बाख्रा चराउँदा चराउँदै फुटबलमा होमिएका किशोरीहरुको कथा : डुबेको गाउँमा उद्धार सकेर, एन्फा ग्राउन्डसम्मको यात्रा

पहिलोपोष्ट

काठमाडौँ

दशैं नसकिँदै कात्तिक पहिलो साता अप्रत्यासित हिसाबले बेमौसमी वर्षा भयो। लगातार झरी पर्दा सुदूरपश्मिम र पूर्वका विभिन्न स्थानमा अन्नबालीमा क्षति त भयो नै मानवीय क्षति पनि त्यत्तिकै। कति ठाउँ डुबानमा परे र कति पहिरोसँगै पुरिए। सिंगो मुलुकले त्यतिखेर जे भोगिरहेको थियो कैलालीको जानकी गाउँपालिका अछुतो रहोस् कसरी?

कात्तिक ३ गते उपमेयर कप महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन काठमाडौं हिँड्न लागेको किशोरीहरुको एउटा टिमको सेड्युल भाँडियो। काठमाडौं निस्किन तय भएकोभन्दा अघिल्लो दिन अर्थात् कात्तिक २ गते राति यति ठूलो वर्षा भयो कि सिंगो गाउँ नै डुबानमा पर्‍यो। गाउँमै मानिसहरुलाई उद्धार गर्नुपर्ने अवस्था आइलाग्दा काठमाडौंको यात्रा बिथोलियो। जानकी गाउँपालिकाको पहिलो खेल थियो ५ गते। त्यसका लागि ३ गते हिँड्न सकेनन्। झरीका कारण ४ गतेमात्रै टोली काठमाडौंका लागि छुट्यो।

पहिले यसरी लामो यात्रा नगरेका अधिकांश किशोरी खेलाडी। काठमाडौं त टाढाको कुरा, धनगढीसम्म पनि नपुगेकाहरु धेरै। गाडीको सकसपूर्ण यात्रा। वर्षातले डुबानमा परेका ठाउँ, कतै पहिरोले घन्टौं लामो अवरुद्ध बाटो। लामो यो यात्रामा गाडीमा वान्ता नगर्ने खेलाडी त सायदै थिए। रातभरि लगाएर भए पनि ५ गते बिहानै काठमाडौं आइपुग्ने लक्ष्य थियो। तर, वर्षाले जताततै यसरी रोक्यो कि ढिला हुने निश्चित भयो। दिउँसो २ बजेदेखिको खेल भ्याउने सम्भावना नै रहेन। अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको समन्वयमा उनीहरुको खेल दुई घन्टा पर अर्थात् ४ बजेका लागि सारियो। खेलाडी बोकेको नाइट बस मध्य दिन पार भइसकेपछि सिधै एन्फा कम्प्लेक्स अगाडि पुगेर रोकियो।

डुबेको गाउँ, रातभरको सकसपूर्ण यात्रा, अनिँदो शरीर र थकानका बिच गाडीबाट ओर्लिएर नुहाइधुवाइसमेत गर्न नपाउँदै गाउँपालिकाको टोली मैदानमा उत्रियो। र, बेहोर्‍यो पहिलो पराजय।

प्रकाशित मिति: : 2021-10-29 11:01:00

प्रतिकृया दिनुहोस्