सिंजा साम्राज्यमा जनताबाट उठाइने छत्तीस करमा दण्ड कुण्ड, माेड अपुताली, मुडाली, पेटाली, चाेरी, जारी, कर, कुत, जिउ, कुडियाे वा कुरियाे, झ्याँपा, गुफ्या, कडियाे, पाखाे, ओइडाे वा ऐडी, उहाराे, मानु, मुठाे, बेठ-बाउलाे, दुवायाे वा दुवाराे, पिठायाे वा पाेटलाे, वन्दनाचार, छपरदाम, रुवाे, सुताे, कटक् वा कुँद, सेवा, धारा, राेपाइराे, पुलाे, माैनी, चाैनी, चेल्लीचवै, साउने, आकाशकाे ढिंडाे, पातलकि निध हुन्।
प्रा.डा. सूर्यमणि अधिकारीले छत्तीस करकाे अर्थसहित आफ्नाे पुस्तक खस साम्राज्यकाे इतिहासमा उल्लेख गरेका छन्। जसमध्ये पिठायाे वा पाेटलाेकाे अर्थ यस्ताे छ, 'यी शब्दको अर्थ दशै, तिहारजस्ता पर्वमा लगाइने टीका, जमरा, फूलपाती भन्ने हुन्छ। तर, यहाँ करकाे सन्दर्भमा आएकाले जनताले चाडपर्वमा पिठायाे वा पाेटलाे बुझाउनु पर्दथ्याे भनी बुझिन्छ। मलयवर्मा र मेदिनीवर्माका अभिलेख (अ.सं.५० र ५२) मा आएका दशै, तिहार, पिठु, खाउनी जस्ता कर पनि यही श्रेणीमा पर्दछन्। (पृष्ठ १९३)
प्रा.डा.अधिकारीले लगाएकाे छत्तीस करकाे अर्थ हेर्ने हाे भने सिंजा साम्राज्यमा टीका पिठाकाे चलन इशाकाे १३ औँ शताब्दीतिर पनि थियाे भन्न सकिन्छ। यसलाई पृथ्वीमल्ल राइकाे कनकपत्र (संवत् १४१३) हेर्दा थप प्रष्ट हुन सकिन्छ।
उनकाे कनकपत्रमा डंड कुंड मोड अपुताली मुडाली पेटालि चोरी जारी कर कुत् जिंउँ कुडियो झयाँपा गुंफ्याँ कडितो पाषो ऊइडो उहारो मानु मुठो बेठ बाउलो दुवाँउँ पिठायो पोटलो आदि करी सबै छत्तीसै कर भनी उल्लेख छ।(हेर्नुस्, बालकृष्ण पाेखरेल, पाँच सय वर्ष, पृष्ठ २२) मलयवर्माकाे शाके १३११ काे ताम्रपत्र र मेदिनीवर्माकाे शाके १३१५ काे ताम्रपत्रका तिथिलाई केलाउँदा हाे भने याे संवत् १४५४ आशपासकाे कुरा हाे।
यसअर्थमा कर्णाली क्षेत्रमा दशैं मनाउने चलन सिंजा साम्राज्यकाे मध्यतिरबाट सुरु भएकाे अनुमान भए पनि दसैँमा लगाउने टीकामा भने हालकाे जस्ताे चामल प्रयाेग हुँदैनथ्याे। त्यसबेला सिंजा राज्यमा धानकाे आविष्कार भइसकेको थिएन। धानकाे आविस्कार सिंजा साम्राज्यकाे उत्तरार्धतिर भएकाे अनुमान छ। त्यसैले निधारमा टिका नलगाएर पिठाे लगाउने चलन रहेकाे संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्य बताउँछन्।
'जाै बाली खेत, पाखा जताततै हुन्थ्याे। अहिले खेतमा छर्ने जाै जिउलाकाे विकास भएपछि भएकाे हाे। पाखामा हुने जाैलाई पावै जाै भनिन्छ। जसकाे खेती अहिले पनि लेकका पाखाहरुमा हुँदै आएकाे छ,' उनले भने, 'वर्षमा दुई पटकसम्म उत्पादन हुने फापर कर्णालीकाे प्रमुख खाद्यान्न बाली हाे। अगेरपाते र पछेरपाते फापर। जाै र फापर दुबैले मानव शरीरलाई प्रशस्त मात्रामा शक्ति प्रदान गर्छन्। आफूलाई हित गर्ने जाेसुकैलाई मानव समुदायले पुजा गर्दै आएकाे इतिहास भेटिन्छ।'
