फूलसँग दिल बसेका दिलबहादुरको खुशी [भिडियाे]

तिहार नजिकिदै छ। बारीभरि ढकमक्क फूलेका छन् सयपत्री र मखमली। फूल व्यवसायीहरुलाई व्यापार गर्न भ्याईंनभ्याईं छ। उसो त अरु बेला पनि व्यापार नहुने भने होइन।

आज हामी तपाईंलाई दिलबहादुर गुरुङको कथा भन्छौं। जसले डेढ दशकअघिदेखि फूलसँग दिल बसाएका छन्। फूलको स्याहार–सुसारमै आयु सकाएका छन्। हो, शहरका विशेष समारोह र घर सजाउन प्रयोग हुने फूल उनै कहाँबाट जान्छ।

000

बिरौटाचोकबाट सय मिटर तल। दायाँ लागेर नहर छेउ हुँदै ५ सय मिटर अघि पावर हाउसभन्दा केही माथिपट्टी। बाटो छेउ टाँगिएको बोडमा लेखिएको छ– ‘सिजनल मनकामना नर्सरी’। दिलबहादुरको परिवार आफ्नै काममा व्यस्त छ। तयारी भई सकेका फूलका बेर्ना अर्को गमलामा सार्ने, नयाँ बिउँका लागि ठाउँ तयार पार्नेदेखि आएका ग्राहकलाई प्याकिङ गर्न भ्याईंनभ्याईं छ।

एकै छिनपछि दिलबहादुर फर्सदीला भए।

000

दिलबहादुर यहाँका होइनन्। गोरखा आरुघाटबाट सुरु हुन्छ उनको कथा। भोको पेट हो। भर्न त पर्‍यो। केही सिप नलागेपछि बाध्यताको जहाज चढेर मलेशिया उडे दिलबहादुर। जहान परिवारसँग टाढिएर परदेशिएका उनलाई परदेशमा के सम्म गरेनन् ?

अहिले स्मृतिका पानामा धमिला भईसकेका छन्। चर्को घाममा खलखलि पसिना बगाउदै ड्युटी सकाएर जब कोठामा फर्किन्थें। उनलाई फूलबारीमा फुलेका फूलको बाँसनाले तान्थे। दिनभरीको थकान बिर्सेर तिनलाई स्याहार्न लाग्थे उनी। यसरी बसेको हो उनको फूलसँग दिल।

मलेशिया। त्यहाँ फूलका विभिन्न प्रजाति देखे उनले। ‘पहिला सुरुआत मेरो बैनी, ज्वाँइले सुरु गर्नुभयो। मलेशियामा पार्ट टाइममा मैले फूल खेतीमा नै बिताउँथें,’ दिलबहादुरले पुराना दिन सम्झिए।

परदेशमा हुँदा नै लागेको हो उनलाई यही पेशा गरुँ भनेर। परिवारसँग टाढिएर ३ वर्ष मलेशियामै बिताए। देश फर्केपछि उतै केही गर्ने सोच बनाई सकेका थिए। गाउँमै गर्न त्यो सम्भव थिएन। पोखरा गाउँभन्दा कति हो कति ठूलो। स–परिवार पोखरा झरे। अनि, सुरु भयो सिजनल मनकामना नर्सरी।

‘म मात्रै नभई हाम्रो वंश नै यो पेशमा छ। म आएर १० वटा त मेरो आफ्नो वंशको मात्रै पोखरामा छ। चितवनमा मात्रै १५, १६ वटा छ,’ उनले सुनाए, ‘काठमाडौंमा पनि छ।’

काठमाडौं पछिको शहर पोखरा भन्छन्। तर, नेपालकै पहिलो र सुन्दर सहर लाग्यो रे उनलाई। ‘यहाँ नर्सरी खोल्दा राम्रो हुन्छ भन्ने लाग्यो। गरी राखेको छ। स–परिवार एकै ठाउँमा काम गर्न पाइयो,’ दिलबहादुरले विस्मृत भईसकेका स्मृति खोल्दै थिए। अहिले सबै परिवार साथमै छन्। अभाव धेरै होला। खुसी हुने बाटो पनि उत्तिकै छन्।

खुसी–खुसी काम गरे पनि राज्यको नजरमा आफूहरु नपरे जस्तो लाग्छ दिलबहादुरलाई। ‘हामीलाई राज्यले यदि नहेर्ने हो भने धराशय छ। निर्यात परै आयातमै भर पर्नु परेको छ। यो क्षेत्रमा लाग्ने सामान पाइन्न,’ उनले सुनाए, ‘मेन कुरा बिउँ नै पाउँदैन। बिउँको लागि पैसा बुझाएको ६ महिना भईसक्यो। जाडो महिनाको लागि फुल्ने बिउँ आएको छैन। कतिञ्जेल यस्तो हुँदा। उताबाट पठाएन भने त हामी के गर्ने ?’

