रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक करिब चार सय नेपाली भारतबाट स्वदेश फर्किन थालेका छन्। १८ महिनादेखि बन्द रहेको बेलहिया नाका गत आइतबारदेखि सुचारु भएसँगै सीमा क्षेत्रमा चहलपहल बाक्लिएको छ।
कोभिड-१९ का कारण २०७६ चैत १० देखि नेपाल-भारत सीमा बन्द थियो। बीचमा सरकारले नाका सुचारु हुने संकेत गरे पनि कोभिडकाे दोस्रो चरण सुरु भएसँगै बन्द थियाे।
इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै स्वदेश आउने नेपाली एवं विदेशी पर्यटकलाई प्रवेश अनुमति दिइएको जानकारी दिए।
‘अहिले दैनिक करिब चार सयजना नेपाल प्रवेश गरिरहेका छन्, उनीहरूलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्रै गन्तव्यतर्फ जान दिएका छौं,’ उनले भने।
सीमा क्षेत्रबाट प्रवेश गर्ने नेपाली यात्रुको हकमा सामान्य ज्वरो नापेर शंकास्पद देखिए एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ। एन्टीजेन परीक्षणमा पोजेटिभ आए पीसीआर परीक्षण गरिने र पीसीआरको नतिजाको आधारमा यात्रुको व्यवस्थापन गरिने प्रहरी निरीक्षक पौडेलले बताए।
भारतीय पर्यटकले भने ७२ घन्टे पीसीआर रिपोर्ट देखाई जिल्लास्तरीय कोभिड नियन्त्रण विशेष समिति (सीसीएमसी) द्वारा निर्धारित फारम भरेर नेपाल प्रवेश गर्न पाउने उनको भनाइ छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार भारतीयको हकमा पूर्ण खोप भने अनिवार्य छैन। यसैगरी, तेस्रो मुलुकका पर्यटकको हकमा ७२ घन्टे पीसीआर रिपोर्टसहित कोभिडविरुद्धको पूर्ण खोप लगाएको कागजात पनि आवश्यक पर्ने तिवारीले जानकारी दिए।
भारतीय पर्यटक र यात्रुसहित निजी भारतीय सवारी नेपाल भित्रिन थालेपछि यहाँका पर्यटन व्यवसायी तथा होटल व्यवसायीसमेत उत्साहित बनेका छन्।
कोभिडका कारण लामो समयदेखि थला परेको पर्यटन व्यवसाय नाकामा आवागमन सहज हुन थालेसँगै उकासिने उनीहरूको भनाइ छ।
अहिले सीमानाकाबाट विशेषगरी दशैं मनाउने नेपालीहरू प्रवेश गरिरहेका छन्। तीमध्ये गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कास्कीलगायत पहाडी जिल्लाका युवाहरू धेरै रहेको बेलहियाका प्रहरी प्रमुख पौडेलले बताए।
नेपालीहरू धेरै ठूलो संख्यामा स्वदेश फर्किन थालेपछि स्वास्थ्य जाँचमा पनि समस्या पर्ने गरेको उनको भनाइ छ। भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पुर्याउनेदेखि उनीहरूको गुनासो सम्बोधनका लागि बेलहिया नाकामा नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ।