पूजा चन्दले आफ्नी छोरी तनिसीलाई एक्लै हुर्काइन्।
तनिसी पेटमै हुँदा पूजा र उनका पति अलग्गिएका थिए। पछि सम्बन्धविच्छेद पनि भयो। उनले तनिसीलाई गर्भावस्थादेखि नै एकल अभिभावकका रुपमा स्याहारिन्। बाल्यकालदेखि नै सुखदुखको साथी बनिन्। पढाइन्, बढाइन्।
तनिसीका लागि पनि सबथोक आमा नै थिइन्। त्यसैले उनले आमाकै नामबाट नागरिकता लिने निर्णय गरिन्।
पूजाको चाहना पनि छोरीको परिचय आफैसँग जोडियोस् भन्ने थियो। तर, एक्लै हुर्काएकी छोरीलाई नागरिकता दिलाउन जाँदा उनलाई रित्तो हात फर्काइयो।
आमाको नामबाट सन्तानले नागरिकता पाउने कानुन बनेको डेढ दशक नाघिसकेको छ। तर, छोरीलाई आफ्नो नामबाट नागरिकता दिलाउन पूजाले कम्ता संघर्ष गर्नुपरेन।
उनले गृह मन्त्रालय, प्रशासनसँग लड्नुपर्यो, अनेक झमेला झेल्नुपर्यो। मुद्दा लिएर सर्वोच्च अदालत धाउनुपर्यो, लाखौँ रुपैयाँ र महिनौं समय खर्च भयो। र, अन्ततः गृह मन्त्रालय र प्रशासनसँग राज्यसँग लडेपछि मात्रै उनले र उनकी छोरीले आफ्नो अधिकार प्राप्त गरे।
प्राकृतिक रुपमै पाउनुपर्ने अधिकारका लागि यतिका स्रोत, साधन समय खर्चेर लड्नुपर्ने स्थिति आउनु बिडम्बना भएको पूजा बताउँछिन्।
‘यही धर्तीमा नेपाली आमाबाट जन्मेपछि छोरीले स्वतः नागरिकता पाउनुपर्ने हो। यो लड्नुपर्ने कुरै होइन,’ पूजाले नेपालखबरसँग भनिन्, ‘मानव भएर जन्मिएपछिको पहिलो अधिकार नागरिकता हो। जुन सहजै पाउनुपर्ने हो। तर, हामीले निकै संघर्ष गर्नुपर्यो।’