उनका अनुसार पिठायाेकाे अर्थ प्रा.डा. सूर्यमणि अधिकारीले अर्थ्याएजस्तै दसैँ तिहारमा तिरिने कर हाेइन। याे त फापर उत्पादन गरेपछि राज्यालाई तिरिने कर हाे। जाे उत्पादन पश्चात् पिठाे बनाएर तिरिन्थ्याे।
धेरैलाई पिठाे भनेकाे जाै, गहुँ, काेदाे, मकै, फपार सबैकाे त एकै हाे भन्ने लाग्न सक्छ। तर, जुम्लामा हालसम्म पनि अरु सबैकाे पिठाे धुलाे हुन्छ भने फापरकाे मात्र पिठाे हुन्छ। त्यसैले पिठाे निधारमा सिउरिने हुनाले शिउरी पिठा भन्न थालिएको हाे।
आचार्यले थपे,'आज पनि कसैकाे बिहे भयाे, पुत्र लाभ भयाे, सरकारी सेवामा नाम निस्कियाे, विदेशबाट आयाे, एसएलसी पास भयाे भने पिठा लाउन जाने चलन छ। दशैंकाे दिन जमरा सिउरिने र पीठाकाे टीका लगाउने हुनाले टिकाकाे दिनलाई शिउरी पिठा भन्न थालिएकाे हाे।'
पिठायाे भन्ने बित्तिकै दशैं, तिहार भन्न हातर गर्ने स्थिति देखिदैन। यसरी हेर्दा सिंजा साम्राज्यमा दसैँ मनाउने चलनबारे अस्पष्टताहरु छन्।
सिंजा साम्राज्यभन्दा अगाडि दसैँ मान्ने चलन थिएन
अहिले लामाे विदा, आफन्तहरुसँगकाे भेटघाट, टाढा गएका आफन्तहरु घर फर्किने र जमघटका कारणले दसैँ प्रमुख पर्वकाे रुपमा स्थापित छ। तर, सिंजा साम्राज्य स्थापना हुनुभन्दा पहिलाका आदिबासीहरु मुष्टाे पुजक हुन।
मष्टाे मान्नेहरुका लागि सबैभन्दा ठूलो पर्व पुनि (पूर्णिमा) हाे। वर्षभरिका १२ वटा पुनि मध्ये वैशाख, साउन, कात्तिक र माघ पुनि विशेष छन्। मष्टाे बाहेक महादेउता, वन देउताका लागि काेजगरात पूर्णिमा र भदाै पुर्णिमामा पनि पूजा लाग्छ।
मष्टाे पूजकका लागि पुनि आज पनि महत्त्वपूर्ण छ। भाेट मधेस गएका, राेजगारीका लागि इन्डिया (भारत) गएकाहरु सबैतिर बाट पुनिमा घर पुग्ने भनि भाकल गर्छन् र पुग्छन् पनि। यदि पुग्न नसके जरिवाना तिर्नुपर्छ भने बाहिर हुँदा चिताएकाे पुग्याे भने खुसीले जस दिने चलन छ।
पुनिकाे बेला भविष्य हेराउने, शुभ कार्यकाे साइत खाेज्ने, बालीनाली भित्र्याउने लगायतका महत्त्वपूर्ण निर्णय धामीबाट गराइन्छ भने पुनिमा रमाइलाे गर्ने, देउडा खेल लगाउने गरिन्छ।
वर्षभरिका १२ वटै पुनिमा चाेखाे निउताे गर्ने, बाह्रभाई मष्टाे र नाै दुर्गन भवानीलाई सम्झिने गरिएकाे 'लामा-विष्णु सांस्कृतिक समन्वयका प्रतीक' पुस्तकका लेखक बासु उपाध्याय बताउँछन्। मष्टाे परम्परामा पुनि नै सबैभन्दा ठूलाे पर्व हुनाले दसैँ मनाउने चलन देखिदैन।
खस साम्राज्यकाे सुरुवाती चरण दसैँ मनाइदैनथ्याे
