मिस युनिभर्स नेपाल सुजिता : अमेरिकामा जन्म, नेपालमा पूरा भयो सपना

रातोपाटी

कुवेर गिरी

 विश्वको शक्तिशाली र विकसित राष्ट्र हो अमेरिका । त्यहाँ पुग्न धेरै नेपालीलाई डीभी भर्न हतारो हुन्छ । धेरैले यसलाई आफ्नो सपनाको संसार ठान्छन् । ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेतको सपना भने नेपालबाट पूरा भएको छ । अमेरिकामै जन्मिएर, त्यहीँ पढेबढेकी बस्नेतको सपना ‘मिस युनिभर्स’मा पुग्ने थियो । त्यो सपना पूरा गर्न उनी नेपाल आइन् । ‘मिस युनिसर्भ नेपाल’मा सहभागी भएर विजेता बन्दै सपना पूरा गरिन् ।

नेपालमा बस्नेतको परिचय एनआरएन हो । अमेरिकामै जन्मिएककाले धेरैलाई लाग्न सक्छ उनी नेपाली राम्रा बोल्न सक्दिनन् । तर होइन, उनी राम्रो नेपाली बोल्छिन् । ‘म अमेरिकामा जन्मिए पनि सानैदेखि बेलाबेलामा नेपाल आउँथेँ’, बस्नेतले भनिन्, ‘मेरो मनभित्रै नेपाल छ ।’ पहिलो प्रयासले उनले यो उपाधि हात पारेकी भने होइनन् । गत वर्षको प्रतियोगितामा फस्ट रनर अप बन्न सफल उनले यो वर्ष भने उपाधि हासिल गर्न सफल भइन् ।

बस्नेतको सौन्दर्य प्रतियोगिताप्रतिको लगाव सन् २०११ बाट बढेको हो । त्यो वर्ष ‘मिस नेपाल यूएसए’ विजेता बनेपछि उनले अमेरिकामै ४, ५ वटा प्रतियोगितामा भाग लिइन् । त्यसले उनको हौसला बढ्यो । उनमा एकपटक नेपालमा गएर नेपालको प्रतिनिधित्व गर्ने इच्छा जाग्यो । ‘मिस युनिभर्स नेपालमा’ एनआरएन पनि सहभागी हुन सक्छन् भन्ने थाहा पाएर भाग लिएँ । पटक पटकको प्रयासमा सफलता हात पर्यो,’ उनले थपिन् ।

प्रकाशित मिति: : 2021-11-03 13:23:00

प्रतिकृया दिनुहोस्