सिंजा सभ्यता र दशैं

Breaknlinks
Breaknlinks

प्राकृतिक आध्यात्मिक पक्ष

सामान्यतः दशैं असोज महिनामा पर्दछ। खगोलशास्त्र अनुसार आकाशमा आश्विनी तारा उदाएपछि असोज महिनाको प्रारम्भ हुन्छ। महाभारतमा नहकुल र सहदेव आश्विनीकुमारका आध्यात्मिक छोराहरू हुन्, भनिन्छ।

बौद्धमार्गीहरूले आश्वनीलाई वीर विजेताका रूपमा लिन्छन्। मानिस तथा प्रकृतिमा चन्द्रमाको प्रभाव रहन्छ। प्रायः पूर्णचन्द्र र सर्वपूर्णचन्द्रका बेला प्रकृतिका सबै जैविक तत्वहरू सक्रिय रहन्छन्। समुद्रमा ज्वारभाटाहरू निस्किन्छन्। जल र चन्द्रमाको शक्तिको प्रभाव जीव जनावरमा पनि पर्दछ र सकारात्मक उर्जा पृथ्वीमा छरिन्छ। तर कृष्ण पक्षको औंसी त्यसमा पनि सोमबारको औसीको रातीमा पृथ्वीमा नकारात्मक उर्जाको प्रभाव बढ्दछ। जसले वायूको प्रभावबाट रोगव्याधि लाग्ने सम्म हुन्छ। 

असार देखि भाद्र महिनाको अन्त्यसम्म आकास बादलले ढाक्दछ। बर्षा, बाढी, पहिरो आदि प्राकृतिका विपतहरूले ठूलो धनजनको क्षति हुन्छ। असोजसँगै वर्षा हट्दछ र मानिसहरू राहतको स्वास फेर्छन्। आकाश खुला हुन्छ। प्रकृति भयानक रूपबाट निर्मल र स्वच्छ रूपमा आइपुग्दा असोजमा मानिसहरूमा नयाँ उमङ्ग, उत्साह र जाँगर पैदा हुन्छ। प्रकृति परिपक्कता तिर जाने भएकाले बालीहरू र फलफूलहरू पाक्छन्। यसले मानिसमा प्रफुल्लता  झन् बढाउँछ। राशी अनुुसार असोज महिनामा सूर्य कन्याराशीमा प्रवेश गर्दछ। सूर्यको प्रभाव कन्यामा पर्ने भएकाले कन्या शक्तिशाली बन्छिन्। त्यसैले शक्तिको श्रोत महिलाको प्रतिकको रूपमा देवीको स्थापना गरी शक्तिपिठका रूपमा पूजा अर्चना गरिन्छ। महिलालाई अपराजिताका रूपमा अर्चना गरिन्छ।

ऐतिहासिक पक्ष

सिन्धु सभ्यतामा चन्द्र तिथि अनुसार पन्ध्र दिनसम्म प्रितिको श्राद्ध गरिसकेपछि दशैंकाे राैनक सुरू हुन्छ। चिनियाँ सभ्यतामा अगस्त महिनालाई भूतको महिना भनिन्छ। यो महिनाभरी बुढाबुढी र केटाकेटीहरूलाई राती घरबाहिर जान दिँइदैन। खराब आत्माले भेटाउने विश्वास गरिन्छ। उनीहरूको पात्रो अनुुसार सातौं महिनाको पन्ध्रौं दिनको रातीलाई भूतको रात गोस्ट नाइट भनिन्छ। त्यो रात चिनियाँहरूले खानाका विभिन्न परिकारहरू बनाएर र नयाँकपडाहरू किनेर आफ्ना प्रीतिहरूलाई चढाउछन्। त्यसपछिको एकमहिना अन्तरालमा पर्ने तीनदिनको सुनौलो विदाको प्रतिक्षा गर्दछन्। जुन हाम्रो दशैं विदाको नजिक पर्दछ।

भारतका विभिन्न प्रान्तमा दशैंलाई फरक–फरक मिथकसँग जोडेर मनाइन्छ। कतै देवी भागवतको कथाका आधारमा दुर्गा र महिषासुरको लडाइँ–महाकाली र देवीको जीतको उत्सवका रूपमा, कतै राम र रामणको लडाई पछि रामको विजयका रूपमा, दशहरा मनाउने चलन छ। नेपालमा दशैं मनाउने चलनको कुनै सांस्कृतिक दस्तावेज त छैन।

डा. सूर्यमणि अधिकारीले खसराज्यको इतिहासमा १८४६ को केही महिनाअघिदेखि शिवनारायण खत्री नेतृत्वको गोर्खाली फाैज डोल्पा जिल्लाको त्रिपुरासुन्दरी आसपास कुरेर बसेको थियो। असोज महिनामा जुम्लामा घाँस र धान काट्ने समय भएकाले तत्कालीन जुम्लीराजाका झराली सैनिकहरूलाई घरमा विदा दिएको र दशैंको मौका छोपी गोर्खाली फौजले  लडाइँ नै नगरी जुम्ला राज्य कब्जा गरेको कुरा उल्लेख गरेका छन्। यसबाट दशैं शोभान शाहीको पालामा समेत मनाइने गरेको प्रमाण भेटिन्छ।

