त्यो दिन म सदरमुकाम (तम्घास) पुगेर फर्केको थिएँ। बिहान सबेरै बस चढेर सदरमुकाम पुग्दा मैले छुट्टै संसार देखें। पहिलोचोटी मेरो गाउँको एउटा मात्रै पसलभन्दा ठूला–ठुला सामानले भरिएका पसल, कंक्रिटका चार, पाँच तले घर, चिल्ला गाडी, चिल्ला बाटो देखें मैले, त्यहाँ।
बाफ्रे!
आफैतिर आएर जोतिने हो कि जस्तो गरि सवारीहरु हुँइकिदा त आङ नै सिरिङ हुने। त्यो दिन मैले चाउमिन पनि खाएँ। मःम पनि खाएँ। राम्रा कपडामा सजिएका राम्रा मान्छेहरु पनि पैलोचोटी त्यही सदरमुकाम देखेको थिएँ।
सहरका हर राम्रा चिजहरु त्यो दिन मेरा आँखाले कैद गरि भित्र कतै स्टोर गरेको थियो। हो, त्यही दिनदेखि त हो मैले गाउँ छोडेर सहरको सपना देख्न थालेको। त्यही दिनदेखि त हो मैले मेरो बा’को दन्त्य कथाभन्दा पनि पर पनि अर्काे संसार देख्न थालेको।
000
‘पर्दैैन जान। यही बस्ने, घरकै आटो खाएर पढ्न पाइने क्याम्पस छोडेर किन जान परो,’ मैले सहर जाने ढिपी कस्न थालेपछि निरास आवाजमा बा’ले भनेका थिए। एस.एल.सी सकाएर प्लस टु पढ्न सहर हानिने मेरो सपना एस.एल.सीमै म्याथ विषयमा तारे चिन्ह सहितको मार्कसिटले ब्रेक लगाई दिएको थियो। त्यसपछिका मेरा हरेक मार्कसिटमा तारे चिन्ह छन्।
प्लस टु'सम्म त रोकिएँ। अब म रोकिने वाला थिइनँ। ‘बाले रोके रोकुन्। म त जसरी भए पनि जाने हो’ मनमनै पहिलै योजना बनाई सकेको थिएँ। घरभन्दा अलि मास्तिरका एक जना दाईले काठमाडौंमा काम गर्दै पढ्दै गरेको मैले उनी गाउँ आउजाउ गर्ने बेलामा नै चाल पाईसकेको थिएँ। यो कुरा बा’लाई पनि थाहा नपाएका होइनन्। तर, उनको छोरा अझैं सानै छ भन्ने भ्रम थियो बा’लाई।
‘बुढा, आफूले त कैले गाउँ छोड्न सकेनन्। मलाई समेत यही सडाउने भए’ बा'सँग मनमनै खुब रिसाएको थिएँ, म त्यसबखत।
बा’ले आफूले इन्डियामा पाएका दुखका कथा पनि सुनाए। आफ्नासँग टाढिनुको पीडादेखि आफूले झेलेका अप्ठ्याराले मलाई छोएनन्। म त बस् ‘सहर जान्छु। जान्छु। सहर गएर केही गर्छु। केही बन्छु’ भन्ने नै थियो। मैले अन्तिमसम्म पनि यही अडान कसि रहें। आमालाई पनि खुब फकाएँ।
000
मेरो रहरको रहर अघि बा’को केही जोर चलेन। अन्तिममा, उनी मलाई सहर पठाउन तयार भए। ‘यसको पनि पँखेटा पलाई सक्यो। अब यो मैले जति नै कोसिस गरेर रोक्न खोजे पनि उडी छाड्छ,’ बा’ले बुझि सकेको थिए। खोजखाज पारेर हातमा एक, एक हजारका तीनोटा नोट थमाई दिए। बा’ले मेरो बाटो खालि गरी दिए।
अब म खुला आकाशमा उन्मुक्त उडान भर्न पाउने भएँ।
000
बा’ले मेरो पखेटा खोलिदिने बेला देशमा ठूलै प्रलय आएको थियो। देशका विभिन्न ठाउँ भुकम्पले क्षतविक्षत बनेका थिए। काठमाडौं जाने भनेको काठमाडौैं त झनै ध्वस्त बनेको थियो। हाम्रै घरको गाह्रो (घरकाे भित्ता) पनि अलिकति चर्केको थियो।
फनफनी हल्लाउदासम्म त ठिकै थियो। धरहरै ढलेपछि काठमाडौं छिर्ने आँट आएन। नजिकको सहर बुटवल नै थियो। तालु नै खुइलिने गर्मी सहने आँट आएन। काठमाडौं छिर्न खुट्टा कामे। नौ नाडी गले।
बा’ले कस्तो बेला पखेटा खोल्दिए !
