चन्दननाथका लिङ्गा: मन्दिर प्रवेशका लागि दलितले गरेकाे त्यो संघर्ष 

नाग पञ्चमीकाे दिन ५२ हातकाे सबैभन्दा ठूलोसहित तीनवटा लिंगा काटियाे भने, त्रयोदशीकाे दिन लिंगा तानियाे भने, घटस्थापनाकाे दुई दिन अगाडि लिंगा ताछिए भने, सोह्रश्राद्ध सकियाे भने, घटस्थापनाकाे दिन चन्दाननाथ, भैरवनाथकाे मन्दिरमा लिंगा खडा गरियाे भने जुम्लामा दशैँ सुरु भएकाे मानिन्छ।

विक्रमकाे १६ओैँ शताब्दीतिर जुम्ला राज्य स्थापना हुनेबेला बाबा चन्दननाथले मार्सी धानकाे बीउ पत्ता लगाए। त्यसयता उनैकाे सम्मानमा चन्दननाथ भैरवनाथकाे मन्दिरमा लिंगाे खडा गर्ने रीत बसालिएकाे संस्कृतिसम्बन्धीका जानकार रमानान्द आचार्यले बताए।

उनका अनुसार बाबा चन्दननाथले मार्सी धानकाे बीउ पत्ता लगाएपछि आफ्ना बलशाली शिष्य लछालकृति पैकेलाेलाई बीउ प्रयाेग गर्ने र त्यसलाई फैलाउने जिम्मा दिएकाे देखिन्छ।

बाबा चन्दननाथले लाछालकृति पैकेलाेलाई धान खेती विकास र विस्तारकाे लागि दिएकाे उपदेश संस्कृतमा लेखिएको पाण्डुलिपिको नेपाली अनुवादलाई यहाँ राख्न उपयुक्त ठानिएको छ। उपदेश यस्ताे छ;

'दयालु सिद्ध चन्दननाथ बाबाले लक्षु (लाछु) गाउँमा जन्मेका कृतवीर्य नाम गरेका एक जना बलशाली शिष्यलाई यो रहस्यपूर्ण उपदेश दिनुभयो। अन्नबाट सम्पूर्ण प्राणीको उत्पत्ति र रक्षा हुन्छ। त्यो अन्नलाई मेघ (वर्षा) ले रक्षा गर्दछ। यज्ञ (यज्ञको धुँवा) बाट मेघ उत्पन्न हुन्छ। 

यज्ञ भनेको कर्म हो। कर्म अनुसार प्राणीको जन्म र मृत्यु हुन्छ, कर्मबाट नै देवताहरू प्रसन्न हुन्छन्। यसैले मानिस सधै कर्मशील हुनुपर्छ। यसैले तिमी पनि सम्पूर्ण लोकको हितका लागि कर्म गर। शाली धान (मार्सी धान), मास, मुङ, कागुनु आदि धेरै किसिमका अन्नहरू यज्ञ गर्नका लागि जम्मा गर। आफ्ना सन्तानहरूको सहयोगबाट खेत बनाऊ। 

मैले दीर्घकालीन तपस्याबाट प्राप्त गरेको शाली धान ल्याएको छु। यो प्रयोगबाट सिद्ध भइसकेको छ। यो हैमदेश(हिउँ पर्ने ठाउँ) का लागि उपयुक्त छ। हे लक्षुवासी शिष्य! अन्नको अभावबाट कुनै पनि कर्म वा विधिहरू सम्पन्न गर्न सकिँदैन। अतः ती सम्पूर्ण कर्महरूको सम्पन्नताका लागि धान रोप। यो कार्य सफल हुन्छ र यसको विस्तार पनि हुन्छ। 

प्रत्येक वर्ष चैत्र महिनाको १२ गते केलाइएका धानहरू चिसो पानी, नदी अथवा कुनै जलाशयमा डुबाउनुपर्छ। यस प्रक्रियाबाट रोप्दा एक पाथी धानबाट एक भारी(मुरी) धान फल्दछ। चार दिनपछि अर्थात् चैत महिनाको १६ गते बिहान जलमा भिजाइराखिएको उक्त धानलाई जलबाट निकाल्नु पर्छ। त्यसपछि उनको वस्त्र ओछ्याएर करिब तीन घन्टा जनि राख्नु पर्दछ। अनि पुरा भिजेको पनि होइन र पुरा सुकिसकेको पनि होइन, यस्तो अवस्थामा रहेका ती धानलाई लिपिएको र आगाले तातो भएको घरको बीचको कोठामा पातहरू ओछ्याएर त्यसमाथि पर्वतको आकार बनाएर राख्नुपर्छ। सल्लाका बोक्रा, भुर्जपत्र(भोजपात) र कम्बलले छोप्नुपर्छ र दुई दिन राख्नुपर्छ त्यसपछि धान अङकुरित हुन्छन्, टुसाउँछन्। 

