‘आफूले हेरिरहेको बिरामी निको हुँदा सबै पीडा भुल्छौं’

अनलाइनखबर

काठमाडौँ

डा.निरज बम

सबैतिर दशैंको माहोल छ, तर अस्पतालमा कोरोनाको बिरामी आइरहेका छन् । त्रिवी शिक्षण अस्पतालमा अहिले दिनहुँजसो कोरोनाको बिरामी आइरहेका छन् । दैनिक २० जना बिरामी आउन वा ५ जना हामी ड्युटीमा हुनैपर्छ । बिरामी कम भए भनेर ड्युटी नगर्ने छुट हामीलाई हुन्न ।

अधिकांश स्वास्थ्यकर्मी पनि जुनसुकै बेला खटिन मानसिक रुपमा तयार भएकाले दशैं मनाउन पाइइन भनेर चित्त दुखाउ गर्दैनन् । म यहाँको कोभिड इञ्चार्ज भएकाले स्वाभाविक रुपमा व्यस्त हुन्छु । किनकि, आएका बिरामीलाई भर्ना गर्ने, उपचार गराइरहेका बिरामीको अवस्था हेरेर आर्इसीयूमा सार्ने अथवा डिस्चार्ज दिने र बिरामीको परिवारलाई काउन्सिलिङ गर्ने काम मेरो जिम्मामा पर्छ ।

डाक्टर तथा नर्स मात्र होइन, अस्पतालको सेवासँग जोडिएका सबै कर्मचारीले दशै सोचे जसरी मनाउन पाउँदैनन् । किनकी ल्याबका कर्मचारी, फार्मेसीको स्टाफ, एम्बुलेन्स डाक्टर, स्टाफ बसको चालक वा कोही एक जना ‘स्टाण्ड बाई’ भएन भने अस्पताल सञ्चालन प्रणाली अवरुद्ध हुन्छ ।

कोरोना महामारी नभएको भएतापनि मेरो दैनिकीमा खासै फरक पर्ने थिएन । किनकि ओपीडी सञ्चालन नगरेतापनि वार्डमा भर्ना भएका बिरामीलाई निगरानी गर्नैपर्छ । हामीले थोरै मात्र लापरवाही गर्दा ठूलो हानी हुने जोखिम हुन्छ । हामीले एकजना बिरामी त हो भनेर सोच्नु नै ठूलो भुल हुन जान्छ । किनकी, बिरामीको आफन्तको लागि परिवारको सदस्य भनेको सर्वस्व हो ।

प्रकाशित मिति: : 2021-10-13 18:24:00

प्रतिकृया दिनुहोस्