नेपालीलाई मात्र होइन, विश्वलाई नेपाल एकीकरण बारे थाहा छ। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्दा ताका मुख्य पात्र हुन् बिसे नगर्ची। बिसे नगर्चीको पूरा नाम हो, विश्वेश्वर नौवाग।
उनले नगरा बजाएका कारण नगर्ची भनियो। बिसे दलित समुदायभित्रको दमाई जातिका एक सदस्य हुन्। नेपालको एकीकरण र पृथ्वी नारायण शाहको इतिहास बारे कमैलाई थाहा नहोला। उनै पृथ्वी नाराणयका दाहिने हात मानिने नगर्ची अझै गुमनाम छन्। उनको इतिहास छाँयामा परेको छ। उनलाई नत राज्यले सम्झियो नत पुर्खाले।
एकीकरणको बेला पृथ्वी नारायणका लागि मुख्य पात्रका रुपमा थिए, उनी। त्यही पनि उनको योगदान छायाँमा परेको छ। उनको इतिहास खोज्न राज्य अझै मन गरिरहेको छैन। किनभने नगर्ची दमाई हुन्, दलित हुन्।
झापाबाट तिहार लगत्तै नगर्चीको अध्ययनको लागि झापाली पत्रकारको टोली गोरखा पुग्यो। अध्ययनका लागि पर्याप्त समय थिएन। एक दिनको अध्ययनले नगर्चीलाई बुझ्न सक्ने अवस्था थिएन। यदि, नगर्चीलाई अध्ययन नै गर्ने हो भने समयको सीमा राख्नु हुँदैन। पत्रकारलाई अध्ययन र घुमफिर बराबर जस्तै भयो।
गोरखामा पछिल्लो समय बिसे नगर्ची खोजको विषय बनेको पाइयो। खास गरी दलित समुदाय बिसेको खोज र इतिहास संरक्षणमा जुटेको छ। त्यसका लागि गोर्खा फाउण्डेशनको प्रयत्नले थप बल पुगेको छ। बिसे नगर्ची, पृथ्वी नारायण शाहको लागि विशेष पात्र भएको बुझियो।
नगर्चीले राज्य एकीकरणको बेला आर्थिक संकटको समाधानका लागि पृथ्वीनारायण शाहलाई दिएको सल्लाह नै एकीकरण सफलताको एउटा पाटो मानिन्छ।
नगर्चीले राज्य एकीकरणका लागि १ रुपैयाँको ढ्याक दिँदै गोरखाका १२ हजार घरधुरीबाट १/१ रुपैयाँ संकलन गर्न सुझाव दिएको इतिहास छ। यदि, त्यो सुझाव नदिएका हुन्थे भने एकीरकण सफल हुन्थ्यो कि हुँदैन थियो भन्ने प्रश्न बनिरहेको छ। समग्रमा एकीरकण सफल बनाउने नगर्चीको योगदानलाई छाँयामा पारिएको देखिन्छ। पृथ्वी नारायण शाहलाई सम्झिदा बिसे नगर्चीलाई बिर्सनु हुँदैन।
दासढुङ्गामा जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दुर्घटनाबाट मृत्यु भयो। भूमिकाका हिसावले मदन चर्चामा थिए। जीवनाथ मदनसँग तुलना गर्न मिल्दैन। तर, एउटै आन्दोलनमा सरिक थिए। मैले किन जोडेको हो भने आज मदनलाई सम्झिदा आश्रित छुट्दैनन्। तर, पृथ्वी नारायण शाहसँग नगर्चीलाई सम्झना समेत गरिदैन। यो दुखद् पक्ष हो।
एकीकरणका लागि आर्थिक संकलन, काशीमा हतियार किन्न जाँदा श्रीहर्ष मिश्रलाई सँगै लिएर जान सुझाव, कालु पाँडेलाई राज्यको मुल काजी बनाउन सुझाव दिएको शिलालेखमा उल्लेख छ। उनलाई त्यो शिलालेखमा ऐतिहासिक शिखर व्यक्तित्वका रुपमा सम्मान गरिएको छ।
नगर्चीलाई एउटा शिलालेखमा होइन, देशको शिखर पुरुषका रुपमा सम्मान गर्नुपर्छ। उनी यो देशको राष्ट्रिय विभूति हुन्। इतिहासलाई जति नै छाँयामा पारे पनि एकदिन बाहिर आउँछ। यो सबैले बुझेकै कुरा हो।
