पीडाको लयमा चुर्लुम्म उनी ध्यानमग्न योगी झैँ देखिन्छिन्। के उनी दुःखको उत्सव मनाइरहेकी छन्?
हुन त साधकहरू पीडा ‘सेलिब्रेसन’ को कुरा गर्छन्। सुन्दा आश्चर्य लाग्छ। यद्यपि दुःखलाई जीवनको विशिष्ट अनुभूतिका रूपमा आत्मसात् गर्नेहरू पनि धेरै छन्।
यतिखेर म जीवन र मृत्युबीचको विस्मयकारी संलापको सन्निकट छु।
के मृत्यु सम्पूर्ण रूपमा अन्त्य हो? हो भने किन ऊ सम्झ्ना भई जोडिइरहन्छ आफन्तसँग?
भौतिक रूपमा नभएर पनि सधैं साथै भइरहन्छन् छाडी जानेहरू। आइरहन्छन् हाम्रा मन र मस्तिष्कमा सम्झ्नाका गतिला धक्का बनी।
आँखै अगाडि छ एक दृश्य। माम (बोजू) हप्तैपिच्छे सम्झ्ना यात्रामा निस्किन्छिन्। चिहानडाँडा उक्लिन्छिन्। उल्टो यात्रामा छिन् उनी।