भारत–पाकिस्तानबीच भिडन्त: जब क्रिकेट भलाद्मीको खेल रहँदैन

Photo: PTI
Photo: PTI

भूराजनीति होस् या क्रिकेट अथवा अन्य केही। भारत र पाकिस्तानबीचको सम्बन्ध सधैँ ३६ अङ्कजस्तो विपरीत दिशामा फर्केर रहनेगरेको छ। 

सन् १९४७ को अगस्तमा रातारात भारतमा शासन सत्ता चलाइरहेका अंग्रेज शासकहरुद्वारा सीमा कोरेर छूट्याइएका दुई देशको सम्बन्ध त्यसपछि सधैँ चीसो रहँदैआएको छ। 

यी दुई देशबीचको शत्रुतापूर्ण सम्बन्धले सार्क नै काम गर्न नसक्ने गरी प्रभावित बनेको छ। राजनैतिक सम्बन्ध चिसो भएपछि भारत–पाकिस्तानबीचका अन्य क्षेत्रमा पनि त्यसको नकारात्मक प्रभाव पर्छ नै। त्यसैले भारत–पाकिस्तानबीच हुने क्रिकेट खेललाई पनि दुवै टोलीका समर्थकले 'भिडन्त'कै रुपमा लिनेगरेका छन्। 

टी-ट्वान्टी विश्वकपअन्तर्गत भारत–पाकिस्तानबीच आइतबार ७:४५ बजे संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने क्रिकेट–भिडन्तले संसारकै खेलप्रेमीको ध्यान खिचेको छ। एकअर्कोलाई शत्रु भन्न गौरव मान्ने यी दुई देशका टोलीबीच दुई वर्षपछि 'भिडन्त' हुन लागेको हो। 

७४ वर्षअघि अलग भएका दुई देश भारत–पाकिस्तान दुवैमा  क्रिकेटलाई 'धर्म' को रुपमा हेरिन्छ। हिन्दू धर्मको दबदबा भएको भारत र स्लामिक गणतन्त्र पाकिस्तानबीचको खेल केबल प्रतिस्पर्धा वा प्रतिद्वन्द्वीमा सीमित हुँदैन। 

जब भारत र पाकिस्तानबीच क्रिकेट हुन्छ, त्यसलाई एक खालको युद्धकै रुपमा हेर्ने गरिन्छ। मैदानमा खेलाडी मात्र खेलिरहेका हुँदैनन्, पूरा देश खेलिरहेको हुन्छ।  

दुईमध्ये जुन देशले जित्छ, त्यो देशमा उत्सव छाउँछ। मिठाई बाँडिन्छन्। भोजहरु आयोजना हुन्छन्। अनि जुन देश हार्छ, त्यहाँ देशव्यापी शोक छाउँछ। आक्रोश देखिन्छ। आँशु चुहिन्छ। टेलिभिजनका सेटहरु फुटाइन्छन्।

सामान्यत: क्रिकेटलाई भलाद्मीहरुको खेल भनेर चिनिन्छ तर जब भारत–पाकिस्तानबीच खेल हुन्छ, अनि यो भालाद्मीहरूको खेल रहँदैन। विगतका केही यस्ता नमीठा भोगाइहरु छन् जब भारतले पाकिस्तानसँग हारेको थियो। हारेपछि भारतीय समर्थकद्वारा आफ्नै देशका खेलाडीको घरमा आक्रमण, परिवारमाथि हमलासम्म गरेका थिए।  

भारतसँग हार्दा पाकिस्तानमा पनि यस्तै अप्रिय घटनाहरु भइसकेका छन्। पाकिस्तानी पूर्वखेलाडीहरु भन्ने गर्छन्– भारतमा सिरिज हारेपछि पाकिस्तान फर्किंदा कुनै सूचनाबिना सुटुक्क फर्कनुपर्थ्यो। पहिले वर्षेनीजस्तो द्विपक्षीय श्रृङ्खला खेल्ने यी दुई टोलीको भेट हिजोआज भने कि एसिया कपमा हुन्छ कि त विश्वकपमा। 