अहिले बिसे नगर्चीको इतिहास संरक्षणमा गोरखा नगरपालिकाको भूमिका देखियो। नगरपालिकाले उनको सालिक निर्माणमा सहयोग गरेको रहेछ। तर, नगर्चीको सालिक निर्माणमा त्यहाँको समुदाय नै विभाजित छ।
नगर्चीको सालिक राख्ने ठाउँको विषयमा विवाद छ। त्यो विवाद पुरातत्व विभागसम्म पुगेको थियो। अहिले पनि नगर्चीको सन्नतीहरु सन्तुष्ट छैनन्। उनीहरुले सालिक राखिएको ठाउँ उपयुक्त नभएको बताए।
अर्को महत्वपूर्ण कुरा, सालिकमा नगर्चीको हात छैन। जसले त्यो सालिक बनाउन दियो, त्यहाँ ठूलो गल्ती भयो। सन्ततीले हात विनाको सालिकलाई स्वीकार नै गरेका छैनन्। ढ्याक दिने हात नै नराख्नु भनेको नगर्चीको योगदानलाई अस्वीकार गर्नु हो। कतिले भन्न सक्छन्, सालिकमा हात किन चाहियो ? जसले यो हात जरुरी छैन भन्छ, उसले पनि नगर्चीको इतिहासलाई स्वीकार नगरेको भन्न सकिन्छ।
जब, पृथ्वी नारायणलाई ढ्याक दिने हात नै राखिदैन भने त्यो सालिक पूर्ण कसरी हुन्छ ? खासमा नगर्चीको हात नै सालिकको मुख्य प्रतिमा हुनुपर्ने हो। नगर्चीको सन्दर्भमा भए गरेका काममा धेरै दुख व्यक्त गर्नुपर्ने अवस्था त छैन। किनभने सयौं वर्षपछि उनको इतिहास खोज्न स्थानीय तह, समुदाय र सन्ततीहरु लागेका छन्। त्यसको मतलव इतिहासलाई छाँयामा पारेर नगर्चीलाई प्रस्तुत गर्न मिल्दैन।
बिसे नगर्चीले सुझाव मात्र दिएनन्। उनी स्वयम् लडाईमा समेत सहभागी भए। नुवाकोटसँगको लडाइँमा पृथ्वीनारायण शाहसँगै सहभागी भएको, स्याङ्जाको भिडन्तमा समेत सामेल भएको केही आधार सुन्न पाइयो। एक ठाउँमा ‘बिसे नगर्ची’ चोक नै नामाकरण गरिएको शिलालेखमा भेटियो।
राज्य एकीकरणमा महत्वपूर्ण सल्लाह र भिडन्तमा समेत सामेल भएका नगर्ची सबैका लागि साझा ऐतिहासिक शिखर पुरुष हुन्। उनको सम्मानमा राष्ट्रकै ध्यान जान जरुरी छ।
एउटा, दुखद कुरा छ। दलित आन्दोलनबाट नेता भएकाहरु भाषणमा नगर्चीको नाम कहिलेकाँही उच्चारण गर्छन्। हरेक पार्टीमा दलित नेता माथिल्लो तहको जिम्मेवारीमा पुगेका छन्। आफ्नो पार्टी सरकारमा हुँदा, आफू मन्त्री हुँदा कसैले नगर्चीको इतिहास खोज्न र संरक्षण जाँगर देखाएनन्।
देशमा दलित आयोग छ, दलित अधिकारवादी छन्। दलितभित्र जातका नाममा खुलेका कथित क्लवहरु छन्। कोही नगर्ची खोज्दैनन्। दमाई, कामी, सार्की र अन्य दलित जाति आआफ्नो बन्दु खोज्न आतुर छन्। तर, बिसे कसैको त्यो तहको नजरमा परेका छैनन्।
सारा इतिहास खोज्दै गर्दा बिसे नगर्ची अझै ओझेलमा पारिएका छन्। एउटा इतिहासलाई राज्य सत्ताले नै ओझेलमा पारेको छ। अब, बिसे नगर्ची खोजौं। उनको इतिहास खोजौं। उनको योगदान खोजौं।
अध्ययन भ्रमणका पुगेको टोली केही समय गोरखा संग्रहालय पनि पस्यो। त्यहाँ भित्र पसेपछि एकीकरणको समयमा पृथ्वीनारायणसँगै रहेको अनुभूति भयो। तर, त्यहाँ नगर्ची भेटिएनन्। देखिएनन्।