प्रधानाध्यापकलाई कालोमोसो दल्नेलाई कारबाहीको माग गर्दै शिक्षकको प्रदर्शन

धनुषाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई चप्पलले कुटेको तथा कालोमोसो दली दुर्व्यवहार गरेको विरोधमा शिक्षकहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन्।

गत शुक्रबार जिल्लाको बैला नगरपालिकाको फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहमाथि विद्यार्थीले कालोमोसो फ्याँकेर चप्पलले कुटेका थियो। सो घटनाको विरोध गर्दै शिक्षकहरूले  सोमबार विद्यालय बन्द गरेर जनकपुरमा विरोध प्रदर्शन गरेका हुन्।

विद्यालयमा शान्ति सुरक्षा कायम गर, शिक्षकलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीलगायतका माग गर्दै शिक्षकहरूले स्थानीय रेल्वे स्टेसनमा विरोध जुलुस निकालेका थिए। 

शिक्षकहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय इकाई कार्यालय धनुषामा ज्ञापनपत्र समेत बुझाएका छन्। घटनामा संलग्नहरूको एक सप्ताह भित्र कारबाही नभए पठनपाठन अवरुद्ध गरी थप आन्दोलन गर्ने उनीहरूले चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति: : 2021-11-01 19:37:00

प्रतिकृया दिनुहोस्