यतिबेला सामाजिक सञ्जालमा एक जना वकील खूब चर्चामा छन्, शम्भु थापा।
त्यसो त बार एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता थापा चर्चामा भइरहन्छन्। उनी बौद्धिक बहस गरेर होइन, विभिन्न प्रोपोगण्डाबाट चर्चामा आइरहने नागरिक समाजका 'विद्वान मित्र' हुन्।
कहिले लोकमानसिं कार्कीसँग 'लाप्पा' खेलेर चर्चाको शिखर चढ्छन्। कहिले ज्ञानेन्द्र शाहविरुद्ध सडकमा उत्रिएर चर्चा बटुल्छन्। इजलाशमा बसेका प्रधान न्यायाधीशलाई विदामा बस्न सुझाव दिनेदेखि 'श्रीमान' हरुसँग तास खेलेर हारिदिनेसम्मका उनका रणनीति न्याय क्षेत्रका लागि गोप्य विषय होइनन्।
पछिल्लोपल्ट चर्चा कमाएका छन्– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्नका लागि गरेको आग्रह अस्वीकार गरेको भनेर। नागरिक समाजबाट उनलाई मन्त्रीको लागि प्रस्ताव गरेको समाचार बाहिरिएपछि थापा रातारात चर्चामा आएका हुन्।
प्रधानमन्त्री देउवाले मन्त्रीको लागि गरेको प्रस्तावलाई ठाडै अस्वीकार गरेपछि उनलाई यतिबेला सामाजिक सञ्जालमा 'हिरो'समेत मान्न थालेका छन्।
को हुन् शम्भु थापा ?
शम्भु थापा ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट उदयपुरमा चुनाव लडेर पराजित भएका व्यक्ति हुन्।
उनी पञ्चायतकालमा ल क्याम्पसमा पढाउँथे पनि। सुवास नेम्वाङले पढाउँदाताका। पछिल्लो समय उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका विरोधीका रुपमा देखा परे। अनि माधव नेपालका विश्वासपात्र भए।
नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलील दुई पटकसम्म प्रतिनिधि सभा विघटनको प्रयास गर्दा कानूनी लडाइँको अग्रपंक्तिमा थिए, शम्भु थापा।
ओलीविरुद्ध उनले के–के गतिविधिमात्र गरेनन् र ? सडकमा 'पम्प्लेट' बोकेर उनै उभिए। विभिन्न ब्याङक्वेटहरुमा आयोजित ओलीविरुद्धको कार्यक्रमहरुमा उनैले आक्रमक भाषण गरे। अदालतमा उनैले बहस गरे। यहाँसम्म कि सिंहदरबार र बालुवाटारका पर्खाल घेरेर उभिनसमेत भ्याए।
ओलीलाई अदालतबाट पराजित गर्न उनले सबैथोक गरे। ओली सरकारलाई परमादेशमार्फत् ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनमा उनले ठूलो भूमिका खेलेका छन्।
उनी नागरिक समाजको अगुवाइ गर्दै हिँडे पनि कतिपय आलोचकहरुले भने 'सत्तारुढ गठबन्धन' को पक्षपोषक भनेर चिन्दछन्, उनलाई। यो जमात पनि सानो छैन। कतिसम्म साँचो हो ? उनै जानुन्।
थापाले ओलीलाई मात्र होइन, ओलीनिकटका नेता तथा कार्यकर्ताहरु कसैलाई बाँकी छाडेनन्। आफूसँग भएको कानूनको ज्ञानकै आधारमा उनले ओली र उनका समर्थकहरुलाई निशाना बनाए।
ओलीले प्रतिनिधिसभा विघटन गर्दा उनले भनेका थिए, 'प्रधानमन्त्री र राष्ट्रपतिले यो धाराबाट यो धारा जान्छ भनेर अंकगणितको आधारमा खेल खेल्नुभएको छ, जुन अति निर्लज्ज र लज्जास्पद छ। राष्ट्रपतिलाई यहाँ भयङ्कर मानिन्छ त्यो होइन। सभामुखले कानूनी र संवैधानिक कदम चाल्न तयार छु भनेर बस्नुपर्छ।'
त्यस्तै एकपटक यही विषयमा सर्वोच्च उनले बहस गर्दा प्रधानन्यायाधीश चोलेन्द्र राणाले सोधेका थिए, '२० मिनेटमा सकिन्छ ?'
तब थापाले ठाडै भनेका थिए, 'अलिकति जाला !'
त्यसपछि पनि थापाले थपेका थिए, 'म मनमा लागेको कुरा भन्छु। संविधान कता जाँदैछ भन्नेबारे। मेरो खासै ‘रिफरेन्स’ छैन।'
त्यसपछि उनलाई न्यायाधीश राणाले भने, 'ल त, उसो भए सुरु गर्नुहोस् तपाईं !'
तब थापाले भने, 'म सकभर गफ गर्दिनँ श्रीमान, कुरा उनै हुन्। संविधान उही हो। संविधान पल्टाएर श्रीमानहरूबाट प्रश्न आइरहेको छ। संविधान त्यही हो। प्रधानमन्त्री, संविधानसभा अध्यक्षसँग पो अर्को संविधान छ !'
उनले अघि थप्दै भनेका थिए, 'संविधान त त्यही हो, श्रीमान। बेलाबेलामा बोली फेर्न पो भएन।'
बेलाबेलामा राणाले प्रतिप्रश्न गर्दा थापाले भन्थे, 'प्रेरोगेटिभ भनेको परमाधिकार हो श्रीमान, विशेषाधिकार भनेको त प्रिभिलेज हो।'
थापाले सर्वोच्चमै ओलीलाई प्रश्नसमेत गरेका थिए, 'कि भन्नुपर्यो म राजा हो। म बादशाह हो। नत्र संविधानको जलाएर आफ्नो चिया पकाउन पाइन्न।'
उनले संर्वोच्चमा बहस गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत छाडेनन्। उनले भनेका थिए, 'ओली त अति हुन् हुन्। त्यसैमाथि राष्ट्रपतिज्यूले पनि त्यस्ताहरुको संरक्षण गर्दै हुनुहुन्छ। जुन कुरा लाजमर्दो विषय हो।'
ओलीबाहेक उनले सबैभन्दा ठूलो दुश्मन ठाने, तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई। उनले बाँस्कोटालाई खिज्याउँदै पाटनढोकाको एउटा सार्वजनिक कार्यक्रममै भनेका थिए, 'गोकुल बाँस्कोटालाई हामीले चिनेका छैनौँ र ? हुलिया हेर्नुहोस् त ! अझै त्यो बोलेको हेर्नुहोस् त। ! नेपाली जनताको सपनालाई बेच्न कसैसँग डिल गर्दै हुनुहुन्छ। बाँस्कोटा त ओलीभन्दा पनि अझै घातक शासक हुन्।’
उनी यति तल झरे, बाँस्कोटाको अनुहारबारे समेत टिप्पणी गरे। के गोकुल बास्कोटाको अनुहार कसैले चाहेर त्यस्तो बनेको हो र ? कि बाँस्कोटा पनि थापा जस्तै छ फिट अग्लो र एक क्विण्टल वजन भएको हुनुपर्थ्यो भन्ने तर्क हो उनको ? थापाले गोकुलबारे अगाडि भनेका थिए, 'बाँस्कोटा अनुहार हेर्दा नेताजस्तो होइन, जग्गा बेच्ने दलालजस्तो लाग्छन्।'