२०६०/६१ सालतिर गायक नेत्र भण्डारी दोहोरी साँझमा मादलवादकको रूपमा काम गर्थे। दोहोरी साँझमा गीत गाउनेहरू देख्दा उनी सोच्थे, ‘यति त मैले पनि गाउन सक्छु त।’
उनमा गाउने रहर थियो‚ लगाव पनि थियो। तर मसिनो स्वर। यस्तै‚ अन्तर्मुखी स्वभाव भएका उनी आफ्ना रहर कसैलाई भन्न पनि सकिहाल्दैन थिए। यसरी उनी आफ्नो गायनलाई आफैंभित्र गुम्साइरहन्थे।
त्यसबेला पशुपति शर्मा, रमेशराज भट्टराई, रामजी खाँण, कुलेन्द्र विश्वकर्मासँग उनको चिनजान बढ्यो। एक दिन बेलुका दोहोरी साँझको काम सकेर स्टाफसहित उनी डेरा फर्कंदै थिए। गाडीको झ्यालबाहिर मुण्टो हल्लाउँदै उनी गीत गुनगुनाइरहेका थिए। गायक पशुपति शर्मा र रमेशराज भट्टराईले उनको स्वर सुनिरहेका थिए। नेत्रको स्वर सुनेपछि उनीहरूले सुझाव दिए‚ ‘नेत्र भाइ‚ तिम्रो आवाज मिठो रैछ। गायनलाई पनि अगाडि बढाउँदै लगे सुनमा सुगन्ध हुन्थ्यो।’