६० वर्षदेखि असन बजारमा पाला बेचेरै चम्केकी यी सुन्दरी (भिडियाेसहित)

हिन्दूहरूकाे मुख्य चार्डमध्ये तिहार एक हो। जसलाई झिलीमिलीको पर्व पनि भन्ने गरिन्छ। 

तिहार नजिकिँदै गर्दा काठमाडाैँस्थित असन बजारमा किनमेल गर्ने मानिसको चहलपहल पनि बढ्दै गएको छ। जहाँ तिहारकाे बत्ति बाल्न प्रयाेग गरिने पाला किन्ने मानिसको घुइँचो देखिन्छ।

विशेष गरी ‘लक्ष्मी पूजा’का दिन बालिने पालाको छुट्टै महत्व छ। माटाका भाडामा बलेको बत्ती देखेर देवीदेवताहरु खुशी रहने मानिसको विश्वास छ। सोही कारण पाला खरिद गर्नेहरुको भीड पनि बढ्दै गएको हो। जसको फाइदा व्यापारीलाई परेको छ। यस वर्षकाे तिहार आएसँगै व्यापारीहरुलाई सामान बेच्न भ्याइनभ्याइ छन्। जसमध्येकी एक व्यापारी हुन्, ६९ वर्षीया सुन्दरी प्रजापति।

उनी ६० वर्षदेखि असनको भेडासिंहमा पालालगायत माटाका अन्य सामानहरु बेच्दै आइरहेकी छिन्। माटाका सामान बेच्नु उनको पूख्यौलीदेखिको पेशा हो। जसबाट उनीकाे जीवन चलिरहेकाे छ। तर, केही वर्षदेखि आफू पहिले जस्तो सामान बेच्नमा उत्साहित नरहेको उनी बताउँछिन्।

‘संसारलाई कोरोनाले ओगटेदेखि व्यापार घट्दै गयो’ उनले भनिन्। गतवर्ष कोरोनाको प्रभावमा व्यापार नभएको बताउँदै उनी बिएल नेपाली सेवासँग भन्छिन्, ‘यो वर्ष पनि विगतका वर्ष जस्तो व्यापार त भएन तर गत वर्षभन्दा केही सहज भने भएको छ।’

पालाको व्यापार हुनुपर्ने समयमा समेत नभएको उनको गुनासो छ। ‘दिनभरिमा हजार रुपैयाँको व्यापार पनि हुँदैन, व्यापार नगरौँ त तीन पुस्तादेखि चल्दै आएको चलन, गरौँ त हात लाग्यो शून्य’ उनी दुखेसो पोख्छिन्। 

उनले यो तिहारका लागि भक्तपुरबाट १५ बोरा पाला ल्याएकी थिइन्। जसमध्ये धेरै पाला फुटेको उनी सुनाउँछिन्। ‘के गर्नु बोराभित्र नै धेरै पालाहरु फुटेका हुन्छन्, घाटा लागे पनि व्यहोर्ने पर्याे नि’ उनले भनिन्।

उनी कहाँ पाला किन्नका लागि सामान्य मानिसदेखि व्यापारीसमेत आउने गर्छन्। ‘यहाँबाट लगेर अन्तै बेच्नेहरुलाई अलि सस्तो मूल्यमा दिएर पठाउने गरेको छ, के गर्नु सबै जनाले काम गरेर खानै पर्याे’ उनले भनिन्।

‘खुद्रा व्यापारीहरुले यँहा बाट सस्तोमा लिएर जान्छन् र अन्त गएर महङगोमा बेच्छन्। धेरैले यस्तै गर्न थालेका छन्। यहाँ बाट एक दर्जनको तीस रुपैयाँमा लिएर जान्छन् अनि बाहिर पचाँसमा बेच्छन् । यसरी त हामीलाई नै घाटा भएको छ', उनले भनिन्।’

व्यापार हुने समयमा पनि व्यापार नहुँदा उनी चिन्तित देखिन्छन्। ‘विगतका वर्षहरुमा दैनिक वीस, पच्चीस हजारसम्म व्यापार हुन्थ्याे, आजकाल त दश बाह्रा हजार पनि गाह्राे।'

प्रकाशित मिति: : 2021-11-05 15:00:00

प्रतिकृया दिनुहोस्