नेपालको मेची–महाकाली फैलिएको चुरे शृंखलाको लम्बाइ ८४० किलोमिटर छ। अग्ला महाभारत पर्वतमुनि फुच्चे देखिने चुरेभित्र चितवन र दाङ जस्ता मैदानी उपत्यका पनि छन्।मेची–महाकाली नै जोड्ने पूर्व–पश्चिम राजमार्ग १ हजार २८ किलोमिटर छ। चुरेभन्दा पूर्व–पश्चिम राजमार्ग १८८किलोमिटर लामो किन भयो त भन्दा त्यो तराई–मधेसको समतल फाँटबाहेक चुरे पहाडका घुम्ती पनि उकालीओराली भएर जानुपर्छ।
पूर्वदेखि पश्चिम अथवा पश्चिमदेखि पूर्व विकास पुर्याउन उक्त राजमार्ग २०१९ सालमा राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेका थिए।राजमार्गको नाम पनि महेन्द्र राजमार्ग राखिएको थियो तर राजमार्ग उनको शासनकाल वा उनले प्रतिपादन गरेको पञ्चायत कालमा पनि पूरा भएन। बहुदल आएपछि त्यो बल्ल पूरा भयो। राजमार्ग पूरा भएर झापा काकरभित्ता र कञ्चनपुर गडाचौकी जोडिन ३० वर्ष लाग्यो। अहिले जनजिब्रोमा यो बढी पूर्व–पश्चिम राजमार्ग भनेर चिनिन्छ।
राजमार्ग र विकास दर्शन
पूर्व–पश्चिम राजमार्ग र विकासका सन्दर्भमा जननिर्वाचित पहिलो प्रधानमन्त्री विपी कोइरालाले २०३६ साल बहुदल प्रचारताका त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा आयोजित एउटा सभामा भनेका थिए कि त्यस खर्चिलो राजमार्गमा दिनभरिमा सयवटा गाडी पनि आवत्जावत् हुँदैन भने त्यसको उपादेयता के पो हुन सक्छ?ठूला राजमार्ग नै विकासको सूचक हुन सक्दैन।
पूर्व–पश्चिम राजमार्गको आफ्नो यात्रा अनुभव समेट्दै त्यतिखेर विपीले इ. एफ. शुमाकरको अर्थशास्त्रीय दर्शन ‘स्मल इज ब्युटिफुल’को प्रशंसामा आफ्ना कुरा राख्दै थिए।‘स्मल इज ब्युटिफुल’ प्रकाशित (सन् १९७३) भएको भर्खर पाँच वर्ष भएको थियो र बौद्धिक जगत्मा त्यसले निकै चर्चा कमाइरहेको थियो।
‘स्मल इज ब्युटिफुल’का अनुसार पुँजीवादबाट सिर्जित सुविधाभोगी जीवनशैली र ठूला उद्योगधन्दाले प्राकृतिक स्रोतमाथि अत्यधिक चाप बढाउँछ जुन अन्ततः विध्वंशकारी हुन जान्छ। यसकारण ठूला हैन साना वा मझौलाखाले विकास परियोजना बढी श्रेयकर हुन्छ।
शुमाकरको यही दर्शनमा टेकेर सन् १९६६ मा आइटिडिजी(इन्टरमेडियट टेक्नलजी डेभेलपमेन्ट ग्रुप) नामक विकास संस्था सुरु भएको थियो जुन अहिले प्राक्टिकल एक्सन भनेर चिनिन्छ।प्राक्टिकल एक्सन अहिले ४० देशमा क्रियाशील छ,नेपाललगायत। ऊ बढी साना किसान,नवीकरणीय ऊर्जा र पछिल्लो समय जलवायु परिवर्तन न्यूनीकरणका आयोजनामा केन्द्रित छ। ठूला परियोजनामा ऊ छैन।
ठूला परियोजनाका हिमायती एसियाली विकास बैंकले सन्२०१६ मा पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिसम्बन्धी एउटा आर्थिक तथा वित्तीय विश्लेषण गरेको थियो। उसले छापेको प्रतिवेदनअनुसार उक्त राजमार्गमा प्रतिदिन २ हजार ६०० मालबाहक गाडी चल्दा रहेछन्।