गाई काटेको आराेपमा माओवादी नेतृसहित १३ जना पक्राउ, मुद्दा नचलाउन नेताहरूकाे दबाब

File Cartoon Sketch
File Cartoon Sketch

रोल्पाको रुन्टीगढी गाउँपालिकामा गाई काटेको आराेपमा नेकपा माओवादी केन्द्रकी जिल्लास्तरीय एक नेतृसहित १३ जना पक्राउ परेका छन्।

गाउँपालिका–१ लापालमा गत मंगलबार साझा गाई काटेको विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक जीवराज थापाको नेतृत्वमा खटिएको टोलीले माओवादी केन्द्रकी नेतृ चन्द्रकली घर्ती (४०) सहित १३ जना पक्राउ गरेकाे हाे।

उनीहरुलाई मासु भाग लगाइरहेकाे समयमा पक्राउ गरेकाे हाेलेरी प्रहरीले जनाएकाे छ। पक्राउ पर्नेहरूमा २० वर्षीय नोखनारायण घर्तीमगर (आकाश), २३ वर्षीय लालबहादुर पुन, २२ वर्षिया ठगि घर्तीमगर, ४० वर्षिया मैना घर्तीमगर, ३७ वर्षिया पवित्रा घर्ती, ४९ वर्षीया लक्षिमा राना, ३६ वर्षीया देउचनी घर्ती, ४० वर्षीया खीमा रानामगर, ३४ वर्षीया गौसरी घर्ती, ३९ वर्षीया सौरी रानामगर, १९ वर्षीया आशाकुमारी घर्ती र ५४ वर्षीय चन्द्रबहादुर राणा रहेका छन्।

उनीहरुमाथि अदालतबाट एक हप्ताको म्याद थप गरी अुनसन्धान भइरहेको प्रहरी निरक्षक थापा बताउँछन्।

गाई काट्ने टाेलीकी नाइके चन्द्रकली घर्ती गत ०७४ सालको स्थानीय निर्वाचनमा रून्टीगढी गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार हुन्। उनी निर्वाचनमा पराजित भएकी थिइन्। निर्वाचनमा पराजित भएपछि घर्तीले गाई काटेर मासुको व्यापार गर्दैआइरहेको स्थानीयकाे दावी छ।

उनीहरूका अनुसार माओवादी केन्द्रका नेताहरुलाई गाईको सुकुटी बनाउदै दाङ, नेपालगन्ज, बुटवलसम्म पुर्‍याउने गरेकाे उनीमाथि गम्भीर आराेप छ। प्रहरी हिरासतमा रहेकी घर्तीलाई छुटाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र प्रदेश संसद दिपेन्द्रकुमार पुन र स्थानीय नेताहरू लागिपरेकाे स्राेतकाे भनाइ छ।

माओवादी नेताहरूले प्रहरी कार्यालयसम्म विषेश दूतका रुपमा प्रदेश सदस्य गोविन्द पुनलाई खटाएका छन्। उनी दैनिकजसाे ईलाका प्रहरी कार्यालय होलेरीमा धाइरहेका छन्।

माओवादी केन्द्रकाे माथिल्लाे तहका नेताहरूले प्रहरीलाई मुद्दा अघि नबढाउन दबाब दिँदैआइरहेका छन्।

प्रकाशित मिति: : 2021-10-24 17:37:00

प्रतिकृया दिनुहोस्