लिपुलेकमा जनगणनाको लागि भारतलाई सोध्नुपर्ने कुरा आयो। सोधेर काम गर्न बहुत् मज्जा हुन्छ। जिम्मेवारीबाट सीधै पन्छिन पाइन्छ,'मैले त सोधेको हो। उहाँले त्यसो भन्नुभयो, अनि मैले पनि त्यही अनुसार गरेँ। म त फगत आज्ञाकारी मात्र यसको दोषको जिम्मेवार म हैन, है!'
टिप्पणी लेख्दा आफैँले सुरु गरेको बिरलै हुन्छ। माथिकाले के चाहने हो, त्यो सोधेर लेख्ने हो- 'के लेखुँ सर ?'
कुनै काम आफैँले गर्यो भने हाकिमले बोलाएर भन्छन्, 'कसलाई सोधेर गर्नुभएको थियो यो काम ? गर्नुभन्दा पहिले मलाई सोध्नुस्, तपाईंलाई स्पष्टीकरण सोधौं ?'
कुरा सुन्दा त ठूलै लाग्छ। वाह! मेरो हाकिममा कत्रो शक्ति छ। उहाँले कतै सोध्नै पर्दैन, आफैँ गर्ने हो सबै काम। अझ त्यसमाथि अरूलाई स्पष्टीकरण सोध्न सक्ने पनि क्षमता छ उहाँमा।
खासमा हाकिमले पनि आफ्नो हाकिमलाई सोधेका हुन्छन्, त्यो मलाई भनेको उहाँले हैन, उहाँभन्दा माथिको हाकिम हो। तर, अचम्म! अन्तिममा टिप्पणी सदर गर्ने बेलामा सबैभन्दा ठूलो हाकिमले फाइल बोकेर सही गराउन उनको टेबुलअगाडि उभिएको आफ्नो पीएलाई सोध्छन्, 'सदर गरे हुन्छ त ? गरिदिऊँ त?'
कहाँ सोध्ने? सोध्ने ठाउँ पत्ता लगाउनु सोध्नु भन्दा गाह्रो रहेछ। हाकिमले ‘मलाई’ सोध्नु भनेको त्यो ‘म’ कति माथि गएर टुङ्गिने हो थाहा छैन। सोध्ने ठाउँ पाउनु भनेको पनि भाग्य कै कुरा हो। गाइड गर्ने कोही अभिभावक त छ भनेर मन ढुक्क हुन्छ।
हामीजस्ता सर्वसाधारणले धेरैजसो आकाश तिर हेरेर सोध्ने हो 'हे भगवान् यो के भइ राखेको छ?' हाम्रो त्यो सोधाइको उत्तर पाउँछौं भन्ने आशा पनि छैन। तैपनि निरन्तर सोधी नै राख्छौ- जब-जब दुख आइपर्छ, उनै भगवानलाई त्यही एउटै कुरा!
अब जनगणनाकै कुरा गर्ने हो भने पनि यो कुरा लैनचौरमा सोध्ने हो कि सीधै दिल्ली दरबारमै सोध्ने हो ? स्वयम् सोध्नपर्छ भन्ने मन्त्रीज्यूलाई पनि थाहा छैन होला। जहाँ पायो त्यहाँ, हावामा, सोधेको कुराको जबाफ आउँदैन।
किन सोध्ने ? कतिपय कुराहरू जवाफ नआओस् भनेर नै सोधिन्छ। यो पनि बहुतै जान्ने रहेछ भनेर देखाउन। त्यस्ता कुरा सोध्ने सबैभन्दा उपयुक्त फोरम चाहिँ फेसबुक नै हो, है!
कोही माथिकाले झुक्किएर त्यस्ता जिज्ञासाको साँच्चै जवाफ दियो भने 'देख्नुभयो सामाजिक सञ्जालको शक्ति!' पनि भनिहाल्न पाइन्छ। जवाफ आएन भने पनि साथीभाइको माझ ‘त्यसले त सीधै प्रधानमन्त्रीलाई फेसबुकमा कडा– कडा सोधेर क्या आच्छु–आच्छु पार्छ’ भनेर इज्जत पनि राम्रैमा गनिन्छ।
के सोध्ने? जे पायो त्यही सोधेर फसिन्छ। घर भाडामा दिँदा जात सोध्नुहुँदैन तर छोरी दिंदा जात सोध्नु पर्छ रे!