यसपछि धान छोप्नका लागि प्रयोग गरिएको भोजपात, कम्वल आदि हटाएर आगोको तातो नपर्ने गरी धानमा चिसो पानी छर्नुपर्छ। गोठको परिपक्व मल हाल्नुपर्छ र अरू दुई दिन त्यत्तिकै राख्नुपर्छ। यसो गर्दा टुसाहरू बलिया हुन्छन्। यसपछि बिस गते मङगलाचरणपूर्वक परिवारसहित भएर धेरै जल भएको ठाउँमा ती अङ्कुरित धानहरू रोप्नुपर्छ। त्यस दिन मिष्ठान्न भोजन गर्नुपर्छ। 

यसपछि बैशाख सङ्क्रान्तिका दिन नारीहरुले सात गाँठा पारिएको रङ्गीन धागो अर्थात् रक्षासूत्र बाँध्नुपर्छ। खेतका देवता तथा अन्य देवतालाई पुवा चढाउनुपर्छ। खेतमा काम गर्ने सबैलाई त्यो प्रसाद दिनुपर्छ। यसै दिन रोपिएका ती धानमा बीस अँजुली पानी चढाउनुृपर्छ र सूर्यको तापबाट तातेको जल खेतबाट बाहिर फाल्नुपर्छ। यसो गरेमा सम्पूर्ण परिवारको कल्याण हुन्छ।' [शाके ९६३ अर्थात वि.सं. १०९८(स्रोतः पूर्ण सिंह कठायत, चन्दननाथ नपा र अनुवाद डा. प्रेम चौलागाई, रावतवाडा) हेर्नुस्, राजबहादुर कुँवर, जुम्लाको वैकल्पिक इतिहास।]

बाबा चन्दननाथकाे उपदेश अनुसार लछालकृति पैकेलाे धान खेती विकास र विस्तारमा लागे। हालका लाछु जिउलाेमा त्यसबेला चुककाे झाडी मात्रै थियाे। त्यसलाई पन्छाएर एउटा सुपाे आकारकाे खेत बनाए। त्यसलाई हालसम्म पनि गुरु फाेक्टाे भनिन्छ। त्यहाँ धान खेती सफल भएपछि उनी विस्तार गर्न लागे।

कर्णाली क्षेत्रका धेरै ठाउँहरुमा धान खेती विस्तार भयाे। जुन जुन क्षेत्रमा काली मार्सी धान फल्छ त्यहाँबाट बाबा चन्दननाथकाे नाममा सिक (हरेक वर्ष फलेकाे धानबाट मानाे मुठाे छुट्याएर चन्दननाथकाे नाममा चढाइएकाे अन्न।) दिन थालियाे। त्याे चलन आज पनि कायम छ।

यसरी धानकाे बीउ पत्ता लगाएकाे, विकास र विस्तार गरेकाे जस बाबा चन्दननाथले पाएपछि उनकाे नाममा स्थापना गरिएकाे मन्दिरमा लिंगा खडा गरेर युगयुगसम्म सम्मान गरिरहने रित बसालियाे।

लिंगा काट्ने काम असी दराका चार गाउँ सिंहाचाैर, डाँडाकाेट, बाेहरागाउँ, आचार्यबाडाका दलितहरुले गर्ने गरेकाे गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताए। उनका अनुसार त्यसबेला लिंगा काट्न जाने दलितलाई ज्याला दिइदैनथ्याे। थानकाे पर्साद, खाना र नास्ता दिने चलन थियाे।

'लिंगा काट्ने काम त अहिले पनि दलितहरुले नै गर्छन्। तर उनीहरुलाई लागेकाे दरमा ज्याला दिने गरिएको छ,' उनले भने।

नाग पञ्चमीकाे दिन काटिएका तीनवटा फरक फरक नामका लिंगा फरक फरक जातका मान्छेले ल्याउने गरी जिम्मा लगाइएकाे आचार्यले बताए।

उनका अनुसार ती तिनैवटा लिंगाका फरक फरक नाम छन्। पहिलाे ५२ हाते लिंगाेलाई पल्टनिया लिंगाे भनिन्थ्यो। त्याे लिंगाे ल्याउने काम असी दरा भित्रका क्षेत्री गाउँका मान्छेले गर्थे। तर असी दराका पनि दानुवाका नाैं गाउँका क्षेत्री पर्दैन थिए। पछि त्याे लिंगाे ल्याउने काममा सेना, प्रहरीलाई पनि मिसाउन थालियो।

