कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै

फाइल तस्वीर
फाइल तस्वीर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार साँझ पाँच बजेतिर राजीनामा दिन लागेका छन्।

माओवादी निकट विश्वसनीय स्राेतका अनुसार अहिले मुख्यमन्त्रीले राजीनामा दिने निश्चित भइसकेको छ।

कांग्रेससँग भएको सत्ता हस्तान्तरणको सम्झौता इमान्दारितापूर्वक कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेकाे बताइएको छ।

गत बैशाख तीन गते मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत लिँदा छ महिना पछि (कार्तिक १५ गते) नेपाली काँग्रेसले मुख्यमन्त्री पाउने सर्तमा विश्वासकाे मत दिएकाे थियाे।

त्यसबेला एमालेका ४ जना सांसदले फ्लोरक्रस गरेका थिए। फ्लोरक्रस गरेका कारण उनीहरुकाे पद गएकाे थियाे। तथापि मुख्यमन्त्री शाहीले उनीहरुमध्ये तीन जनालाई मन्त्री बनाएका थिए। साेमबारदेखि उनीहरुकाे पदावधी सकिँदैछ।

मुख्यमन्त्री शाहीले राजीनामा दिएलगत्तै नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्नेछन्।

अहिले ३५ जना सांसद रहेको प्रदेशसभामा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा समाजवादी का ३ गरी सत्ता गठबन्धन संग २१ जना बहुमत सांसद रहेका छन्।

प्रकाशित मिति: : 2021-11-01 15:33:00

प्रतिकृया दिनुहोस्