भारत सरकार र भारतीय केन्द्रीय क्रिकेट बोर्डले भू–राजनीतिलाई कारण देखाउँदै पाकिस्तानसँग लामो समयदेखि द्विपक्षीय श्रृङ्खला खेल्न मानेको छैन। बिस्तारै थोरै मात्र भेट हुन थालेका यी दुईबीचको खेललाई थप रोचक ढङ्गले हेरिने गरिन्छ।

भारत–पाकिस्तान दुबईको अन्तर्राष्ट्रिय रङ्गशालामा भिड्दै छन्। यता भारतमा भने हवन, यज्ञहरु भरहेका छन् भारतको विजयको कामना गर्दै। उता पाकिस्तानमा भने मान्छेहरु कुरान पाठ गरिरहेका छन् आफ्नो टोलीको विजयको कामना गर्दै। दुवै देशका समर्थकहरु भने आ–आफ्ना देवताबीच समेत भिडन्त गराउने प्रयास गरिरहेजस्तो भान हुन्छ।

दुवै टोलीलाई जिताउन समर्थकहरु पनि आफ्नो ठाउँबाट सकेसम्मको तागतले लागिपरेका छन्। मनकै सन्तोषका लागि भए पनि आफ्नो टोलीलाई जिताऊन कुनै कसर बाँकी राख्न चहाँदैनन्। खेलाडीहरु पनि आफ्नो काँधमा यी सबै दबाब लिएर मैदानमा उत्रिन्छन्। 

टी–ट्वान्टी विश्वकपमा पाकिस्तानसँग नखेल्न भनेर भारतीय टोलीमाथि धेरै दबाब परेको हो। विशेष गरी हिन्दूत्वको एजेण्डा बोक्ने 'राष्ट्रिय स्वयंसेवक संघ' लगायतका सङ्गठनबाट भारतीय टोलीलाई पाकिस्तानसँग नखेल्न दबाब नआएको होइन तर पनि भारतको केन्द्रीय क्रिकेट कण्ट्रोल बोर्डले खेल रद्द गर्न नसकिने निर्णय गर्‍यो।

राजनीति जस्तो भए पनि त्यसले क्रिकेटमा असर गर्न नहुने पूर्वखेलाडीहरु बताउँछन्। पाकिस्तानी पूर्वक्रिकेटर तथा पाकिस्तान क्रिकेट बोर्डका प्रमुख रमिज राजाले भनेका छन्, 'हामी बीच एउटा ‘क्रिकेटिङ बण्ड’ हुनुपर्छ। राजनीति क्रिकेटबाट जति टाढा भयो, क्रिकेटका लागि त्यति नै राम्रो ! पाकिस्तान क्रिकेट बोर्डको धारणा यही हो।'

बढ्दो स्तरभिन्नता, घट्दो प्रतिस्पर्धा

भारत र पाकिस्तानबीचको प्रतिद्वन्द्वितामा कमी आएको छैन तर केही समययता प्रतिस्पर्धाको स्तर चाहिँ घटेको छ। कुनै समय थियो जब भारत र पाकिस्तानबीचको खेल प्रतिस्पर्धापूर्ण हुन्थ्यो, दुवै टोलीको स्तर एउटै थियो। दुवैतिर एक से एक खेलाडी थिए। पाकिस्तानी टीमको बलिंग भनेपछि संसार काप्ने गर्थ्यो। अनि सचेन तेन्डुल्करजस्ता ब्याट्सम्यान भारतसँग थिए।

आज पाकिस्तानसँग खेलाडी त छन् तर स्तर घटेको छ। अनि कुनै बेला ब्याटिङमा मात्र राम्रो मानिने भारतीय टोलीसँग आज गतिला तीब्र गतिका बलर पनि छन्। अचेल भारत र पाकिस्तानबीचको खेल एकतर्फी हुने गर्दछ। भारतको पल्डा अलि भारी देखिन्छ।

आन्तरिक राजनीतिले पाकिस्तानको क्रिकेट पनि गिजोलिएको छ। बेला–बेलामा नातावाद र कृपावादको आरोप पाकिस्तानी खेलाडी छान्नेहरुमाथि लाग्नेगरेको छ। यसको प्रत्यक्ष असर पाकिस्तानको क्रिकेटमा देखा पर्नेगरेको छ।

