केरुङ नाकामा कन्टेनरको जाम- दशैंको लागि मगाएका सामान भर्खर आउँदै, तिहारका सामान कैले हो कहिले !

लोकान्तर

परिवर्तन देवकोटा

वसायी नवराज कार्कीले दशैंका लागि भनेर चीनबाट फलफूल मगाएका थिए। फलफूल आउन ढिला होला भनेरै उनले दशैं आउन एक महिनाअघि नै प्रक्रिया शुरू गरे।

तर, त्यो फलफूल भने अहिले बल्ल फाट्टफुट्ट मात्रै आएको छ, त्यो कुहिएको अवस्थामा। त्यो फलफूल उनले दशैंमा बेच्न त पाएनन् नै अझ कुहिएको आउँदा उनी मर्कामा परेका छन्। 

‘दशैंका लागि भनेर चीनबाट माल लोड भएको थियो, हिजोमात्र यहाँ आयो,’ व्यवसायी कार्की भन्छन्, ‘एक कन्टेनर स्याउमा करीब ३ किलोजति मात्रै सद्दे आइपुगेको रहेछ।’

उनका अनुसार एक कन्टेनरमा ३ हजार कार्टुन स्याउ राखिन्छ। सो स्याउ चिनियाँ नाका हुँदै रसुवा र रसुवा हुँदै काठमाडौंसम्म आइपुग्छ।

जुन कन्टेनर नेपाल आउने पालो पर्खिएर बसेको करीब ३५ दिनपछि मात्रै नेपाल आइपुग्यो । त्यसपछि रसुवाबाट काठमाडौंसम्म आइपुग्दा स्याउ बिग्रिसकेको व्यवसायी कार्की सुनाउँछन्।

उनीसहित १७ व्यवसायीहरू मिलेर एक कम्पनी खडा गरेका छन्। सोही कम्पनीमार्फत् चीनबाट मालवस्तु उनीहरूले ढुवानी गर्ने गरेका छन्।

‘एनआरआर इन्टरप्राइजेज’ कम्पनीमार्फत उनीहरूले दशैंका लागि सामान ढुवानी गरेका थिए। तीमध्ये अझै ५ कन्टेनर चिनियाँ नाकामै अलपत्र परेका छन्।

व्यवसायी कार्कीका अनुसार ती कन्टेनरमध्ये ३ कन्टेनरमा डल्ले स्याउ छ, जसको एक कन्टेनर डल्ले स्याउ काठमाडौंसम्म ल्याउन २७ लाख रूपैयाँ लागत पर्छ।

जसअनुसार ३ कन्टेनर डल्ले स्याउको करीब ८१ लाख रूपैयाँ पर्न आउँछ। उनीहरूले बाँकी २ कन्टेनरमा रातो अंगुर र नास्पाती लोड गरेका छन्।

एक कन्टेनर रातो अंगुर काठमाडौंसम्म ल्याउँदा करीब ५० लाख रूपैयाँ लागत लाग्छ। 

प्रकाशित मिति: : 2021-10-27 11:14:00

प्रतिकृया दिनुहोस्