सहर त जाने। तर, कहाँ जाने ?
अर्को तनाव थपियाे।
000
म भन्दा पहिले सहर झरेका केटाहरुलाई फोन घुमाएँ। फोनमा उपलब्ध सब्बैलाई जागिरको चाँजोपाँजो मिलाउन, भनेँ। केटाहरुलाई फोन घुमाउँदा घुमाउँदै दिनको सय रुपैयाँ चानचुन फोनकै रिचार्ज सकिन थाल्यो। यतिञ्जेलसम्म बाले दिएका तीनोटा हजारका नोट खल्तिमै सुक्षित थिए।
आफै त जागिर नपाएर डिप्रेसनमा जान लागेका केटाहरुले मलाई निरास पार्न चाहेनन्। जागिर पाएपछि बोलाउने आश्वासन दिई रहे। प्रत्येक चोटीको फोनमा भुकम्पले सबै ठाउँ बन्द रहेको बताई रहें।
यता बा’ले दिएका तीनोटा हजारका नोटले मलाई कैले हिड्छस्, भनेर जिस्काई रहें...
भुकम्पले घरको गाह्रो मात्र चर्काएन। मेरो मन पनि चर्कायो। रेडियोले फलानो ठाउँमा भुकम्पले यति घर भत्कायो भन्न थालेको पनि महिना दिन बढी भई सकेको थियो। टेलिभिजनले पनि उस्तै विभत्स दृश्य देखाई रहेका थिए।
धन्न!
हाम्रो गाउँमा त्यस्तो नराम्रो घटना केही घटेनन्। ठूलो नोक्सानी केही ब्यहोर्नु परेन। प्लस टु को परीक्षा सकिने बित्तिकै टाप कस्ने सुर कसेको म गाउँमा रोकिएँ।
भुकम्पले मुखैमा आएको परीक्षा पनि एक महिना पर धकेलिएको थियो। महिना दिन परको परीक्षा पनि आयो। गयो। दिन बित्दै गए।
तर, अहँ!
सहरमा जाँगिर पाइने कुनै छाँटकाँट देखिएन। बरु, मलाई सहरमा जागिर खोजिदिन्छु भनेर आश्वासन दिने दाई नै एक महिनाको लागि गाउँ फर्किए!
