पर्यटक एमि र उनका ९ वर्षे पुत्र र गाई–पोर्टरसहित खोप्रा यात्रामा निस्कियौँ। यात्रा योजनाअनुसार हामी काठमाण्डूबाट उडानमार्फत् पोखरा पुगी सीधै जिपमा नयाँ–पुल हुँदै घान्द्रुक लाग्याैँ।
साेही दिन अढाइ घण्टाको पदयात्रा गरेर टाँडापानि बास बस्न पुगियाे। टाँडापानि निकै रमाइलाे रहेछ।
अर्को दिन नास्ता खाएर उत्तरतिर गराँसे जंगलको बाटो पछ्याउँदै ईशारू हुँदै दोबाटेमा बेलुकी बास बस्याैँ। दिनभरको थकानल मार्दै दोबाटेको बसाइँ निकै रमाइलो भाे। पदमार्ग सुनसान थियो, मात्रै २ जना अमेरिकन पदयात्री दोबाटेमा भेट भयाे।
भोलिपल्ट हिँडेरै लेकतिर सोझियौँ। अन्नपूर्ण साउथको फेद, चारैतिर हिमाल र बीचैमा ताल। निकै रमणीय ताल पुग्न लाग्दा हिउँ बेस्सरी पर्याे। पुग्नै लाग्दा एमि बिसञ्चो महसुस गरेर फर्किइन्। उनका ९ वर्षे पुत्र हामीसँगै हिँडेर लेक पुगे। तीन घण्टा हिउँले चुट्यो, तर पनि यात्रा रोकिएन। लगभग ११ घण्टा जाँदा आउँदाको यात्रा निकै अवस्मरणीय भयो। आफ्नो ९ वर्षिय छोरा लुइसले हिँड्दा–हिँड्दा लेककाे यात्रा सफल गरेकोमा एमि निकै हर्षित भइन्।
बेलुकीको रात अबेरैसम्म आँगो ताप्दै यात्राबारे समीक्षा गरियो। अर्को दिन बिहान दोवाटेवाट २० मिनट उकालो चढेर मुल्दे भ्युपोईन्ट भ्रमणमा लाग्याैँ।
मुल्दे भ्युपोईन्ट (३६३७ मी.) साँच्चै मन लोभ्याउने गजबको डाँडा हो। प्राकृतिक सुन्दरताले सुसज्जित आँखा नै रसाउने यो डाँडाबाट उत्तरतिर अन्नपूर्णको हिमश्रृंखलाजस्तै टुकुचे, अन्नूर्ण, अन्नपूर्ण साउथ, हिउँचुली, गंगापूर्ण, माछापुच्छ्रे, मार्दि, अन्नपूर्ण–१, मनास्लु देखिन्छ। साथै उत्तर-पश्चिमतिर धौलागिरी हिमश्रृंखलाको धौलागिरी–१, २, ३, ४ चुरेन आदि सेताम्मै, घोडेपानी, खोप्रालगायत म्याग्दि, पर्वत र कास्की जिल्लाहरूका भू–दृश्यहरू हेरेर नथाकिने प्यानोरोमिक भ्यूको दृश्यवलोकन गर्न सकिन्छ। माथि डाँडामा याक गोठ पनि छ।
तल दोबाटे झरेर नास्ता खाएर तेर्सो बाटो हुँदै बयले पुग्याैँ। यहाँ अभियन्ता महाबीर पुनको सहयोगमा संचालन गरेको सामुदायिक लज रहेछ। करिब डेढ घण्टाको ओरालो लागेपछि चिस्तिबुङ पुगिन्छ। तर हामी बयलेदेखि सीधै तेर्साे घाँसे गोरेटो पन्छ्याउँदै करिब ३ घण्टामा खोप्रा पुगियो।
खोप्रा लेक
म्याग्दीका विभिन्न १० गाँउमा महाबीर पुनको सक्रियता र स्थानीयको सहकार्यमा ६ वटा सामुदायिक लजहरू सञ्चालन गरेका छन्। यहाँ पनि लज छ। खोप्रा लेकबाट धौलागिरी र अन्नपूर्णको हिमश्रृंखला नजिकबाट नियाल्न सकिन्छ। हामी पुग्दा विदेशी पर्यटक थिएनन्। ७ जना स्वदेशी पर्यटक मात्रै थिए।
खयरभारनी
अन्नपूर्ण हिमाल फेदीमा ४ हजार ६ सय ३० मिटर उचाइँमा अवस्थित खयर–लेकमा रहेको खयरभारनी थान छ। यहाँको विशेषता खयर ताल र खयरभारनी मन्दिर हो। विषेशगरी जनैपूर्णिमाको अवसरमा विशेष पूजापाठ हुने गर्छ।
यहाँको पदमार्ग, मन्दिर र पर्यटन विकासमा पाउद्वारबासीको ठूलो योगदान छ। पाउद्वार निवासी क्याप्टेन राजु पुनको नेतृत्वमा चन्दा संकलन र श्रमदानबाट खोप्रादेखि खयरभारनी थानसम्म पैदलमार्ग, चौतारी, बास बस्ने घर–घर निर्माण गरिएको छ। हामी दिनभर लगाएर खयरभारनी पुग्यौँ र खयरभानी मन्दिरको दर्शन गर्याैँ। हिमालको सुन्दरतामा माेहित भयौँ।
खोप्रामा बास बसेर अर्कोदिन हामीहरू ओरालो पदमार्ग पछ्याउँदै पाउद्वारकाे यात्रामा लाग्याैँ। हप्तादिन लामो पदयात्राले थकित भएका हामाीहरूले तातोपानी डुबुल्की मारेर थकाइ मेटायौँ।
एकहप्ते खोप्रा–यात्रा बिट मार्दै मुस्ताङतर्फको जिप यात्रामा अगाडि बढ्यौँ।
– लेखक रसुवा ट्रेक्स एण्ड एक्सपिडिसनका निर्देशक हुन्।