कमला ह्यारिसः यस्ताे छ वकीलदेखि अमेरिकी उपराष्ट्रपतिसम्मकाे यात्रा

Photo: Alex Edelman/Shutterstock
Photo: Alex Edelman/Shutterstock

सफलता सानाे हाेस् या ठूलाे, त्यसकाे कुनै आयु हुँदैन। न त कुनै हदबन्दी नै हुन्छ।

सफलताकाे पुरक पक्षलाई नियाल्दा कसैकाे दुःख र संघर्ष कम हुन्छ त कसैकाे बढी। महिलाहरुकाे सफलतामा झन् यसले महत्वपुर्ण अर्थ राख्छ।

यहीबीच विश्वकै आर्थिक सम्पन्नताकाे देश मानिने अमेरिकाकाे उन्चासाैँ उप-राष्ट्रपति भएर महिलाकाे शक्ति र अस्तित्वलाई फराकिलाे बनाएकी पात्र हुन्- कमला ह्यारिस।

५६ वर्षीया कमला पहिलो महिला, पहिलो अश्वेत व्यक्ति र पहिलो दक्षिण एसियाली अमेरिकी हुन्, जसले अमेरिकाकाे उपराष्ट्रपतिजस्ताे महत्वपुर्ण जिम्मेवारी निभाइरहेकी छन्।

उनले गत जनवरी २० मा उपराष्ट्रपतिको सपथ लिएकी थिइन्। उनी उपराष्ट्रपति बन्नुअघि पनि चर्चित नै थिइन्। सन् २०१६ मा ह्यारिस संयुक्त राज्य अमेरिका सीनेटको लागी निर्वाचित हुने पहिलो भारतीय-अमेरिकी महिला बनिन्।

अझै त्यसअघि सन् २०१० मा पनि उनी अफ्रिकी-अमेरिकी र क्यालिफोर्नियाको महान्यायाधिवक्ताको रूपमा सेवा गर्ने पहिलाे महिला बनेकी थिइन्। 

सन् १९६४ काे अक्टाेबर २० मा उनी ओकल्याण्ड, क्यालिफोर्नियामामा जन्मेकी थिइन्। उनी जमाइकन बुवा डोनाल्ड ह्यारिस र भारतीय आमा श्यामला गोपालन ह्यारिसकी पहिलो सन्तान हुन्।

उनी सात वर्षकै हुँदा विविध कारणवश् आमा-बुबाको सम्बन्ध विच्छेद हुन पुग्याे। त्यसपछि उनी १२ वर्षको उमेरमा आमा र बहिनीसंग क्युबेक, क्यानाडामा बसाई गर्न सर्न बाध्य भइन्। उनले क्युबेकमा रहँदा फ्रेन्च बोल्न पनि सिकिन्।

उनीभित्र विद्राेही स्वभाव र चेत सानै देखि थियाे, जुन एक नेत्रीकाे लागि आवश्यक रहन्छ। उनले विस्तारै राजनैतिक प्रवृतिहरू देखाउन थालेकी थिइन्। यहाँसम्म कि क्युबेकमा उनले छिमेकी बच्चाहरुलाई घर अगाडी खेल्न नदिने घर मालिकको विरूद्ध विरोधको आयोजनासमेत गरिन्। भलै त्यतिबेला त्याे उनकाे पागलपन थियाे, तर अन्यायविरूद्ध र स्वतन्त्रताकाे पक्षमा वकालत गर्ने उनकाे त्याे बानीले उनलाई आजकाे स्थानसम्म पुर्‍यायाे।

उनले आफ्नो 'हाईस्कूल'को अध्ययन वाशिंगटन डीसीको वेस्टमाउन्टबाट पुरा गरिन्। उनी विद्यार्थी सरकारको परिषद्मासमेत निर्वाचित भएकी थिइन्। राजनीति विज्ञान र अर्थशास्त्रमा बीएको पढाइ गर्दै-गर्दा उनि एक बहस टीममा सामेल भइन्।