000
चुक चुकाएर दिन बिताउनु बाहेक म सँग अरु कुनै विकल्प बाँकी रहेन। सहर गएर के–के न गर्छु भन्ने सपना तुहिएरै सकिने भयो। बा’ले दिएका तीनोटा हजारका नोट पनि गोजि भित्रबाटै सकिए। कमसेकम, परीक्षा अघिसम्म त पढ्न जान्थे। साथी–भाई भेट्थे। समय बितेको पत्तै हुँदैनथ्यो। ति सबै सम्बन्ध परीक्षापछि टुटि सकेका थिए। काँचको टुक्रा जस्तै गरी होइन। लाखापाखा नलागेका साथीहरु भेट्न मनै भए त भेटिन्थे। तर, मेरा लागि सम्बन्धहरु गौण थिए। मेरो लागि त मेरो रहर नै ठूलो थियो, त्यस बखत।
000
अन्तिम, एउटा उपाय त थियो। पोखरा जाने। पोखरामा मेरो ठूलो दिदी हुनुहुन्छ। वर्षौदेखि उहाँको परिवार यतै बस्छ। दिदीलाई मनाएर जान पाए, बिहान बेलुका दुई छाक गर्जो त टथ्र्यो नै! ओत लाग्ने छानो पनि खोज्ने टन्टो हुँन्थेन। कामै नपाए पनि अलि दिन चल्थ्यो। बिस्तारै, त्यहाँको वातावरणसँग घुलमिल हुँदै गएपछि त आफैं पनि काम पाउन सकिन्थ्यो। यो मेरो निजी विचार हो।
उसो त एस.एल.सी.पछि महिनादिन पोखरामै बसेको थिएँ। पोखरामा मैले साइकल चलाउन सिकें। मुश्किलले दुई, चार ठाउँ खुट्याउन पनि सक्ने भएको थिएँ, एक महिनाको बसाइँमा। यत्रो लामो बसाइँमा पनि साथी भने एउटा बनेका थिएनन्। यो मामलामा म अझैं पनि कमजोर छु।
000
पोखरा बसाइँ अलि महङ्गाे हुन्छ भनेर पनि यसअघि पोखरा छिर्ने योजना छेउछावै परेन। टाढा कतैबाट हेरि रह्यो।
कामै गरेर कलेज पढ्ने। ज्यान पाल्ने मेरो उद्देश्य पूरा गर्न पोखरामा हम्मेहम्मे हुन्छ भन्ने पक्कापक्कि जस्तै थियो। यसैले पनि मैले रिक्स उठाउन खोजिनँ। सजिलो बाटो हुँदाहुँदै अक्केरामा हिँड्न खोज्ने मूर्ख म किन बन्थे र!
दिदीलाई फोन लगाउन आइतबार पर्खन परेन। फोन लगाए। काम गर्दै पढ्न पनि मिल्ने खालको काम खोज्दिन भनें। दिदीले पनि बुझ्ने आश्वासन दिइन्। यति गरेपछि मन हलुका भो।
‘काठमाडौं त त्यस्तै हो, कमसेकम पोखरामा टेक्ने हाँगो त छ’ मनमनै भनें।
अन्तत सहर गएरै छाड्ने भएँ...
नेपालीमा एउटा भनाई छ नि, ‘खाने मुखलाई जुँगाले छेक्दैन।’
यही नेपाली भनाई जस्तै भै दियो मेरो सहर जाने रहर पनि। पोखरामा काम भेटिएछ !
दिदीका छिमेकी एक जना इलेक्ट्रिसियनले हेल्पर खोजेका रहेछन्। काम पनि त्यस्तो भारी नहुने। केही पनि नपाउनुभन्दा यही काम पनि मेरो लागि ठूलो थियो। ‘काम जानेपछि पछि यही काम गरेरै पनि दुई छाक जोहो हुन्छ’ यही सोचेर भित्रभित्रै फुर्किएँ। काम सकेर बेलुका कम्प्युटर कक्षा जान पनि समय मिल्ने भयो। यति भएपछि अरु के चाहियो ? सहरमा पैताला मात्रै अड्याउने ठाउँ खोजिरहेको थिएँ। यो त मेरो लागि गोल्डेन अपर्चुनिटी नै थियो।
अब मेरो अघिल्तिरका सहर जाने सबै ढोका खुले।
000
सहर हिड्ने अघिल्लो दिन,
घर मास्तिरको दाइलाई भनेर कपाल काटेँ। अरु बेला नुहाउन भनेपछि साह्रै अल्छि मान्ने म त्यसबेला फुर्ति साथ नुहाइ/धुवाइ गरें। शरीरमा कत्ति पनि अल्छिपना थिएन। म यसै हावामा उँडी रहेको थिएँ।
आमाले कोसेली तयार पार्न थाल्नुभयो। भट्मास, सिमी, बेसार, घ्यू... पोकापोकी थुप्रै भए। एउटा झोला त पोकापोकीले नै भरिए। दिदीहरु कैलेकाही आउँदा आमाले यसै गरी पोको पुन्तुरो कस्नुहुन्थ्यो। यो सब हेर्दा यस्तो लागि रहेथ्यो आमाले मलाई माइतीबाट आफ्नो घर पठाउँदै हुनुहुन्छ।
अब गएपछि कहिले पो आइन्छ !
