भारत–पाकिस्तान तिक्तताको केन्द्रमा सधैँ कश्मीर

Photo: AFP
Photo: AFP

भारतप्रशासित कश्मीरमा सन्दिग्ध विद्रोहीद्वारा भएका हत्याका घटनापछि सुरक्षाकर्मीले सयौँ स्थानीय बासिन्दालाई पक्राउ गरेका छन्।

पछिल्लो हप्तामा सातजना नागरिकको हत्या भएएपछि त्यसले धेरैमा आक्रोश निम्त्याएको छ। पाँच सय जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ।

प्रतिबन्धित लडाकु समूहसँग सम्बन्ध रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अधिकारीहरूको दाबी छ। तुलनात्मक रूपमा नयाँ देखिएको एउटा समूहले आक्रमणहरू आफूले गराएको जिम्मेवारी लिएको छ।

सो समूहको दाबी छ- हत्या गरिएका मानिसहरू भारतीय फौजका लागि काम गर्थे। हत्या गरिएका मानिसमध्ये अल्पसङ्ख्यक हिन्दू र शिख समुदायका दुईजना शिक्षक पनि भएको अधिकारीहरूले बताएका छन्।

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले शनिवार भनेको थियो- विद्रोहीहरूको आक्रमण र सरकारी फौजको दमनका कारण कश्मीरका मानिसहरू अन्तहीन हिंसाको शिकार भएका छन्।

सन् २०१९ को अगस्टमा नयाँ दिल्लीले मुस्लिम बहुल कश्मीरको अर्धस्वायत्त हैसियत खोसेयता त्यहाँ तनाव जारी रहेको बीबीसीले जनाएकाे छ।

हिन्दू राष्ट्रवादी सरकारले जम्मू-कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरेर त्यसलाई दुईवटा केन्द्रशासित भूभागमा परिणत गरिदिएको थियो।

सो निर्णयानुसार जम्मू-कश्मीर एउटा र लद्दाख अर्को केन्द्रशासित भूभाग बनेका छन्। सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने।

स्थापनाकालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो।

यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव।

प्रकाशित मिति: : 2021-10-12 06:23:00

प्रतिकृया दिनुहोस्