माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर (भिडियाे)

नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा मंगलबार बिहान बसेको सो पार्टीको स्थायी समिति बैठकले प्रदेश, स्थानीय तह, वडा र टोल कमिटीकाे सम्मेलन कार्यतालिका परिवर्तज गरेको हो।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले बैठकले टोल सम्मेलन अगामी कात्तिक २७ गतेसम्म, वडा सम्मेलन आगामी मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप गरेको सञ्चारकर्मीलाई जानकारी दिए।

यसअघि टोल सम्मेलन ६ कात्तिक, वडा सम्मेलन १३ कात्तिक, पालिका सम्मेलन ४ मङ्सिरमा सम्पन्न गर्ने तालिका थियो। तोकिएको समयभित्र सम्बन्धित निकायका सम्मेलन सम्पन्न गर्न समय नपुग भएपछि माओवादीले कार्यतालिका हेरफेर गरेको सो पार्टीले जनाएको छ।

यस्तै बैठकले पार्टी सदस्यता नवीकरणको म्याद यही कात्तिक २७ सम्म थप गरेको छ। यसअघि पार्टी सदस्यता नवीकरणको म्याद असोज मसान्तसम्म तोकिएको थियो। राष्ट्रिय सम्मेलनको कार्यतालिकामा भने कुनै हेरफेर नभएको प्रवक्ता महराले बताए।

आगामी पुसको दोस्रो साता माओवादीको राष्ट्रिय सम्मेलन तय भएको छ। बैठकले केही कमिटी र आयोगलाई पूर्णता दिएको छ। बैठकले १४९ सदस्यीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्टमञ्च गठन गरेको छ।

यस्तै बैठकले पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टङ्क राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग गठन गरेको प्रवक्ता महराले जानकारी दिए।

माओवादीले यसअघि नै विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरिसकेको छ।

बैठकले भूगोलभन्दा बाहिर पार्टी काममा संलग्न सदस्यलाई समेटेर १७५ सदस्यीय विशेष कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ। स्थायी कमिटीको अर्को बैठक यही कात्तिक ४ गते बिहान ८ बजे बस्ने उनले जानकारी दिए। 



माओवादी स्थायी कमिटी बैठक : आगामी राष्ट्रिय सम्मेलनबारे छलफल सुरु, वडा र स्थानीय तह सम्मेलनको मिति फेरि हेरफेर हुने

प्रकाशित मिति: : 2021-10-19 12:14:00

प्रतिकृया दिनुहोस्