गाउँ छोड्दै छु भन्ने सम्झेर कताकता मन अमिलो भयो।
‘एक राउन्ड गाउँ फन्को लगाएर आउनु पर्याे।’
बा’आमालाई एकैछिन मास्तिर जान्छु भनेर निस्किएँ।
000
बिहे गरेर गएकी चेलिलाई आफ्नो माईतीको कुकुरको पनि माया लाग्छ रे! म पनि बिहे गरेर पराई घर गइको चेलि झै हुँदै थिएँ, गाउँको लागि। मलाई पनि गाउँको एक–एक चिजको माया लागेर आउन थाल्यो।
सहर नजाँदा, सहर गए भने त यो गाउँमा फर्केर पनि आउन मन लाग्दैन होला जस्तो लाग्थ्यो। अहिले घर छोड्ने कुराले मात्रै पनि नमिठो गरी घोचिरहेको थियो।
घर पल्तिरको बुढो चिउरीको बोटदेखि घाँस काट्न जाने खरिया, बडिघाट खोला, थाप्लेभीर सबैले एकैचोटी नजाउ भने झै लाग्यो। मन भारी भएर आयो।
गाउँ छोड्दै छु भन्ने सम्झिदा मात्रै पनि मन आत्तिई रहेको थियो। कहिलेकाही काम विशेषले दुई/चार दिन घर छोडेर हिँडे पनि यति लामो समयसम्म कैले छोडेको थिइनँ। हिजोसम्म सहर जान मात्रै पाए भने के–के न होला भन्ने लागेको थियो। अहिले घर छोेड्ने कुरा सम्झिदा मात्रै पनि खुट्टा काँप्न थाल्यो। घर आउँदा झिसमिस अँध्यारो हुन थालेको थियो।
000
बा’ले खोरमा बास बसि सकेको भाले निकालेर काट्न थाल्नु भएको थियो। आमा भान्सामै हुनुहुन्थ्यो।
‘किन काट्नु पथ्र्यो’ मुखबाट फ्याट्ट फुत्कि हालेछ।
‘अब कैले हो कैले, खाउला भनेर’ कुखुराँ भुत्ल्याउदै बा’बोल्नु भो। म बोल्छु भन्दाभन्दै केही बोल्न सकिनँ..
सरासर भान्सामा छिरेर आमाको नजिकै बसें। आमा केही बोल्नुभएन। एकोहोरो अँगेनामा मात्रै हेरिरहनु भयो। मलाई पनि बोल्ने केही वाक्य नै फुटेन। एकैछिन पछि मैले चाल नपाउने गरी आमाले पछ्यौरीको सप्को आँखातिर लग्नु भयो...
त्यो रात म राम्रोसँग निदाउन पनि सकिनँ। बिहानीपख आँखा लाग्न थालेका थिएँ। घरदेखि गाडी चढ्ने स्टेसनसम्म हिँड्दै जानुपर्ने थियो। उठे। घर छोड्ने कुराले म यसै तर्सिरहेको थिएँ। त्यो दिन मैले बल्ल बुझे रहरको भारी बोक्न पनि कति गाह्रो छ भनेर...