टी–ट्वान्टी र भारत–पाकिस्तान

भारत र पाकिस्तानले टी-टवान्टी फर्मेटमा जम्मा आठपटक एकअर्काको सामना गरेका छन् जसमध्ये भारतले सातवटामा जीत हात पारेको छ भने एक पटक पाकिस्तानले भारतलाई हराएको छ।

टी-ट्वान्टी विश्वकपमा भने पाकिस्तानले भारतलाई हराउन सकेको छैन। टी-ट्वान्टी विश्वकपमा यी दुई टोली एकआपसमा पाँचपटक भिडेका छन् जसमध्ये एउटा २००७ को फाइनल थियो। जसमा भारतले पाकिस्तानको मुखैबाट जीत खोस्न सफल भएको थियो।

यी दुई टोली बीचको अन्तिम पाँच टी-ट्वान्टी खेलहरु हेर्ने हो भने त्यता पनि भारतकै पल्ला भारी छ। पछिल्ला पाँचमध्ये चार खेल भारतले जितेको छ भने एक पाकिस्तानले जितेको छ।

विश्व वरियतामा दुई टोली

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी-ट्वान्टी विश्व वरियतामा भने दुई टोली खासै पर छैनन्। भारत २६६ रेटिङको साथ दोश्रो स्थानमा छ भने पाकिस्तान २६१ रेटिङको साथ तेश्रोमा छ।

यूएईको दुबईमा भइरहेको खेलको घोषित आयोजक भारत हो तर  पनि यूएई लामो समयसम्म पाकिस्तानले आफ्नो घरको रुपमा प्रयोग गरिरहेको स्थान हो। यसकारण पाकिस्तानी टोलीको पिचसँग राम्रो अनुभव छ। 

भारतका पनि खेलाडीहरू दुबईको पिचसँग राम्ररी परिचित छन्। भर्खरै सकिएको इण्डियन प्रीमियर लिग (आईपीएल) यूएईमै आयोजना भएको थियो तैपनि अन्तर्राष्ट्रिय अनुभवका रूपमा भने पाकिस्तानलाई दुबईको पिचको बढ़ी अनुभव छ।

के भन्छन् कप्तान

खेलअघि पत्रकारहरूसँग कुरा गर्दै भारतसँगको खेल खेल्न के आवश्यक पर्छ भन्ने प्रश्नमा पाकिस्तानी कप्तान बाबर आजमले भने, 'हामी परिस्थितिसँग परिचित छौं। अब यो ‘रिल्याक्स’ हुने र खेलाडीहरुसँग घुलमिल हुने बेला हो। अगाडि जो जति सुकै बलियो टोली होस्, खेलमा राम्रो प्रदर्शन गर्नुपर्‍यो।'

भारतीय कप्तान विराट कोहलीले आफूहरू भर्खरै यहीँ आईपीएल खेलेर आएकोले परिस्थितिसँग राम्ररी परिचित भएको बताए। 

'मलाई विश्वास छ– पिचको गुणस्तर राम्रो नै राखिने छ।  यो एक आईसीसी टुर्नामेण्ट हो। हामीलाई थाहा छ– पिचको स्तर एक निश्चित डिग्रीसम्म कायम राखिन्छ जुन सबै ठाउँमा एकरूप छ', उनले आईपीएल फाइनलमा पिचको असाधारण व्यवहार सम्झिदै  भने, 'हामी आईपीएल खेल्छौं तब यस्ता कुराहरुमा केही हदसम्म समझौता हुन्छ।'

टोलीहरु

पाकिस्तानी टोली:

बाबर आजम (कप्तान), मोहम्मद रिज्वान (विकेटकीपर), फखर जमान, हैदर अली, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, शाहदाब खान (उप कप्तान), इमाद वसीम, हसन अली, शाहीन शाह अफ्रिदी, हरिस रौफ।

भारतिय टोली :

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), के एल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट कीपर) हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन अश्विन, शार्दुल ठाकुर, वरुण चक्रवर्ती, जसप्रित बुमराह , भुवनेश्वर कुमार, मोहम्मद समी।

प्रकाशित मिति: : 2021-10-24 17:28:00

प्रतिकृया दिनुहोस्