अविरल वर्षाले धानबालीमा क्षति, कृषकहरु चिन्तित

गएराति रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ। अधिकांश किसानहरुको काटेर राखेको धान खेतमै डुबेको छ।

मोरङ उर्लाबारी ९ का किसान तथा सामाजिक अगुवा प्रकाशचन्द्र सापकोटाले प्रश्न गर्दै भने भने, 'अबिरल बर्षाको कारण धान बाली सोतर भएपछि किसानहरु चिन्तामा छौँ। धान कति दिन डुब्ने हो ? कुहिए वा उम्रिए बर्षभरी के खाने ?'

गतवर्ष भन्दा यस वर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए। तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले भने उनीहरुलाई निराश बनाएको छ। कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ।

'दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थियौँ। अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ', मोरङ मिक्लाजुङका कृषक महेन्द्र थेगिमले भने, 'यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, मलको अभाव पनि थिएन।  धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो।'

पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै तरकारीमा समेत क्षति पु-याएको उनले बताए। उर्लाबारी-८ का किसान सुरेश अधिकारीले आफूहरूका मात्र नभई  धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको  बताए। उनले वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेकोसमेत बताए।

लगातारको कात्तिके झरीले जिल्लाको उर्लाबारी,रतुवामाई, मिक्लाजुङ,लेटाङ, बेलवारीलगायत पुर्वका अधिकांश किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ।

कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ। मिक्लाजुङमा धैरैको काटेर गह्रामा सुकाएको धान अविरल वर्षाले उठाउन समस्या भएको स्थानीय पत्रकार सन्तोष गौतमले जानकारी दिए।

जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पु-याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ। केन्द्रका अनुसार यस वर्ष मोरङमा ८३ हजार ३ सय हेक्टर  हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ।

कैलेसम्म बर्षा ?
बङ्गालको खाडी र मध्य भारतमा रहेको उत्तरतिर सर्दै गरेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ।

उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नं १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा समेत भएको छ। पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ। यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन प्रभाव रहने मौसमविद् मञ्जु बसीले बताइन्।

काठमाडौँ उपत्यकामा बदली रहनुका साथै हल्का वर्षा समेत भइरहेको छ। उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ। देशको पश्चिमी भेगमा भारी वर्षा भएको छ।

महाशाखको पछिल्लो विवरणमा दिपायलमा १६६,  डडेलधुरामा १५५, घोराहीमा १३३, भैरहवामा ११२, धनगढीमा ९० र पोखरामा ५६ मिलिमिटर वर्षा भएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहनेछ।

प्रदेश नं १, प्रदेश नं २ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

साथै, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान र प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिको समयमा पनि प्रदेश नं १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आज काठमाडौँ अधिकतम तापक्रम २५ र न्यूनतम न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।

प्रकाशित मिति: : 2021-10-19 15:39:00

प्रतिकृया दिनुहोस्