दशैंपछि भगवती औल वा तातो ठाउँतिर जाने र चैतेदशैंमा भगवती हिमालतिर आउने भन्ने गाउँघर तिर तर्कहरू सहितका जनश्रूतिहरू छन्। यसले सिंजा साम्राज्यको राजधानी सिंजा र दुल्लु भएका बेला दशैं खाएर राजापरिवार  र भारदार दुल्लु जाने र चैतेदशैंमा सिंजा फर्किने गरेका थिए भनेर अनुमान गर्न सकिन्छ। यस अर्थमा कर्णाली प्रदेश आसपासमा दशैं उभौली र उधौलीका रूपमा मनाइने गरिएको हो कि भनेर अनुमान लगाउन सकिन्छ।

सामाजिक पक्ष

सिंजा सभ्यतामा पारिवारका हरेक सदस्यको वर्षभरिमा पूजा हुने संस्कति रहेको छ। यसबाट परिवारका हरेक सदस्य आफैमा महत्वपूर्ण र पूज्य छन् भन्ने अर्थमा सिंजा संस्कृतिको विकास भएको छ। यसैको निरन्तरताका रूपमा दशैंमा प्रतिकको रूपमा देवीको पूजागरी महिलालाई अपराजिता शक्तिको श्रोतको रूपमा स्वीकार गरिएको छ।

सिंजा सभ्यतामा वार्षिक तालिका हलसारो गरेर हुन्छ। श्रीपन्चमीको दिन खिचडी पकाएर प्रकृतिको पूजा गरी कागलाई खुबाइन्छ। हलो, जुवा, गोरू लगेर अन्नको बीउ राख्ने बारी वा खेतमा भूमि, गोरू र कृषि ज्यावलको पूजागरी एक सियो जोतिन्छ जसलाई हलसारो भनिन्छ। बैशाखको नयाँ बर्षका दिन माइतीमा बसेकी वा मागेकी बुहारीलाई तागा, नयाँ कपडा, र कोसेली दिएर पूजा गरिन्छ।

घरमा पनि बुहारीहरूले नयाँ बर्ष तीज मनाए जस्तै गरी पोइलीघरमा मनाउने चलन छ। कुशे औंसी घरमा कुश राखिन्छ र बुबाको पूजा गरिन्छ। मातातीर्थ औंसीका दिन आमाको पूजा गरिन्छ। त्यसैगरी जनैपूर्णिमामा गुरू वा पण्डितको पूजा गरिन्छ। हरितालिका तीजमा पतिको पूजा हुन्छ भने ऋिषि पन्चमीमा कूल ऋिषिको पूजा हुन्छ। भाइटिकामा भाइको पूजा, हुन्छ। पुषको शक्ल द्घितियाका दिन आमाबुबाबाट छोराको पूजा गर्ने चलन छ जसलाई चेल्यातिहार भनिन्छ।

माघेसंक्रातिलाई माईसंक्राति भनिन्छ। त्यसदिन बिहान छोरीबहिनीलाई पूजा गरेर दक्षिणा दिने चलन छ। यसैको एक महत्वपर्ण पाटो दशैं हो। हरेक घरको मूख्य व्यवस्थापकका रूपमा भूमिका खेल्ने महिलाहरू वा सम्पूर्ण आमाहरूलाई देवी र शक्तिको प्रतिकका रूपमा सम्पूर्ण पुरूषहरूले पूजामा भाग लिएर दशैंमा देवीको उपासना गर्दछन्। 

दशैं मनाउने तरिका

जुम्लामा घटस्थापनाको दिन चन्दननाथमा लिङ्गो ठड्याउने चलन छ। घरमा जौं–को जमरा पनि राखिन्छ। ५२ हातको लिङ्गोमा ५२ हातकै गेरूरंगका नेजा हालिन्छ। गेरूरंग साधुहरूको रंग हो। गुरू चन्दनाथ साधु हुन्। यो नयाँ प्रारम्भको रंग हो। जुम्लामा धानको बीउ ल्याएर जीवनको नयाँ प्रारम्भ गरेकाले गुरू चन्दननाथको स्मृतिमा लिङ्गा ठडयाएर नेजा हालिएका हुन्।

घटस्थापनाको दोस्रो दिन नुवा हो। यो दिन नयाँ धान चाख्ने दिन हो। सबैले आफ्नो खेतबाट धान काटेर ल्याई चिउरा कुट्ने चलन छ। त्यो दिन चन्दननाथलाई पुकारेर भाग लगाई सकेपछि मात्र परिवारका सदस्यले खान पाउने चलन छ। सप्तमीको दिन घरको भित्री कोठाको उत्तर कुनामा लिपेर घरको पुरूष मूलीबाट भगवतीको थान स्थापना गरिन्छ। थानमा हतियार, फूलको ठानो, फर्सि, काक्रो, लौका, घिरौला आदिमा काठका छेस्काले घोपेर जनावरको आकृति बनाई राखिन्छ। कलस, अक्षेता, दियो पनि राखिन्छ। महाकाली अर्थात कालिका मान्नेहरूले अष्टमीको दिन दियो बालेर थानका हतियार तथा देवीको पूजा गर्दछन्। थानमा खसी घुमाएर पानीपाती वा फूलपाती पानीमा मिसाएर हाली घरबाहिर लगेर पूजामा राखेको हतिायारले बलि दिन्छन। यदि हतियार भुत्ते भए अरूको हतियार प्रयोग गरिन्छ र थानमा स्थापना भएको हतियारमा रगत लगाउने वा देखाउने चलन छ।

