कहिलेकाहीँ ‘रिपोर्टर’भएर शहरमा बरालिन मन लाग्छ। शहरमा बिना उद्देश्य बरालिँदा यदाकदा यस्ता पात्रसँग जम्काभेट हुन्छ जहाँ आफ्नो पुरानो अखबारी–ग्रन्थी घड्याप्पै सतहमा आइदिन्छ। अनि सल्बलाउन थाल्छन् सिर्जनतत्व, आफसेआफ।
‘नियमित आकस्मिकता’ नै भनौँ, केही दिनअघि अग्रज साहित्यकार शैलेन्द्र साकारका घरमा पुगियो। मीनभवन पछाडि ठूलो खरीको बोटछेवैको उनको घरको भुइँतल्लामा बसेर केही युवासँग निकैबेर गफमा बत्तिँदासम्म त्यो घर तीस र चालिसको दशकका बेजोड साहित्यकार शैलेन्द्र साकारको हो भन्ने थाहा थिएन।
उनका कान्छा छोरा अनुबन्धको आतिथ्यमा म त्यहाँ पुगेको। भेटघाटको क्रम नितान्त भिन्नै थियो। तर, हिँड्ने बेलामा अनुबन्ध रहस्य उजागर गर्न ताम्सिए। केही दिनदेखि अन्य युवासहित मसँग एउटा ‘मेडिटेशन क्याफे’ खोल्ने सन्दर्भमा सामेल थिए, मेरा गाउँले भाइ युगल र उनका साथी अनुबन्ध। अनुबन्धले आफू साहित्यकार शैलेन्द्र साकारको छोरो भएको रहस्योजगार गरेपछि मैले बिना कुनै बिलम्ब अर्को पटक बुबासँग भेट गराइदिन अनुरोध गरेँ।
नभन्दै त्यसको अर्को हप्ताको एक ताजा बिहानीमा म नेपाली साहित्यको इतिहासमा सम्पन्न तीन वटा सशक्त साहित्यिक आन्दोलनका एक अग्रणी अभियन्ता, उपन्यासकार, कथाकार, कवि तथा पूर्व सरकारी सेवक शैलेन्द्र साकारसँग साक्षात्कार गरिरहेको थिएँ।