बाग्मती प्रदेशसभाको बैठक कात्तिक १० गते बस्ने 

बाग्मती प्रदेशको प्रदेशसभाको बैठक कात्तिक १० गते बस्ने भएको छ। बिहीबार बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि दलीय धारणा राखिएको छ।

दलीय धारणा राख्ने क्रममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै आफूहरूको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन्।

दलीय धारणापछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मत माग्ने प्रस्तावमाथिको बाँकी प्रक्रिया कात्तिक १० गते बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अघि बढ्ने जानकारी दिए।

प्रदेशसभामा १०९ जना सांसद छन्। सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ। तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन्। यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो।

माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी)सँग १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन्।

प्रकाशित मिति: : 2021-10-21 17:59:00

प्रतिकृया दिनुहोस्