दाेस्राे लिंगाेलाई थपाले लिंगाे वा बाहुन लिंगाे भनिन्छ।  त्याे ल्याउने काम पुरै असी दराका बाहुनहरु गर्थे। तेस्राे लिंगाेलाई कमसले लिंगाे भनिन्छ। दलितहरुलाई अरु जात भन्दा कमसल मानिने हुनाले दलितहरुकाे नामकाे लिंगाेलाई कमसले लिंगाे भन्न थालियाे।

कमसले लिंगाे ल्याउने जिम्मा असी दरा भित्रका सबै दलित गाउँ र पान सय दराकाे नियापानीलाई थियाे। असी दराका दलितले मात्रै नपुग्ने भएपछि नियापानि थपिएकाे थियाे। त्यसबेला लिंगा ल्याउदा तानेर ल्याउने चलन थिएन। हातहातमा उचालेर ल्याउनु पर्थ्याे।

'चन्दननाथ र भैरवनाथ गरि चार वटा लिंगा खडा गर्नुपर्नेमा तीनवटा लिंगा मात्रै नयाँ हुन्छन् भने एउटा पुरानाे थपाले लिंगाेलाई भैरवनाथमा पुन: खडा गर्ने रित बसालिएकाे छ,' आचार्यले भने, 'पछि गाेर्खालीले जितेपछि ५२ हाते पुरानाे लिंगाेलाई आधा काटेर २६ हातकाे लिंगाे बनाई पल्टनीया लिंगाेसँग टाँसेर जयस्तम्भ खडा गर्ने रित बसालिएकाे हाे। त्याे जयस्तम्भलाई मुर्काटाे पनि भनिन्छ।'

यतिबेला लिंगा तास्ने काम गरिरहेका चन्दननाथ -१० बाेहरागाउँका जय बहादुर सार्कीले भने, 'उतिबेला लिंगा तास्ने र कैँची ल्याउने काम बाेहरा गाउँका दलितहरुका थियाे। अहिले अनिवार्य छैन। ज्याला लिने गरेकाे छाैं। ज्याला दिए काम गर्छाैं नत्र गर्दैनाैं।'

जसरी काट्ने, नामाकरण गर्ने, लिंगा मन्दिरसम्म ल्याउने जिम्मा थियाे त्यसरी नै साजसज्जाकाे पनि जिम्मा थियाे। लिंगाकाे सिरमा राख्ने चाैरी फुर्काे मुगुबाट आउँथ्याे। माथिल्लो हुम्लाबाट थाप्का र माथिकाे हुम्लाबाट लिउ ठेटुका र मास आउँथ्याे। ध्वजा पतका बजार आसपासका मान्छेले स्वइच्छाले दिने रित बसालिएकाे थियाे।

समय सँधै उस्तै भएन। लिंगा काट्ने, ल्याउने, त्यसलाई ताेछेर सफा बनाउने, उभ्याउने बेला बल लगाउने कैँची ल्याउने लगायतका महत्त्वपूर्ण काममा लाग्ने दलितहरुलाई मन्दिरमा प्रवेश गर्ने,  पुजा गर्ने लगायतका कामबाट बञ्चित गरिएकाे थियाे।

०४६ सालकाे जनआन्दोलन सफल भएपछि ०४७ सालकाे लिंगा काट्ने बेला दलितहरुले विद्राेह गरे। उनीहरुले 'हामीलाई मन्दिरमा विभेद हुन्न, प्रवेशमा राेक लगाइदैन, पुजाआजा गर्न दिइन्छ भने लिंगा काट्नेलगायतका काममा लाग्छाैं, नत्र लाग्दैनाैं' भने।

त्यसबेला दलितहरु दुई भागमा बाँडिए। एकथरी चलिआएको रितलाई निरन्तरता दिनुपर्छ भनी लागे भने अर्काे थरि विभेद कायमा राख्ने परम्परा अस्वीकार गर्नुपर्छ भनी लागे। पछिल्लो खेमा बलियाे भयाे। याे खेमाकालाई कम्युनिस्ट विचारमाले सहयोग गरे। नेतृत्व त्यसबेलाका चिर्चित नेता डिल्ली महतले गरेका थिए। त्यसकाे दुईवर्षसम्म दलितहरु लिंगा ल्याउन नगएकाे स्मरण गर्छन्, संस्कृति सम्बन्धका जानकार आचार्य।

'पछि त्यसबेलाका सीडीओ बद्री बहादुर कार्कीले कर्मचारी, सेना पुलिस सबैलाई निर्देशन दिएर लिंगा ल्याउन लगाए,' उनले भने, 'अब त सबै लिंगा सेना, प्रहरी र शसस्त्र प्रहरीले नै ल्याउँछन् भने काट्ने, तास्नेलाई ज्याला दिइन्छ।'

प्रकाशित मिति: : 2021-10-07 20:44:00

प्रतिकृया दिनुहोस्