नवदुर्गा भगवतीको थान थापेकाहरूले  नवमीको दिन माथि जस्तै गरी बलि दिन्छन्। दशैंको जनाउ दिदै अष्टमी, नवमी र दशमीमा घरघरमा दमाहा बजाएर नगरा लगाउने पनि गरिन्छ। सिंजाको कनकासुन्दरी मन्दिरमा पन्चबली दिन टाढा टाढाबाट मानिसहरू आउछन्। सयौंको संख्यामा मानिसहरू घोडा चढेर जात्रा हेर्न आउछन्। पहिले एउटा राँगोलाई नवमीको दिन पानीपाती हालेर खुला छोड्ने चलन थियो। हतियार बोकेर राँगो काट्न मानिसहरू पछाडि दौडिन्थे। तर यो चलन बिस्तारै हराउँदै गएको छ।

दशमीको दिन छोरी बहिनीहरूलाई माइतीमा निम्ता गरिन्छ। जौं को जमरा, सिमी, र पिठाया ( बेसार  मिलाएर पहेलो बनाएको चामलको पिठो) र कोसेली गाउँका आफूभन्दा उमेरमा जेष्ठ तथा नाताले दान नखानेहरूलाई ज्वारेपिठायो लगाउन जाने चलन छ। पिठाया र जमरा  लगाइ दिएर आर्शिवाद माग्ने परम्परा रहेको छ। त्यसदिन प्रत्येक विवाहित पुरूष कोशेली, सिमी, जमरा र पिठायो लगेर ससुरालीमा पिठाया लगाउन जाने चलन छ। यसलाई ससुरालीको मान्यता गरेको रूपमा बुझिन्छ। एकादशीको पिठाया बासी पिठाया भएको वा हेला गरेको भन्ने अर्थमा बुझ्ने चलन छ। पूर्णिमाको दिन थापेको थानलाई नदीमा सेलाइन्छ। अहिले चामल र रातो टिकाको चलन बढेको छ।

अन्त्यमा

सांस्कृतिक पक्षबाट हेर्दा सिंजा सभ्यताको दशैं महिलाहरूलाई शक्तिस्वरूपा मानेर पूजा गरेको हो भन्न सकिन्छ। सिंजा राज्यको हिउँदे र बर्खे राजधानी सार्ने क्रममा दशैं मनाउन शुरूवात गरिएको हुनुपर्छ। पहाडी र हिमाली क्षेत्रमा मासु खानु प्राकृतिक रूपमा पनि राम्रो नै मानिन्छ। समग्र कर्णाली प्रदेशमा दशैं भड्किलो छैन। मानिसहरू हुनेले एउटा खसी किन्छन्। नहुनेले छ–सात जनासम्म मिलेर खसी काट्ने चलन छ। गाउँमा आफ्नो उत्पादन भएकाले धेरै किनमेल पनि गर्नुपर्दैन।

शहरको जस्तो दशैंमा अनिवार्य नयाँ लुगा किन्नै पर्ने पनि छैन। दक्षिणा पनि धेरै दिने कुनै बाध्यता छैन। यति हुदाहुदै पनि पछिल्लो केही वर्ष–यता गाउँघरमा समेत जाँडरक्सी खाने, जुवातास खेल्ने चलन शहरबाट छिरेको छ। यसले गाउँमा समेत असर पार्ने देखिन्छ। चाडपर्वहरू समय अनुकुल परिवर्तन हुन जरूरी छ। परिवर्तनका नाममा यसले विकृति र वर्गविभेद गर्नु हुँदैन। सबैको उत्सवको चाड बन्नुपर्छ। सबैको दशैं बनाउन यसको सांस्कृतिक पक्षलाई बलियो बनाउनुपर्छ।

दशैं र तिहारमा नेपालको अर्थतन्त्र एकपटक निकै चलायमान हुन्छ। यसैमा सरकार पनि खुशी हुनु हुँदैन। दशैं पछि पनि अर्थतन्त्रले निरन्तर र समान अनुपातमा उकालो लागिरहनुपर्छ। दशैं तिहार जस्ता चाडपर्वले धनीहरू वा हुनेखानेहरूबाट केही प्रतिशत हुँदा खानेतर्फ वैधानिक रूपमा जाने उपायको खोजी गरिनुपर्छ। समग्रमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई दशैं र तिहारको मंगलमय शुभकामना!

प्रकाशित मिति: : 2022-10-05 09:00:00

प्रतिकृया दिनुहोस्