म्यान्मार: सैन्य 'कू'को विरोध गर्दा पक्राउ परेका हजाराैँ बर्मेली रिहा

बिएल संवाददाता

रंगुन, म्यान्मार
Photo: MPA
Photo: MPA

म्यान्मारको कारागारमा रहेका पाँच हजारभन्दा बढी राजनीतिक बन्दीहरू सोमबार एकैसाथ रिहा भएका छन्। देशको राज्य प्रशासन परिषदबाट दाेषी ठहरिएका १ हजार ३ सय १६ र अदालतमा मुद्दा खेपिरहेका ४ हजार ३ सय २० कैदीलाई सोमबार कैदमुक्त गरिएकाे हो।

पछिल्लाे वस्तुस्थितिलाई दृष्टिगत गरी उनीहरूलाई कारागार राखिरहन नमिल्ने आदेश परिषद्ले दिएपछि उनीहरू विभिन्न हिरासतबाट रिहा भएका हुन्। 

गत फेब्रुअरीमा म्यान्मारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारको विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेकाहरू रिहा भएका हुन्। सरकारी अधिकारीहरूले जेल परेकामध्ये ५ हजारभन्दा बढी व्यक्तिलाई रिहा गरेको जनाएका छन्। 


म्यान्मार सेनाको कुटाइबाट गोर्खाली युवकको मृत्यु


क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यान्मारमा हाल जारी सङ्कटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार म्यान्मार सैन्य सरकार प्रमुख मिन आङ ह्लाइनकाे उक्त घोषणा अनुसार प्रजातन्त्रवादीहरू घर फर्केका हुन्।

प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता लिएपछि त्यसको विश्वभरिबाट विरोध भएको थियो भने देशभित्र आन्दोलन भएको थियो। आन्दोलन र राजनीतिक सङ्कटका कारण देशमा अराजकता छाएको छ। 

आन्दोलनमा संलग्न व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा १ हजार १ सयभन्दा बढी नागरिक मारिनुको साथै ८ हजारभन्दा बढी गिरफ्तार भएको एक मानव अधिकारवादी समूहले जनाएको छ। 

अझै हजाराैँ प्रदर्शनकारी देशभरका जेलहरूमा रहेका राजनीतिक कैदीहरूको सहायतासम्बन्धी एक संस्थाका अधिकारीहरूले जानकारी दिएका छन्।

– एएनआई/एएफपी

प्रकाशित मिति: : 2021-10-19 06:00:00

प्रतिकृया दिनुहोस्