भारतीय किसान आन्दाेलनः झन् भयानक बन्दै माेदीविरूद्धकाे प्रदर्शन

बिएल संवाददाता

नयाँ दिल्ली
Photo : PTI
Photo : PTI

भारतीय किसान– जो विगत दश महिनादेखि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरूद्ध आन्दोलित छन्, उनीहरूले कृषि कानूनको विरोध गर्दै तीब्र प्रदर्शनसमेत गरिरहेका छन्।

किसान मोर्चाको ‘भारत बन्द’ले सोमबार केन्द्रीय राजधानी नयाँदिल्ली, गुरुग्रामसहित देशभर ठूलो प्रभाव पार्‍यो। दिल्लीबासीले यसक्षेत्रमा भारी जामको सामना गरे। कयौँ किलोमिटरसम्म सवारीको लामो जामले यात्रुहरू हैरानी भोग्न बाध्य भए।

गाजियाबादबाट दिल्लीको अक्षरधामसम्म सडकैभर लाम लागेका सवारी मात्रै देखिन्थे। किसान आन्दोलनका कारण दिल्लीको रेल-वे सेवा पनि प्रभावित बन्यो।

नयाँ दिल्लीसँग जोडिएका धेरै रेलहरू सोमबार चल्नै सकेनन्। पटक-पटकको प्रयासपछि सेवा नै रद्द गर्नुपर्‍यो। कतिपय रेल ‘भारत बन्द’को त्रासले गन्तब्यमै विसाइए। हरियाणाको सोनीपत र पञ्जाबको अमृतसरस्थित रेलपटरी आन्दोलित किसानले ढुङ्गा राखेरै रोके।

कांग्रेस नेता राहुल गान्धीले किसानको अहिंसात्मक सत्याग्रह माग पूरा नभएसम्म कायम हुने बताएका छन्। मोदी नेतृत्वको सरकार शोषक भएकोसमेत उनले बताए।

केन्द्र सरकारले किसानविरोधी तीनवटा कानून संसदमा पेश गरेको किसान नेताहरूको आरोप छ। भारतीय नागरिकले किसानविरोधी भारतीय जनता पार्टीविरूद्ध आवाज उठाउनुपर्ने विपक्षी पार्टीहरू बताउँछन्।

किसान मोर्चाले आयोजना गरेको भारत बन्दले भारतीय अर्थतन्त्रमा ठूलो असर पर्ने अर्थविज्ञहरूले बताएका छन्। भारतीय किसान युनियन– मोदी समर्थक भानु प्रताप सिंहले किसान आन्दोलनलाई आतंकवादी गतिविधिको संज्ञा दिएका छन्। उनले किसान मोर्चालाई 'अफगान तालिबान'सँग तुलनासमेत गरे। उनले भारतीय जनतालाई बन्दको समर्थन नगर्नसमेत अपील गरेका थिए।

भारतीय शहीद भगत सिंहको जन्मदिनकै दिन ‘भारत बन्द’ हुने अवस्था आउनु दुःखद भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्। स्वतन्त्र भारतमा किसानको माग सुनुवाई नभएको बताउँदै केन्द्र सरकारकाे आलोचना गरे।

किसान नेता राकेश टिकैतले कृषि कानूनविरूद्धमा झन् ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनले भने, ‘तपाईं बन्दुकको शक्तिसँग बिचार बदल्न सक्नुहुन्न। मोदी फेरिने लक्षण देखिएको छैन। उनी क्रूर शासक भइरहेका छन्। उनी किसानविरोधी पात्र हुन्।’

आन्दोलन क्रममा दिल्ली–सिन्घुसीमा नजिकै एक किसानको मृत्यु भएको छ। उनको मृत्यु हृदयघातका कारण भएको प्रहरीले जनाएको छ। मृतक किसानको नाम भगेल राम हो।

कांग्रेस, आम आदमी पार्टी, बहुजन समाज पार्टी, समाजवादी पार्टी र वामपन्थी पार्टीले भारत बन्दको समर्थन गरेका छन्। बन्दलाई अखिल भारतीय बैंक अधिकारीहरूको सङ्गठनले समेत समर्थन गरेकाे छ।

प्रकाशित मिति: : 2021-09-28 09:56:00

प्रतिकृया दिनुहोस्