चिसो मौसममा किन बढ्छ प्रदूषण ?

अनलाइनखबर

सुदर्शन अर्याल

हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ । यस वर्ष पनि मौसम चिसिँदै जाँदा वायु प्रदूषणको मात्रा बढ्न थालेको छ । बुधबार काठमाडौं उपत्यका बाहिरका पाँच ठाउँमा वायु प्रदूषणले खतराको सूचक नाघ्यो ।

सामान्यतया वायु गुणस्तर मापन (एक्वीआई) १०० वा सोभन्दा कम हुनुपर्ने बताइन्छ । तर बुधबार वातावरण विभाग अन्तर्गतको वायु प्रदूषण मापन केन्द्रले पोखराको वायु गुणस्तर मापन १७६ पुगेको उल्लेख गरेको छ । त्यस्तै, विराटनगर र महेन्द्रनगरको एक्वीआई १५९ पुगेको छ ।

वायु प्रदूषण मापन केन्द्रको तथ्यांक अनुसार बुधबार पोखराको हावामा मिसिने धुलोको कण नाप्ने सूचक पीएम १० को मात्रा ११२.९९  माइक्रोग्राम/क्युबिक मिटर मापन गरिएको थियो । सोही ठाउँको हावामा कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासको मात्रा मापन गर्ने पीएम २.५ को मात्रा १०६.०९ माइक्रोग्राम/क्युबिक मिटर मापन गरिएको थियो ।

बुधबार काठमाडौंको कीर्तिपुर (त्रिवि)मा रहेको मापन केन्द्र, भरतपुर र जनकपुरको वायु प्रदूषण मापन केन्द्र आसपासको हावामा पनि औसतमा हुनुपर्नेभन्दा धेरै प्रदूषण देखिए पनि खतराको तह पार गरिनसकेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: : 2021-11-11 14:20:00

प्रतिकृया दिनुहोस्