एमबीबीएस अध्यापनमा कुनै असर परेको छैनः निमित्त उपकुलपति थापा

file photo
file photo

कार्तिक २३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र उनको सिफारिसमा नियुक्त भएका पदाधिकारीलाई काम गर्न रोक लगाएपछि नयाँ शैक्षिक कार्यक्रमको विषयलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ।

निकट भविष्यमै सुरु हुन लागेको एमबीबीएस, बी एन एस र बी फार्मलगयतका कार्यक्रममा यसको असर पर्ने भएकाले मन्त्री खतिवडाको निर्णयले असर गर्न सक्ने विषयमा टिकाटिपप्णी भइरहेको छ।

तर मिडियामा आएजस्तो प्रतिष्ठानका नयाँ शैक्षिक कार्यक्रममा कुनै असर नपर्ने निमित्त उपकुलपति डा. निरेश थापाले  बताए।

‘प्रतिष्ठानका सबै सेवा, सुविधा र कार्यक्रमहरु नियमित रुपमा सञ्चालन भइरहेका छन्,‘ उनले भने, ‘एमबीबीएस, बी एन एस र बी फार्मलाई लिएर चिन्ता गर्नु राम्रो हो। तर समाचारमा आएजस्तो असर पर्ने कुनै सम्भावना नै छैन।‘

प्रतिष्ठानका सहकुलपतिसमेत रहेका मन्त्री खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवा प्रभावित हुन नदिन अर्काे व्यवस्था नहुन्जेलका लागि आर्थिक तथा प्रशासनिक अधिकारसहित बिहिबार साँझ शिक्षाध्यक्ष डा. थापालाई निमित्त उपकुलपतिमा नियुक्त गरेका थिए।

निमित्त उपकुलपति डा. थापाले प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रमको कक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताए।

‘मंसिरको तेस्रो साताभित्र एमबीबीएस कक्षा संचालन हुनेछ,‘ उनले भने, ‘हामीले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं। एमबीबीएस अध्यापनका लागि विद्यार्थी भर्ना पनि अन्तिम चरणमा  पुगेको छ।‘

प्रतिष्ठानले प्राध्यापकको व्यवस्था, पाठ्यक्रम निर्माण, ल्याब स्थापना, शिक्षक तथा विद्यार्थीका लागि आवासलगायतको व्यवस्था यसअघि नै गरिसकेकाले नयाँ शैक्षिक कार्यक्रममा कुनै पनि अवरोध नहुने उनको भनाइ छ।

‘जुम्लामा एमबीबीएस पढाइका लागि २० विद्यार्थीको कोटा तोकिएको छ,‘ उनले भने, ‘चिकित्सा शिक्षा आयोगको परीक्षाका आधारमा विद्यार्थी भर्ना हुन थालिसकेका छन्।‘

प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि तत्कालिन प्रधानमन्त्री केपी ओलीले फागुन २० मा  तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षतामा उपकुलपति नियुक्ति सिफारिस समितिको गठन गरेका थिए। समितिले चैत १० गते डा. मंगल रावल, डा. पुजन कुमार रोकाया र प्रा. डाक्टर रेशम बहादुर रानाको नाम सिफारिस गरेको थियो।

उपकुलपति नियुक्तिको प्रक्रिया र उम्मेदवारहरुको योग्यतामाथि प्रश्न चिन्ह खडा गर्दै प्रतिष्ठानमा कार्यरत प्रा. डा. रामप्रसाद उप्रेतीले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए।

सोही अनुरुप चैत २० गते सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गर्नेलगायत सहकुलपतिको मिति २०७७ फागुन १७ को निर्णय, प्रतिष्ठानको मिति २०७७ भदौ १४ र मिति २०७७ मंसिर २२ को निर्णयसमेत कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम-२ (ख) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।

तर सर्वोच्च अदालतले सबै प्रक्रिया रोक्नु भनी आदेश गरेको दुई दिनपछि मिति २०७७ चैत २२ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले डा. रावललाई उपकुलपति नियुक्ति गरेपछि निर्णयको वैधतामाथि प्रश्न चिन्ह खडा भएको थियो। जसले पछिल्लो परिस्थिति निम्त्याएको छ।

प्रकाशित मिति: : 2021-11-13 14:50:00

प्रतिकृया दिनुहोस्