अमेरिकाको टेक्ससमा एउटा साङ्गितिक महोत्सवको उदघाटनका अवसरमा कम्तीमा ८ जना मानिसको मृत्यु भएको छ र कैयौँ घाइते भएका छन्। ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भिड मञ्चको अगाडि जान खोज्दा भागाभाग मच्चिएको अधिकारीहरूले बताएका छ्न।
अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको मृत्यु भयो। करिब ३०० जनालाई चोटपटक लागेर उपचार गरिएको थियो। महोत्सवमा करिब ५० हजार मानिसको सहभागिता रहेकाे बीबीसीले जनाएकाे छ।
घटना शुक्रवार राति स्थानीय समय अनुसार करिब सवा ११ बजे भएको थियो। 'मानिसको भिडले मञ्चको अघिल्लो भागलाई थिच्यो र मानिसहरू आतङ्कित हुन थाले,' ह्युस्टन, अग्नि नियन्त्रक प्रमुख स्यामुयल पेनाकाले पत्रकारहरूलाई बताए।
If families have not heard from a loved one that attended this evenings Astroworld festival, a reunification center has been established at 8686 Kirby (Wyndam Hotel). A hotline has not been established at the moment @FireChiefofHFD @houstonpolice
— Houston Fire Dept (@HoustonFire) November 6, 2021
उनका अनुसार भागाभागमा परी मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका हुन्। ह्युस्टन क्रोनिकलका अनुसार, सोही सहरका र्यापर ट्राभिस स्कट आफ्नो ७५ मिनेट लामो प्रस्तुति अवधिमा धेरै पटक रोकिएका थिए। उनले अगाडि बसेका दर्शकहरूबीच तनाव सिर्जना भएको देखेका थिए।
स्कटले सुरक्षाकर्मीहरूलाई उपस्थित दर्शक ठीक छन् भन्ने सुनिश्चित गर्न र भिडबाट बाहिर निक्लन मद्दत गर्न समेत आग्रह गरेका थिए। आकस्मिक सवारी साधनहरू, बत्तीहरू र आपत्कालीन फ्ल्यास, भिडमा धेरै पटक देखिएको सञ्चार माध्यममा जनाइएको छ।
मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द गरे। तर, घाइतेहरूको सङ्ख्या ठूलो भएका कारण उपलब्ध चिकित्सा सुविधा पर्याप्त नभएको अग्नि नियन्त्रक प्रमुखको दाबी छ।