११औँ शताब्दीको मध्यतिर नागराजले सिंजामा साम्राज्य खडा गर्दाताकाका खसहरु बाैद्ध धर्मावलम्बी हुन्। थुप्रै अध्येताका अनुसार उनी तिब्बततिरबाट आएका थिए। खसहरु बाैद्ध धर्मावलम्बी भएकाे प्रमाण हालसम्म पनि अस्तित्वमा रहेका अधिकांश देवलहरुकाे निर्माण शैली हाे। जाे बाैद्ध धर्मकाे कलासँग मेल खान्छ।
'जस्तै जुम्ला मिचा र त्यस आसपास तथा सिंजामा रहेका पञ्च देवाल, दैलेखकाे भुर्तीमा रहेका पञ्च देवल, सुर्खेत काँख्रे बिहार आदिकाे निर्माण शैली त्यस्ताे छ,' आचार्यले भने,'त्यस्तै कयाैं शिला लेखहरुमा 'ओम मणि पद्मे हुँ,' 'ओम नमाे बुद्धाय' लेखिएकाे पाइन्छ। बाैद्धमार्गीहरु दसैँ मान्दैनन्। त्यसैले खस साम्राज्यमा सुरुवाती चरणमा दसैँ मान्ने चलन थिएन।'
पछि सिंजा साम्राज्यकाे सीमा विस्तार भएपछि खसहरु विभिन्न धर्मका संस्कृतिहरुसँग पनि नजिक भए। त्यसैक्रममा खसहरुले मष्टाे संस्कृतिलाई अंगालेकाे देखिन्छ। जसकाे प्रमाण स्वरुप यस क्षेत्रका ठूला तिर्थस्थलहरु छायाँनाथ, मुक्तिनाथ आदिमा पनि (पूर्णिमा) काे दिनसम्म मष्टाे पुजकहरु पुजा गर्छन् भने पडेवाकाे दिनबाट बुद्धमार्गीहरु पूजा गर्छन्। यसरी खस साम्राज्यले सांस्कृतिक समन्वय गरेर अघि बढ्काे देखिन्छ।
भारतीय उपमहादीप अन्तर्गत हालकाे भारतमा हिन्दू धर्मकाे प्रभाव पहिलेदेखि नै बढी थियाे। नेपाल उपत्यका (हालकाे काठमाडौं) मा पनि हिन्दू धर्मकाे प्रभाव बढ्दै थियाे। आचार्यका अनुसार राजा क्राचल्लदेवले कुमाउ विजय गरेर सिंजा साम्राज्यमा मिलाएपछि हिन्दू धर्मसँग नजिक भए। त्यसपछि हिन्दुहरुले पूजा गर्ने मन्दिरहरु पनि बनाउन थाले। जस्तै अछामकाे विनायक मन्दिर, गडवालकाे गुप्तेश्वरमा रहेकाे कृष्णकाे मन्दिर, शिवकाे मन्दिर आदी। जुन खस साम्राज्यकालमा बनेका हुन्। त्यहाँ बनाएकाे एउटा ठूलाे त्रिशूलमा खस सम्राट्काे नाम उल्लेख हुनु अर्काे प्रमाण हाे।
खसकालमै मष्टाे, बुद्ध र हिन्दू धर्म सबैकाे समन्वय भएकाे देख्न सकिन्छ। जसकाे उदाहरण जुम्लाकाे ओदी र लेकपुरकाे रहेका लामा विष्णुका थानलाई लिन सकिन्छ। लामा बुद्ध धर्मका देउता हुन भने विष्णु हिन्दू धर्मका देउता हुन्। थान मष्टाे पुजककाे पूजा स्थल हाे। हिन्दू र बाैद्ध दुबै धर्मावलम्बीका एकै देउता भनेका लामा-विष्णु हुन्। कति थानमा पतुर्ने लामा र विष्णुका फरक–फरक धामी हुन्छन् भने कति थानमा पतुर्ने धामी एउटै हुन्छ। जसले मष्टाे पुजक, बाैद्ध र हिन्दू सबै धर्मावलम्बीका मनाेकांक्षा पूरा गर्छ भन्ने जनविश्वास छ।
खसहरुले हिन्दू धर्म अंगालेपछि दशैं मान्ने चलनले व्यापकता पाएकाे भए पनि सबै धर्म संस्कृतिसँग समन्वय भएकाे हुनाले अनिवार्य नगरिएकाे बुझ्न सकिन्छ।
गाेर्खालीले जितेपछि दसैँ अनिवार्य भयाे