घरदेखि सहर आएँ। हुन त एस.एल.सी दिएपछि पहिलै आईसकेको थिएँ, पोखरा। घर, गाडीको संख्या थपिए पनि माछापुच्छ्रे फेरिएको थिएन। फेवातालमा उस्तै गरी टिलपिल बनेर बसेका थिए पानीका थोपाहरु।
आएको पर्सिपल्टदेखि काम सुरु भयो। सामान्य पेच कस्ने, फ्यूज फेर्ने काम त मैले गाउँमै जानेको थिएँ। पहिलो पल्ट बिजुली आउँदा घरको वेयरिङ गरेको हेरेरै मैले यो काम जानिसकेको थिएँ। यसर्थमा पनि काम सजिलै गर्न सक्छु भन्ने भ्रम म मा थियो।
000
जागिरमा पहिलो दिन,
जिन्दगीको पहिलो जागिर। त्यसमाथि पहिलो दिन।
यसअघि बिहान आठ बजेअघि कहिल्यै निद्रा खुलेको मलाई याद थिएनँ। एस.एल.सी दिनुअघि कोचिङ क्लास (अतिरिक्त कक्षा) जान अहिले सबेरै उठिन्थ्यो। त्यसयता निद्रा खुलिहाले पनि ८ बजेसम्म सुतिरहने बानी परेको थियो।
बेलुकै काममा जानु छ भन्ने मानसिकता बनाएर सुतेको थिएँ। बिहान ५ नबज्दै निद्राले छोड्यो। दिदीको परिवार भने अझैं निद्रामै थियो। बिहान ९ः४५ मा खाना खाएर अमरसिंह चोकमा आउन भनेका थिए, काममा।
मलाई भने कहिले जाउँ जस्तो भईरहेको थियो।
अझैं ४ घण्टा ४५ मिनेट बाँकी!
यति धेरै बेचैन कहिले पनि भएको थिइनँ।
000
९ बजेर ४५ मिनेटमा काममा पुग्नुपर्ने। ९ नबज्दै अमरसिंह चोक पुगें। फोनमा पार्कल्याण्ड हस्पिटल छेवैको इलेक्ट्रिक सप'मा बस्न लगाएका थिए, ति दाइले। जुन पसल अहिले पनि त्यहीबाटो पर्दा हेर्छु।
न कोही चिनेका छन्, न केही चिनेको छ। आधि घण्टा जति त उनले बोलाएको ठाउँमा पुग्नै लाग्यो। बल्लतल्ल ठाउँ पत्ता लगाएँ। उनी अझैं आएका रहेनछन्। उनलाई पर्खनुपर्ने भो। बरु, चिया पिएर कुर्नु बेस लाग्यो।
000
नाम त के थियो पो। अहिले बिर्सिएँ। सबैले ‘तिवारी दाइ’ भन्थे।
त्यसपछि दैनिकी नै बन्यो। त्यही इलेक्ट्रिक सपमा ९ः४५ मा पुग्ने। नआई पुगेको भए, कुर्ने। दुई, चार दिन त रमाइलै भयो। म स्क्रु (पेच) कस्थेँ। अरु काम म जान्दिनथें। त्यो उनी आफैं गर्थे।
काम सधैं एउटै घरमा हुँन्थेन। कहिले कता, कहिले कता। सधैँ नयाँ–नयाँ घरमा पुग्नुपर्ने। उता गाउँमा माटोको घर प्वाल पारे जस्तो सजिलो थिएन। स्क्रु कस्दाकस्दै पछिपछि कंक्रिटको भित्ता पनि फोर्नु पथ्र्यो। भर्याङमा अडिएर भित्ता फोर्दा धुलो सोझै आँखामा पथ्र्यो। हात पनि एकदमै दुख्थ्यो। दिनभर कंक्रिटको भित्ता फोर्दाफोर्दा राति हात करकरी दुख्थ्यो। पछिपछि त थाकेर थिलथिलो भएको ज्यान लिएर क्लास जान पनि अल्छि लाग्न थाल्यो।