सबैभन्दा मज्जा स्वयंले नै गर्न पर्ने काम 'यो काम अझ सम्म भएको छैन?' भनेर सोध्नुमा हुन्छ। प्रधानमन्त्रीले नै 'हैन यो देश कहिले बन्छ, भन्या?' भनेर सोध्न उनलाई कम्ता मज्जा होला!
अर्को कुरा, जे मन लाग्यो त्यो बिनालगाम यो सोध्न हुन्छ कि हुँदैन भन्ने कुराको मनमा द्विधा नराखी सोध्न मन लाग्यो भने 'जनता जान्न चाहन्छन्......' भन्ने जोडेर जति सुकै मूर्ख कुरा सोधे पनि हुन्छ। ठूलो गुरुजस्तो देखिनु छ भने– 'जीवन के हो?', 'हामी यहाँ किन छौँ ?' भन्ने जस्ता सुन्दा गहन तर जे उत्तर दिए पनि हुने कुरा सोध्नु पर्छ।
कुन माध्यमबाट सोध्ने ? सोध्ने माध्यम महत्वपूर्ण हुन्छ। आजकल रेडियो र गोरखापत्रमा सोधेर खासै 'स्ट्रोङ्ग' सोधाइ हुँदैन। बिदामा घुमेर आएको केही समयपछि फेरि डुल्न जान मन लाग्यो भने श्रीमतीजीले सीधै श्रीमानलाई सोधेर 'इफेक्टिभ' हुँदैन। बीचमा एउटा माध्यम खडा गर्न सक्नुपर्छ।
यस्तो बेलामा सबैभन्दा 'इफेक्टिभ' माध्यम भनेको बच्चा हो। 'ड्याडी, अब हामी फेरि कहिले घुम्न जाने ?' भनेर सोध्न लगाएपछि थप्न पाइन्छ “बच्चाले फेरि रहर गरेको छ त जान पर्यो नी”। अनि बल्ल थाह हुन्छ- माध्यम प्रश्न जत्तिकै ठूलो हतियार हो भनेर।
सोध्न आँट दिने सबैभन्दा सशक्त माध्यम रक्सी हो। एक जना कार्यालयका कर्मचारीले भनेको मलाई अझै याद छ– 'यी हाकिम बहुत् फूर्ति गर्छन्। मैले केही गर्न सक्दिनँ भन्ठानेको होला। मलाई अरूजस्तै ठानेर जे पायो त्यही काम अह्राउँछन् बा! अफिसको वार्षिक पिकनिकको बेलामा टन्न धोकेर यिनले खाएको एक–एक कुरा सबैको अगाडि सोधिदिन्छु अनि बल्ल मेरो ताकत थाहा हुन्छ!'
यी कर्मचारीलाई राम्ररी थाहा छ– कुन समयमा, कुन ठाउँमा, कसको अगाडि के सोध्ने र सोध्न के माध्यम प्रयोग गर्ने भन्ने कुरा! सोधाइ पनि व्यापारका वस्तु हुन्छन्- 'लोकसेवामा सोध्न सकिने ५० सम्भावित प्रश्नहरू' को किताबको कति बिक्री हुन्छ!
ज्योतिष कहाँ गएर दु:खका कुरा सोध्नुस्– 'हजुर, मेरो मन चञ्चल हुन्छ, मलाई नजिकैकाले नै कुभलो चिताएका छन्, के गरूँ ?'
कुन मान्छेको मन चञ्चल हुँदैन होला। मन चञ्चल हुनु मान्छेको नैसर्गिक गुण हो। अनि ज्योतिषकोमा आफ्नो भविष्य सोध्न जानेले धेरै टाढाको के सोच्न सक्नु र दोष देख्ने भनेको आफ्नै नजिककाको त हो नी। यो सबै ज्योतिषलाई थाहा हुँदाहुँदै पनि हाम्रो सोधाइ उसको व्यापार बन्छ।
अन्त्यमा, सरकारी कार्यालयमा सबै कुरा कहाँ छ भनेर सोध्न पर्छ रे! 'कोठा नं ७ कता छ हजुर ?', उत्तर पाउन गाह्रो छ तर शौचालय मात्र एउटा कुरा होला जसको लागि 'ट्वाइलेट कहाँ छ ?' भनेर सोध्नै पर्दैन।
'लामै भयो, बोर भयो कि?', मैले सोधिहालेँ!