सिंजा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि सुझाव सङ्कलन

असाेज १० गते कर्णाली प्रदेशसभामा जुम्ला (क) र (ख)बाट निर्वाचित सांसदहरु नरेश भण्डारी र पदमबहादुर राेकायाले दर्ता गरेकाे 'सिंजा सभ्यताको संरक्षण तथा विकास विधेयक'माथि सुझाव सङ्कलन गरिएकाे छ।

प्रदेशसभामा पहिलो पटक दर्ता भएको गैरसरकारी विधेयक 'सिंजा सभ्यताको संरक्षण तथा विकास विधेयक' काे अपनत्व सरकारले लिने देखिएपछि सरकारी तवरबाटै विज्ञहरुकाे राय सुझाव लिन लागिएको हाे।

कात्तिक २८ गते कनकासुन्दरी गाउँपालिका ४ लामाथाँडामा सुझाव सङ्कलन सुरु गरिएको हो।

उक्त विधेयकलाई पूर्णता दिनका लागि आइतबार कनकासुन्दरी गाउँपालिकामा सुझाव सङ्कलन कार्यक्रमको आयोजना गरिएको सांसद भण्डारीले बताएका छन्।

सुझाव सङ्कलन कार्यक्रममा प्रदेशसभा संसदीय टोलीसहित सिंजा सभ्यताका जानकार व्यक्ति, आठै स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मीलगायतका सरोकारवालाको सहभागिता रहने भएको छ।

'कनकासुन्दरी-४ लामाथाँडामा आइतबार बिहान साढे १० बजेदेखि सुझाव सङ्कलन कार्यक्रम सुरु भएको छ,' सांसद भण्डारीले भने, 'सिंजा सभ्यताको संरक्षण तथा विकासका लागि विधेयकमा उल्लेख भएका विभिन्न बुँदा माथि छलफल तथा छुटेका विषय वस्तु समेट्ने गरी सुझाव सङ्कलन हुनेछ।'

नेपाली भाषाको उद्गमस्थल तथा सभ्यता विकास गर्ने क्षेत्रकाे थप प्रवर्द्धन र अनुसन्धानका लागि विधेयक कोशे ढुंगा साबित हुने सांसद भण्डारीले थपे।

उनले थपे, 'विधेयकले यहाँकाे संस्कृतिको संरक्षण, ऐतिहासिक विषयमाथिको छलफल, सिंजा सभ्यताको प्रचारप्रसार तथा ऐतिहासिक पर्यटकीय गन्तव्य बनाउन समेत विधेयकले महत्त्व भूमिका खेल्नेछ।'

प्रकाशित मिति: : 2021-11-14 12:48:00

प्रतिकृया दिनुहोस्