राज्यले यो पेशालाई प्रोत्साहन दिए भावी पिढीले पनि राम्रो हुने ठान्छन् उनी। भावी पिढीलाई विदेश पठाउँन पर्दैैन। रहरले होइन।

000

दिलबहादुर पुष्प व्यवसायी संघ कास्कीका अध्यक्ष समेत हुन्। भर्खरै उनले जिम्मेवारी सम्हालेका छन्। अहिले फूल व्यवसायीमा आर्कषण बढ्दै आएको उनी सुनाउँछन्। अहिले कास्कीमै ८०, ९० प्रतिशत माग स्थानीय उत्पादनले पुग्छ।

‘दाजुभाईको गला स्थानीय फूलले नै सिंगारिन्छ। सबै घरले बेर्ना लगेको छ। तिहारको बेला चाहिन्छ भन्ने कन्सपेप्ट सबैमा छ,’ उनी भन्छन्,‘लगभग १०, १५ प्रतिशत बाहिरबाट आए पनि अरु स्थानीय उत्पादनले धान्छ। पूजाआजा सबै काममा फूल चाहिन्छ। स्थानीय उत्पादनले पुग्छ।’

स्थानीय उत्पादनले नै शहरका हरेक घर झकिझकाउ हुने उनी बताउँछन्। बाहिरबाट ल्याएका बासी मालाले सिंगारिन पर्दैन अहिले। सबैको घरमा, बारीमा फूल फुलेको छ। यतिखेर लोकल फूलहरु झकिझकाउ भएर फुलि रहेको देखिन्छ।

000

दिलबहादुरलाई अहिले मुख्य समस्या जग्गाको छ। उनको मात्र होइन। यो उनी जस्तै अरु पनि व्यवसायीको समस्या हो। भाडामा जग्गा लिएर सुरु गरेको व्यवसाय आम्दानीको राम्रो फल लिने बेलामा सर्नुपर्छ। ‘कति खेतियोग्य जमिन खेर गईरहेको छ। हामीले राज्यलाई तिछौं। खेर गईरहेका क्षेत्रलाई सहुलियतमा जग्गा दिए राम्रो हुन्थ्यो,’ दुखेसो पोख्दै उनले भने। यसअघि १५ वर्षको अन्तरालमा ३, ४ पटक नर्सरी सारी सके। भन्छन्, ‘यो भन्दा दुखदायि त अरु के होला ?’

सुरुमा ड्याम साइडबाट सुरु गरेको नर्सरी। त्यही ठाउँमा पनि तीन, चार ठाउँ सर्नु पर्‍यो। जग्गा भाडामा लिदा ८ सालको लागि पाउछन्। ‘१, २ वर्ष यताउति गर्दा गर्दै जान्छ। सेटल हुँदाहुँदै सर्नुपर्छ ? कति सर्ने ? आम्दानी लिने बेला सर्नुपर्छ,’ उनको दुखेसो, ‘अलिअलि पलायो पलायो जस्तो हुन्छ। फेरि तपाईंको चुच्चे ढुंगा उहीं टुंगा भने जस्तो झर्दिन्छ।’

दशौं वर्ष कमाएको लगानी गर्न पाए ढुक्क हुने उनी बताउँछन्। ढुक्क भएर काम गर्न पाए भावी पिढीको पनि भविष्य यही सुनिश्चित हुने ठान्छन् उनी।

विदेशको कहर काटेर फर्केका दिलबहादुरलाई अब फेरि विदेश जाने रहर छैन। बरु, यही अझैं केही गर्न पाए हुन्थ्यो झैं लाग्छ। ‘आधि विदेश तलाईँ दिन्छु आएर बस् भने पनि मेरो हृदयले मान्ने वाला छैन। नेपाल जस्तो स्वर्ग कही पनि छैन,’ भन्छन्,‘काम गर्दा कसरी खट्न पर्छ। यहाँ त काम गर्दा पनि आफ्नै लागि गरिन्छ। त्यहाँ त मरे पनि मर तर काम चाहियो। हामीले तिमीहरुलाई यति वर्षको लागि तिरेको हो। किनेर ल्याएको हो। त्यति सम्म भन्ने ठाउँमा दया र माया भन्ने चिज त छँदै छैन।’

दु:खभन्दा ठूलो बाध्यता छ। बाध्यताले पनि जानै पर्‍यो। आफ्ना छोराछोरीलाई योग्य बनाएर यतै केही गर्न प्रेरित गर्छन् उनी। सकभर विदेश पठाउन नपरे हुन्थ्यो झैं लाग्छ रे ! उनलाई।

अहिले ५ जनाको परिवार नर्सरीमै भेटिन्छ जुनसुकै बेला। कुनै बेला राती दिउँसो नभिन बत्ति बालेर पनि काम गर्छ। आम्दानी कटाएर ४, ५ लाखसम्म नाफा कमाउछ।

नर्सरीमा स्पेशल मेरिगोल्ड, गोदावरी, सुपारे फूल, सयपत्री, धुपी हुर्किरहेका छन्। दिलबहादुरको परिवारले दिनरात तिनैको स्याहार गरी रहेको छ।

प्रकाशित मिति: : 2021-11-01 20:10:00

प्रतिकृया दिनुहोस्