चाडबाडका बेलाको यात्रा : यात्रुको रोजाइमा हवाई उडान

सार्वजनिक सवारीलाई सडक नै मुख्य समस्या

थाहा खबर

काठमाडाैं

नेपालीको चाड विजयादशमी नजिकिँदै गर्दा यसपल्ट पहिलेका वर्षजस्तो भीड लामो दूरीका बसको टिकट काउन्टरमा छैन, बरु यसवर्ष सुनसानजस्तै छन्।

मनसुनका कारण बिग्रिएका सडकको मर्मत हुन नसक्दा यात्रुको संख्यामा कमी आएको यातायात व्यवसायीले बताउँदै आएका छन्। 

सरकारले गत सोमबार सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरे पनि यात्रु संख्यामा कमी देखिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

विगतका  वर्षभन्दा यसवर्ष  उपत्यकाबाट बाहिरिनेको संख्यासमेत घटेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। 

मनसुन अझै सक्रिय छ। मनसुनका कारण बिग्रिएका सडक मर्मत हुन नसकेकाले सार्वजनिक सवारीमा यात्रा गर्नेको संख्या घटेको महासचिव सिटौलाले बताए।

१ असोजदेखि हालसम्म करिब ३ लाखले उपत्यका छोडेको सिटौलाले बताए। सार्वजनिक यातायातमा पहिलेभन्दा ५० प्रतिशतले कमी आएको छ।

उनले भने, ‘वर्षामा भत्किएका सडक हालसम्म मर्मत हुन सकेको छैन। जसका कारण यात्रुहरु यात्रा गर्न डराएका छन्,’ उनले थपे, ‘अर्कातिर कोरोनाले थला पारेकाले आर्थिक अवस्थाका कारण पनि यात्रुको संख्या कमी आएको हुनसक्छ।’

सडक नै मुख्य समस्या 

दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुलाई सडकका कारण यात्रामा समस्या हुने देखिएको छ। चाडपर्व लक्षित गरी सडक मर्मत गर्दै आए पनि मनसुनका कारण समाधान गर्न नसकिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए।

हाल सडक खुलाउने काम भइरहेको र कतिपय सडक एकतर्फी सञ्चालनमा आएका छन् भने कतिपय सडक खुलाउने  काम भइरहेको थापाले बताए। 

दशैंमा मात्र १५ लाखभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने गर्छन्। उपत्यका भित्रने र बाहिरिने यात्रुको सहजीकरणका लागि सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको महानिर्देशक थापाले बताए।

उनले भने, ‘मनसुनका कारण सबै सडकको समस्या समाधान भने गर्न सकिएन।’ वर्षाले बाढी पहिरो जाँदा धेरैजसो ग्रामीण क्षेत्रका सडकमा अझै पनि आवतजावत गर्न मुस्किल छ। 

प्रकाशित मिति: : 2021-10-05 14:59:00

प्रतिकृया दिनुहोस्