यी हुन् भारतका पाँच अर्बपति र उनीहरूको सम्पत्ति

एजेन्सी

नयाँ दिल्ली
Breaknlinks
Breaknlinks

छिमेकी मुलुक भारतमा दिनहुँ अर्बपतिहरुको संख्या बढ्दो छ। कोभिड महामारीबीच भारतीय अर्थतन्त्रमा निरन्तर बृद्धि भइरहेको छ। प्रस्तुत छ भारतका पाँच अरबपति –

मुकेश अम्बानी
भारतका अर्बपति व्यापारी र चर्चित रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश धिरुभाइ अम्बानी बिगत १० वर्षदेखि भारतको सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन्। यसै वर्ष आइआईएफएल वेल्थ एन्ड हुुरुन इन्डियाले सार्वजनिक गरेको एक तथ्यांकअनुसार अम्बानीको ९६ अर्ब ६० करोड डलर सम्पत्ति छ। 

गौतम अडानी 
अडानी ग्रुपका संस्थापक तथा अध्यक्ष गौतम अडानी भारतका दोस्रो धनाढ्य हुन्। सन् २०२१ को फोब्र्सको रिपोर्टअनुसार अडानी एशियाको दोस्रो र संसारकै १३ औं धनी व्यक्ति हुन्। आइआईएफएल वेल्थ एन्ड हुुरुन इन्डियाको सर्बेक्षणअनुसार अडानीको ६५ अर्ब ६६ करोड सम्पत्ति छ। 

शिव नाडार
एचसीएल टेक्नोलोजिका संस्थापक तथा अध्यक्ष शिब नाडारको ३० अर्ब ७५ करोड डलर बराबरको सम्पत्ति छ। कोभिडका कारण भारतको ट्राभल, हस्पिटालिटी र रिटेल क्षेत्र प्रभावित भए पनि नाडारको सम्पत्ति भने निरन्तर बढिरहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन्। 

एसपी हिन्दुजा 
भारतमा जन्मिएका ब्रिटीश अर्बपति तथा लगानीकर्ता श्रीचन्द परमानन्द हिन्दुजा भारतका चर्चित उद्योगपति हुन्। उनी हिन्दुजा ग्रुप अफ कम्पनीका अध्यक्ष र प्राइमरी सेयरहोल्डर हुन्।

२८ अर्ब ६० करोड डलर सम्पत्तिका मालिक एसपी हिन्दुजा  र उनको परिवारको स्वामित्वको अशोक लेल्यान्ड र इन्डसइन्ड बैंक एशियामा नै चर्चित कम्पनी हुन्। हुरुनको रिपोर्टअनुसार सेयर मुल्यमा भएको बृद्धिसँगै उनका कम्पनीले उल्लेख्य प्रगति गरेका छन्। मुम्बई, लन्डन र जेनेभामा रहेर हिन्दुजा ब्रोदर्सले आफ्ना कम्पनीहरू चलाउँदै आएका छन्। 

लक्ष्मी मित्तल
स्टिल उत्पादनमा चर्चित नाम लक्ष्मी मित्तल भारतका पाँचौं धनाढ्य हुन्। उनको २२ अर्ब ६७ करोड डलर सम्पत्ति छ। उनको स्वामित्वमा रहेको बहुराष्ट्रिय स्टिल निर्माता कम्पनी आर्सेलरमित्तलको प्रधान कार्यालय लक्जेम्वर्गमा छ। आर्सेलर र मित्तल स्टिलको मर्जपछि सन् २००६ मा आर्सेलरमित्तल स्थापना गरिएको थियो। निर्माण, पूर्वाधार र नविकरणीय उर्जाको क्षेत्रमा आर्सेलरमित्तलबाट उत्पादित सामाग्रीको माग बढ्दो छ। 

प्रकाशित मिति: : 2021-10-05 09:29:00

प्रतिकृया दिनुहोस्