अर्थमन्त्रीले लगानीको स्रोत नखोज्ने कानून पास गराएलगत्तै सुमार्गीद्वारा ३८ मेगावाटको जलविद्युत निर्माण गर्ने घोषणा

व्यवसायी अजेयराज सुमार्गीले ३८ मेगावाटको आँखुखोला जलविद्युत आयोजना निर्माण गर्ने घोषणा गरेका छन्।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् १० वटा क्षेत्रमा लगानी गर्ने व्यवसायीको सम्पत्तिको स्रोत खुलाउनु नपर्ने कानूनी व्यवस्था गरेको तीन दिनपछि सुमार्गीले उक्त आयोजना घोषणा गरेका हुन्।

सरकारले यसै साता प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका बीच संघीय संसद्बाट पारित गरेको आर्थिक ऐनमा राष्ट्रिय महत्वका १० वटा क्षेत्रमा लगानी गर्दा स्रोत खोल्नु नपर्ने व्यवस्था छ। लगानीका त्यस्ता क्षेत्रको पहिलो नम्बरमा जलविद्युत आयोजना उल्लेख छ।

आर्थिक ऐनअनुसार स्रोत खुलाउनु नपर्ने ‘राष्ट्रिय महत्वका क्षेत्र’ हुन्– जलविद्युत योजनाहरु, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगत मार्गहरु, सडक मार्ग, रेलमार्ग, सिमेण्ट, स्टिल उद्योग, कृषिका उद्योगहरु, ३०० भन्दा बढी नेपाली मजदुरहरुलाई रोजगारी दिने उद्योगहरु, ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा माल प्रयोग गर्ने उद्योगहरु।

सम्पत्तिको स्रोत खोल्नु नपर्ने व्यवस्थालाई एमालेले सुमार्गीको नामै लिएर कालो धनलाई सेतो बनाउन खोजेको भन्दै विरोध जनाउँदै आएको छ। माओवादीले १० वर्षे सशस्त्र द्वन्द्वका बेला लुटेको धन र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत सो पार्टीका नेताले लुकाइछिपाइ राखेको धनलाई सेतो बनाउन बजेटमा यस्तो व्यवस्था गरिएको एमालेको आरोप छ।

व्यवसायी सुमार्गीले धादिङको साविक लापा, सेर्तुङ्ग, एवं झार्लाङ्ग गा.वि.स.(हालको रुवीभ्याली गाउँपालिका तथा खनियाबास गाँउपालिका) मा उक्त हाइड्रो निर्माण हुने जनाइएको छ।

परियोजनाको अनुमानित लागत करिब सात अर्ब ३३ करोड रुपैयाँमध्ये बैंकहरुको ऋण ७५ प्रतिशत  र सुमार्गीको लगानी २५ प्रतिशतको अनुपातमा लगानी हुने सुमार्गीका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकहरूको रु.५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहने उक्त आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनल लि. को अगुवाईमा नेपाल एस.बि.आइ बैंक लि, नेपाल बङ्गलादेश बैंक लि, मेगा बैंक नेपाल लि., र सिभिल बैँक लि. बाट ऋण लगानी गर्ने गरी प्रवद्र्धक कम्पनी एवं बैँकहरु बीच ०७८ आश्विन १२ गते वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको  विज्ञप्तिमा उल्लेख छ।

सुमार्गीका अनुसार, आयोजनाको निर्माण आगामी चार वर्षभित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ।

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लास्थित त्रिशुली ३ बी हव सबस्टेशनमा जोडिने छ। कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र वर्खामा १५२.४३८ गिगावाट गरी बार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुनेछ।

प्रकाशित मिति: : 2021-09-29 17:29:00

प्रतिकृया दिनुहोस्