असोज ३१ बाट सुरु भएको अविरल वर्षाले जुम्लाको तिला गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्याएको छ। झण्डै एक शताब्दीपछि आएको ठूूलो बाढीले भित्रनै आँटेको बालीनाली बगायो।
बाढीले बाली एक पटकको लागि मात्र होइन सधैंभरि काम नलाग्ने गरी खेत पनि बगाएको छ। बाटोघाटो, पुलपुलेसा, भौतिक संरचनामा नराम्ररी क्षति भएको छ।
अहिले बाढी प्रभावित क्षेत्रको अवस्था निकै काहली लाग्दो छ। नागरिकलाई तत्काल त समस्या छ नै। दिर्घकासम्म पनि असर पर्ने देखिएको छ।
यसैबीचमा तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीसँग बिएल नेपाली सेवाले गरेको कुराकानी प्रस्तुत छ–
यसपालि मौसम परिवर्तन भर्ई वर्षा हुन्छ भनेको सुनेका थियौं। तर यति धेरै नोक्सान हुने गरीवर्षा हुन्छ भन्ने अनुमान थिएन।
तर बाढी आउने गरी वर्षा भयो। पछि मात्र थाहा भयो यो त शताब्दीकै ठुलो बाढी रहेछ। जसले तिला गाउँपालिकालाई नै सबैभन्दा ठूूलो नोक्सान पुर्यायो।
हामी निर्वाचित भएयता तिला गाउँपालिकाले ठूूलठूला विपत्तिहरु बेहोर्नु पर्यो। गाउँपालिकाका दुई वटा सिंगै बस्ती जलेर खरानी भए। त्यहाँका पीडितको घाउमा मलम लगाउँदा लगाउँदै त्यो भन्दा ठुलो आपत आइलागेको छ।
यो पालि कुनै एक गाउँका मात्रै पीडित छैनन्। पूरै गाउँपालिकाभरी पीडित छन्। हरेक गाउँलाई फरकफरक खालका विपद् आइलागेका छन्।
व्यक्तिगत र सामुदायिक सबै खाले क्षति भएको छ। हामी अहिले जति सकिन्छ चाँडो क्षतिको यकिन विवरण संकलन गर्न लागेका छौं।
अहिलेसम्मको तथ्यांकअनुसार तिला गाउँपालिकाका ३२ वटा मार्सी धानका जिउलामा कुनै न कुनै रुपमा क्षति हुन पुगेको छ।
केही जिउलामा खेतमा लगाएको धानमात्र मासिएको छ भने कति ठाउँमा जमिन सहित काम नलाग्ने गरि नोक्सान भएको छ। यी फरक फरक पीडा भएका किसानहरुको घाउमा मलम लगाउने उपायबारे सोचेका छौं।
१७ वटा पानी घट्ट पूर्ण रुपमा क्षति भएका छन्। अहिले त्यहाँ घट्ट लाउन पनि सम्भव छैन। घट्ट रहेको जमिन, घट्ट लाउने सामग्री समेत बगेको छ। खोलाको संरचना फेरिएको छ। अब त्यहीँ ठाउँमा नयाँ संरचना लगभग असम्भव जस्तो छ। यस्तो अवस्थामा कुटानी पिसानीको लागि मिल राख्नुपर्ने टट्कारो आवश्यकता छ।
पाँचवटा विद्युत गृह र बाँध पूर्ण रुपमा क्षती भएको छ। खानेपानीका दुईवटा आयोजना पूर्ण रुपमा ध्वस्त भएका छन्। ३ वटा मिल र एक घर १ पूर्ण रुपमा क्षति भएको छ।
२२ वटा सिंचाइ कुला सम्पूर्ण रुपमा ध्वस्त भएका छन्। ६ वटा स्कुलमा पनि क्षति भएको छ। ५ वटा पुल मासिए। एउटा ९० प्रतिशत निर्माण सम्पन्न भएको झोलुङ्गे पुल सबै बगेर खेर गयो। ताम्ती, कुडारी सडक खण्ड सात ठाउँमा भत्केको छ।
एक गाई मरेको प्रारम्भिक तथ्यांक छ। अब चाँडै नै क्षतिको पूर्ण विवरण आउनेछ। यसले हामीलाई राहत उपलब्ध गराउन सहज हुनेछ।
राहत वितरणको प्रभावकारी संयन्त्र अति नै जरुरी भइसकेको छ। यसमा राजनीतिक रंग नमिसियोस भनेर लागेका छौं।
हरेक वडामा वडाअध्यक्षको संयोजकत्वमा सबै राजनीतिक दल र पत्रकार समेतको सहभागिता गराई राहत वितरणको संयन्त्र निर्माण गर्ने सोच बनाएका छौं।
अहिले गाउँपालिकासँग आफ्नै बजेट निकै कम छ। पीडितलाई राहत उपलब्ध गराउनको लागि तीनै तहका सरकारको प्रभावकारी समन्वय जरुरी हुनेछ। साथै गाउँपालिकामा कार्यरत एनजीओ आइएनजीओ सबैको बजेट राहतमा लगाउन अधिकतम प्रयत्न हुनेछ।