माओवादी स्थायी कमिटी बैठक : आगामी राष्ट्रिय सम्मेलनबारे छलफल सुरु, वडा र स्थानीय तह सम्मेलनको मिति फेरि हेरफेर हुने

नेकपा (माओवादीकेन्द्र) को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल भएको छ।

केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा सोमवार बसेको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनलगायत विषयका छलफल भएको बैठकपछि सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

प्रवक्ता महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निष्कर्षमा नपुगिएको बताए। उठेका कुराहरुलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताए।

‘आज नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ', उनले बैठकपछि सञ्चारकर्मीसँग भने, 'विषय निष्कर्षमा पुगेको छैन, फेरि भोलि (मंगलबार) बिहान ८ बजे स्थायी कमिटी बस्छ र निर्णय हुन्छ। एजेण्डा प्रवेश भएको छ, छलफल सुरु भएको छ।’

स्थायी कमिटी बैठकले महाधिवेशनका कार्यतालिकामा हेरफेर गर्ने निर्णय गर्ने छ । बैठकले स्थानीय तथा प्रदेश सम्मेलनको नयाँ मिति तय गर्ने छ। नयाँ मितिको प्रस्ताव ल्याउने जिम्मा संगठन विभागलाई दिइएको छ। यसअघि माओवादीले कार्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसीर ४ गते गाउँ र नगरपालिकाहरुको सम्मेलन गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रले आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्दैछ।

प्रकाशित मिति: : 2021-10-18 14:49:00

प्रतिकृया दिनुहोस्