विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण यति बेला विश्व नै संकटसंग जुधिरहेको छ। कोरोना कहरैका बिचमा नेपालीहरुको महान पर्व दसैं पर्व आयो तर खासै रोनक आएन। अघिल्ला वर्ष यति बेला शहरबजार छाडेर गाउँघर जानेको भिड लाग्ने गर्दथ्यो। तर यो वर्ष न त शहरबजारमा कुनै भिड छ, न त गाउँघरमा चहल पहल नै।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान डराइरहेका छन्। नचिनेका मान्छेसंग मात्रै होइन घर परिवारका सदस्य र आफन्तसंग पनि डराउनु पर्ने अवस्था आएको छ।
टाढाटाढा रहेका परिवारका सदस्य, साथीभाई, आफन्त भेटी हर्षोल्लासका साथ मनाइने महान चाड विजया दशमीको बेला एक आपसमा भेट हुँदा संक्रमण बढ्ने हो की भन्न्ने डर धेरैमा छ। मिलनको पर्व भनेर चिनिने गरेको दसैंलाई यो बर्ष परिवारका सदस्य अलग अलग भएर मनाउनु पर्ने बाध्यात्मक अवस्था सिर्जना भयो।
'देशविदेशमा रहेका आफन्तजन एकै ठाउँमा जम्मा भएर खुसी साट्दै मनाउनुपर्नेमा यो बर्ष घरपरिवारका सदस्य अलग्गिएर मनाउनु पर्नेभएपछि गाउँघरमा दसैंको रौनक खासै आएन', उर्लाबारीका सुन्दर श्रेष्ठ बताउँछन्। श्रेष्ठको भनाईमा गत बर्ष झैं यो वर्ष पनि गाउँघर शून्य जस्तै भएको छ।
पहिले पहले वर्ष यतिबेला गाउँगाउँमा देश विदेशबाट घर आउनेको भिड लाग्ने गर्दथ्यो। अन्य समयमा सुनसान हुने गाउँहरु दसैंको बेला गुल्जार हुने गर्दथे। गाउँमा दसैंको रौनक छाएपछि सबैको मुहारमा खुसी देखिन्थ्यो, अहिले त मान्छे देख्दा पनि तर्सनुपर्ने र परपर हुनुपर्ने अवस्था आएको रतुवामाई नगरपालिकाका खड्ग बेदना बताउँछन्।
अघिल्ला बर्षमा दसैंतिहार नजिक आएसंगै लुगा, कपडा र खाद्यान्नको सामान बिक्री बढी हुने गरेको व्यापारीले बताए। दसैंतिहारमा नयाँ लुगा लगाउने मिठो खाने प्रचलन अनुसार बजारमा किनमेल गर्नेको भिड लाग्ने गर्दथ्यो, अहिले मानिससंग आर्थिक अभाव संगै रोगको डर पनि कायमै छ।
दसैंमा सबै परिवार जम्मा भएर रमाइलो गर्ने, मिठो मसिनो खाने चलन भएपनि अहिले मानिसलाई कसरी चाडवाड मान्न भन्दा पनि कसरी रोगसंग बच्ने भन्ने कुरा महत्वपूर्ण भएको उर्लाबारी उद्योग बाणिज्य संघका महासचिव हेमराज गुरुङ्को बुझाई छ।
नेपालीको ठूलो चाड विजयादशमी, दिपावलीलगायतका चाड मनाउन गाउँ आउनेहरुको संख्यामा कमी भएसंगै मोरङ्का गाउँबस्ती सुनसान बन्दै गएका हुन्। दसैंतिहार मनाउन जिल्ला बाहिर तथा विदेशमा रहेकाले आफ्ना घर परिवारलाई आउन नसक्ने जानकारी दिन थालेका छन्।
स्थानीयवासी गाउँ नआउने भएपछि यहाँका ग्रामीण बस्तीमा दसैंको चहलपहल देखिएको छैन। परदेश गएका चाडवाड भनेर घर फर्कन्थे, घर बाहिर रहेकाहरु पनि वर्ष दिनको चाड भन्दै मुल घर फर्कने गर्दथे, घर परिवार र गाउँमा सबैलाई रमाइलो हुने गरेको थियो, अहिले आफ्ना घरपरिवार सदस्य एकै ठाउँमा जम्मा हुन नमिल्ने डर त्रास र सन्त्रास फैलिएकोले दसैं आएपनि मानिसहरुमा खुसी नआएको पाईन्छ।।