दसैँ अनिवार्य रुपमा मनाउने चलन भने जुम्ला राज्यलाई गाेर्खालीहरुले जितेपछि मात्रै व्यापक भएकाे बुढापाकाहरु बताउँछन्। जुम्ला राज्यका अन्तिम राजा साेभान शाहीमाथि बारम्बार आक्रमण हुँदा पनि हार मानेका थिएनन्। उनले बेला–बेला बिद्रोहकाे प्रयास गरिरहे।
'त्यस बेला सोभान शाही निकै बलिया थिए र उनले आफ्नो अलग प्रभुत्व कायम गरेका थिए। जनकथानुसार त्यस बेला जुम्ला पस्न खोज्ने गोर्खाली सैन्यले जाजरकोटबाट जुम्ला पस्न खोज्दा ठूलो कष्ट र हानि व्याहाेर्नु परेकाे थियाे। अनि जुम्ला छिनासिममा जुम्ली राजालाई पक्राउ गरेपछि पनि गोर्खाली सैन्यको अगाडि सोभान शाही खडा थिए। सोभान शाहीले त्यस बेला बाइस हजार सैन्य एकत्रित गरी दुई वर्षसम्म गोर्खाली सैन्यसँग मुकाबिला गरेका थिए। तर, पछि उनले अनेक जतन गर्दा पनि गोर्खाली सैन्यको अगाडि उनको केही जोड चलेन।' (हेर्नुस्, कर्णाली लाेक संस्कृति -१ इतिहास, सत्यमोहन जाेशी, पृष्ठ ९६-९७)
गोर्खालीहरुले १८४६ असोज २३ मा जुम्ला राज्यको केन्द्र छिनासीम जिते पनि जुम्ला, मुगु र हुम्लाका गाउँतिर गोर्खालीविरुद्ध विद्रोह भइरहेका थिए। अन्तिममा गाेर्खालीहरुले हुम्लामा समेत आक्रमण गरेपछि जुम्ली राजा साेभान साही तिब्बत भागेका हुन्। उनी भागिसकेपछि पनि गाेर्खालीहरुले जुम्लीहरुकाे मारकाट शृङ्खला नै चलाए।
तत्कालीन सत्ताका नायव रणबहादुर शाहले सोही वर्षकै माघ ८ गते जुम्लाका सुबांगी भक्ति थापालाई पत्र पठाए। त्यस पत्रमा '...ठाना हाल (किल्ला बनाउ), झारजंगल पस्याकालाई कुर हान, रसद षोल, बाह्र वर्षदेखि उभोकालाई साफ गर, जहान बच्चालाई बस्तीमा बसाव...' भनी निर्मम निर्देशन दिएका छन्।
त्यसपछि चलेकाे मारकाट र हत्याहिंसाकाे शृङ्खलादेखि डराएका जनताका प्रतिनिधिले गाेर्खालीहरुकाे जित भयाे भनी सम्झाैता गरेका हुन। त्यसबेला जनताका प्रतिनिधिले गाेर्खालीकाे जीत भएकाे र जुम्लीकाे हार भएकाे भनी घाेषणा गरेकाे कुरा गीतमा लिपिवद्ध छन्;
तल्लीबाटाे तल्छेडेकाे, माझ बाटाे हुम्लीकाे।
ताउलाखार लडाइँ भैगाे, नास पड्याे जुम्लीकाे।।
भातु खायाे साेभान साहीले, ताउली हाल्या कुम्ला।
जितिहाल्याै गाेरखाय, जनी मार जुम्ला।।
यी गीतले 'जनताबाट कर उठाएर राजा शाेभान शाहीले खाए। खाने, पकाउने सामान बोकेर उनी भागिहाले। गोर्खालीहरु जित तिम्रै भयो। तर, यसरी जुम्ली जनता नमार' भनेका छन्। यसपछि गार्खालीहरुसँग सम्झाैता भयाे। सम्झाैतापछि हालकाे चन्दननाथकाे मन्दिरमा भएका चार लिंगामा हरेक वर्ष ५२ हातकाे लिंगाेसँगै २६ हातकाे जय स्तम्भ ठड्याउने सहमति भयाे। लिंगा ठड्याउने दिनबाट नै दसैँ ओैपचारिक रुपमा सुरु हुने हुनाले अनिवार्य भयाे।
अनर्टिकल ऐतिहसिक छ । अझै बाहिर अाउनु पर्छ ।