हिन्दु संस्कृति शक्तिपूजक संस्कृति हो। हामी शक्तिलाई माताको रूपमा पुज्ने गर्छौं। हिन्दु चिन्तनले भन्छ, माता सृष्टिको अणु–परमाणुकी जननी हुन्। प्रत्येक जीवकी आदि अनुभूति पनि आमा नै हुन्। आमाकै देहको विस्तार नै हामी सबैको काया हो। हामी सबैको अस्तित्व आमाकै कारण छ। आमा नहुने हो भने हामी पनि हुने थिएनौँ। आमा स्वाभाविक नै दिव्य छिन्, देवी हुन, पूज्य छिन्। व्यष्टि, समष्टि, सृष्टि र परमेष्टिकै रूपमा आमा वरेण्य छिन्। उनी पूजनीय छिन्, नीराजन र आराधनाको योग्य छिन्।
सबै लोक, वनस्पति जगत्, कीट–पतङ्ग र समस्त प्राणी आमाकै विस्तार हुन्। आमा धातृ हुन्, आमा दातृ हुन्– सृष्टि, स्थिति र पुनःरचनाका निम्ति संहारकारिणी पनि आमा नै हुन्। जीवनमा आउने सुख–दुःखरूपी घुम्तीहरूमा हामी सधैँ आमाकै आशिष, आमाकै छायाँ पाउँछौँ, अनि जब मन–प्राण व्याकुल हुन्छ, हामी आमालाई नै खोज्छौँ। क्षणक्षणमा र कणकणमा हामी आमालाई खोज्छौँ। अनि पाउँछौँ उनको उपस्थिति गुफा–कन्दरा, जल–थल, शैल–शिखरमा, सबै जीवहरूमा। तिनै माता शक्ति दिव्य ऊर्जा बनी हामीमा पनि प्रवाहमान छिन्। सर्वत्र तिनै मातालाई यसरी दर्शन गरेपछि त मन मार्कण्डेय ऋषिसँगै गाउन थाल्छ–
या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।