पढ्न शहर छिरेका र जिल्ला बाहिर जागिर गर्नेले पनि गाउँ नर्फकने भएपछि गाउँबस्ती दसैंमा पनि सुनसान देखिएका छन्। वर्ष दिन सुनसान भएपनि दसैं र तिहारमा रमाइलो हुने गरेको गाउँबस्तीमा यो बर्ष दसैंको खासै रौनक देखिएको छैन। दसैंका बेला चहल पहल हुने यहाँका पहाडी बस्तीमा आफन्तको याद गर्दै परिवारका सदस्यहरु बसिरहेका छन्।
दसैंमा गाउँका घरघरमा पुगेर क्लाँटा बाजा बजाउँदै मालाश्री धुन बजाउने चलन हट्दै गएको छ। अहिले त्यो धुन रेडियो, टेलिभिजनमा प्रशस्त सुन्न पाइन्छ। क्लाँट बजाउँदै विभिन्न धुन गुञ्जाउँदै दसैंमा रौनकता आधुनिक बन्दै गएको छ। यता वैदेशिक रोजगारीले दसैंको रौनक घट्दै गएको छ।
आर्थिक अभावमा गत वर्षहरूको तुलनामा यो वर्ष ग्रामीण भेगमा दसैंको चहलपहल कम भएको हो। राम्रो लाउने र मीठो खाने मान्यता बोकेको चाड दसैं कोरोनाका कारण एकै ठाउँमा जम्मा हुन नमिल्ने भएपछि घरमा हुनेहरुमा उत्साह नआएको बताइन्छ।
केही वर्ष अघिसम्म घर लिपपोत गर्न, चिउरा, चामलको जोहो गर्न, मासुको बन्दोबस्त गर्न एक महिना अघिबाटै थालिने भएकाले दसैं आएको रौनक आउने गर्दथ्यो। पछिल्ला वर्षमा युवाहरु वैदेशिक रोजगारीमा जानेक्रम बढेपछि गाउँबस्ती सुनसान जस्तै बन्दै गएका थिए। अहिले त झन जो जहाँ छ, त्यही बसेर दसैं मनाउनु भनेपछि गाउँबस्तीमा दसैं आएको छैन।
बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउँदा युवा विदेशिइरहेका छन्। घरको सम्पत्ति बेचेर तथा ऋण काढेर विदेश जाने युवा धेरै छन्।
कामको खोजीमा युवा भारत तथा तेस्रो मुलुक जाने क्रम नरोकिँदा वृद्धवृद्धा, केटाकेटी र महिला मात्र गाउँमा भेटिन्छन्। देशमै रोजगारको सिर्जना नहुँदा जति पढेलेखे पनि विदेश जानुपर्ने बाध्यता रहेको जानकार बताउँछन्।
खाडी मुलुक साउदी, कतार, मलेशियालगायत देशमा जाने युवाको जमातसमेत उत्तिकै छ। वैदेशिक रोजगारका लागि युवा मुग्लानतिर लागेपछि विकास निर्माण, सामुदायिक अभियानदेखि परम्परा, संस्कारसमेत प्रभावित बनेका छन्। खेतीपातीको काम पनि निकै प्रभावित भएको छ। चाडपर्व पनि युवाहरु नहुँदा खल्लो हुने गरेको उर्लाबारीका राम श्रेष्ठ बताउँछन्।
गाउँमा जनशक्ति नहुँदा खेती लगाउन छाडेका जग्गा बाँझिदै गएका छन्। युवा पलायनको योे दरले जिल्लामा बेरोजगारी समस्या थप चुलिँदै गएको पुष्टि हुन्छ। चुनाव जितेका जनप्रतिनिधिले समेत युवालक्षित स्वरोजगारका कार्यक्रम ल्याउनतर्फ ध्यान नदिएको युवाको गुनासो छ।
उर्लाबारी नगरपालिकाका स्थानीय भेषराज गौतमले स्वदेशमै केही गर्न सकिन्छ भन्ने अनुभूति दिलाउन नेताहरू चुकेको बताए।