सन् १९८६ मा हावर्ड विश्वविद्यालयले स्नातकको डिग्री र सन् १९८९ मा हेस्टिंग्स कलेजले उनलाई कानूनको डिग्री प्रदान गरेको थियो।

औपचारिक शिक्षा पुरा गरिसकेपछि १९९० देखि १९९८ सम्म ह्यारिसले ओकल्याण्डमा उपजिल्लामा अधिवक्ताको रुपमा काम गरेकी थिइन्। कठोर स्वभावले गर्दा प्रशंसित भएकी उनले सामूहिक हिंसा, लागूऔषध बेचबिखन र यौन दुर्व्यवहारका विभिन्न मुद्दा लडिन्। सन् २००४ मा उनी जिल्ला अधिवक्तासमेत भइन्।

त्यस्तै सन् २०१० मा उनी क्यालिफोर्नियाको महान्यायाधिवक्तामा निर्वाचित भइन्। उनी यो पद धारण गर्ने पहिलो महिला र पहिलो अफ्रिकी अमेरिकी थिइन्।

सर्वोच्च अदालतका उम्मेदवार ब्रेट काभानाघ र महान्यायाधिवक्ता विलियम बारबिरुद्ध उनका प्रश्नहरुले सीनेट न्यायिक समितिको महत्वपूर्ण सुनुवाइमा उनलाई राम्रै चर्चा दिलायाे। 

न्यायिक समितिबाहेक उनले सिनेटको गृहभूमि सुरक्षा र सरकारी मामिला समिति, खुफिया समिति र बजेट समितिमा पनि काम गरिसकेकी छिन्।

ह्यारिस ती थोरै राजनीतिज्ञहरु मध्ये एक हुन्, जसको उद्देश्य बाहिरबाट युद्ध गर्नुभन्दा भित्रबाट सम्पूर्ण प्रणाली सुधार गर्नु हो। सधैं सामाजिक न्यायमा रुचि राख्ने उनी एक सफल वकील त हुन् नै, एक कुशल समाजसेवी पनि हुन्।

सफल कानूनी करिअरपश्चात उनीमा नेतृत्वकाे भाक जाग्याे। उनले साेचिन्, अब राजनीतिबाटै खराब प्रणालीकाे अन्त्य गर्छु। 

ह्यारिस २०२० को चुनावमा प्रजातान्त्रिक पार्टीबाट संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिकाे दौडमा थिइन्, तर विभिन्न राजनीतिज्ञहरूसँगकाे समझदारी अनुसार उनी उपराष्ट्रपति बन्न पुगिन्। राष्ट्रपतिकाे चुनाव भने जोइ बिडेनले जिते।

ह्यारिस र बाइडेनले जिम्मेवारी भने एकैदिन २० जनवरीबाट सम्हालेका हुन्।

निडर स्वभावकी ह्यारिसलाई सन् २००४ मा नेसनल अर्बन लीगद्वारा 'वुमन अफ पावर'काे उपाधिले विभुषित गरिएकाे थियाे। सन्२००५ मा पनि राष्ट्रिय अश्वेत अभियोजक संघले उनलाई थर्गूड मार्शल पुरस्कारबाट सम्मान गरेकाे थियाे।

उनको व्यक्तिगत जीवन पनि राेचक नै छ। उनले लामो समयको प्रेम सम्बन्धपछि वकील डगलस एमोफसंग २२ अगस्ट, २०१४ मा विवाह गरेकी थिइन्। बिवाहपछि उनी दुई बच्चाहरुको सौतेनी आमा बनिन्।

अहिले उपराष्ट्रपति भएसँगै उनले झन् सबैकाे मन जित्दै गएकी छन्। उनले गरेका विभिन्न कुटनीतिक सम्बन्ध सुधारले उनलाई झन् चर्चा दिलाएकाे छ। अमेरिकी जनताले त यस्ताेसम्म भन्न थालेका छन् कि, अमेरिकामा अबकाे राष्ट्रपति उनै ह्यारिस नै हुन्। 

प्रकाशित मिति: : 2021-09-30 19:50:00

प्रतिकृया दिनुहोस्