000
मैले जस्तो सोचेको थिएँ। उस्तो थिएन सहर।
गाउँमा हुँदा कहिलेकाही खेतको काममा गएको सम्झिएँ। आमाले हात, खुट्टामा तेल लगाएर मिचि दिएको सम्झिएँ। तरक्क आँसु चुहिएर आउथ्यो। गाउँ फर्किन मन लाग्थ्यो। बा’आमालाई पहिले जस्तै गरी सताउन मन लाग्थ्यो। आफै रहर गरेर आएको, म। ‘आमा म घर फर्किन्छु’ भन्न पनि सकिनँ।
000
एक दिन, दुई दिन, तीन दिन। हप्ता दिन गर्दै काम थालेको पनि महिना दिन पुगेछ। महिना सकिएको अन्तिम दिन ‘तिवारी दाइ’ले ४५ सय रुपैयाँ हातमा थमाई दिएँ।
४५ सय रुपैयाँ। याने कि ४ हजार ५ सय रुपैयाँ। मेरो जिन्दगीको पहिलो कमाई। पैसा हातमा लिएपछि पैसाको गन्धले यसै लटठ्याए जस्तो लाग्यो। खुसीले गद्गद् भएँ।
फुरुङ हुँदै कोठामा फर्किएँ।
आफ्नो लागि ५ सय राखेर बाँकी पैसा दिदीलाई राख्न दिएँ। पैसा समाएर दिदी पनि फिस्स हासिन्।
घरमा आमालाई फोन गरेर सुनाए, ‘आज मैले तलब बुझें।’
000
भोलिपल्ट,
काममा जान तयार हुँदै थिएँ। खाना खाँदै थिएँ। तिवारी दाइले फोन गरें। आज चाँडै जानु परेर गरेछन् क्यार !
फोन उठाएँ।
काम विशेषले ४/५ दिन बाहिर जानपर्ने भएछ। घरमै बस भने। ४, ५ दिन काम गर्न नपर्ने भो। राम्रै भयो।
काममा नगई बस्न थालेको पनि ७ दिन भै सकेको थियो। काम विशेषले बाहिर गएका तिवारी दाई। फर्केर फोन गर्छु भन्थे। ७ दिन भै सक्दा पनि फोन गरेनन्। काम नसकिएरै गरेनन् होला जस्तो पनि लाग्यो। त्यो दिन फोन गरिनँ। उनको फोन कुरैरै बसें।
त्यसको भोलिपल्ट पनि तिवारी दाइले फोन गर्लान्। अनि, काममा जाउला भनेर कुरेर बसें। बुढाको फोनै आएन। पर्सिपल्ट पनि फोन आएन।
११औँ दिनको दिन फोनै गरेर सोधें।
बुढाले त अर्कै मान्छेलाई पो हेल्पर राखेछन्। मैले ए, मात्रै भनें। त्यसपछि फोन राखें।
000
जुन बेला म सहर छिरेको थिएँ। सहर मेरो लागि रहर थियो। अहिले त सहर बाध्यता बनि सक्यो। धमिलो भाग्य रेखा पछ्याउँदै हिँड्नु छ, अझै लामो बाटो। चाहेर पनि अब म सहर छोड्न सक्दिनँ।
त्यसपछि कति ठाउँमा जागिर खाएँ। सम्झनाका तरेलिमा धमिला बनेर बसेका छन्। जिन्दगी बाँच्नकै लागि अनेक तिकडम अपनाइयो। अपनाउनुपर्ने छ।
साँच्चै, भन्नुपर्दा सहरमा मन पटक्कै बसेको छैन। बस्दैन।
महिनाभर जागिर गरेर थापेको तलबले दुई दिन पनि नगुज्रिदा यसो गम खाने गर्छु, ‘कस्तो रहर पलाएछ यार!’
केही यादहरु बल्झिय,,,,आफुजस्तै लाग्यो।।।। म जस्तै मेरो कथा जस्तै।।।।