खोलाको पानी, घोँडेबासवासीको खानेपानी

   दशरथ घिमिरे

लमही नगरपालिका–६ घोँडेबास निवासी गंगा सुनाम डोकोमा गाग्री बोकेर घर छेउको गोराखे खोलामा पुगिन्। खोलामा पानी बगिरहेको थियो। सधैं पानी भर्ने किनाराबाट गाग्रीमा पानी भरेर घर फर्किइन्। गंगा सुनाम हरेक दिन बिहान र बेलुका खोलामा पुगेर सधैं यसैगरी पानी भरेर ल्याउने गर्छिन्। खोलाको पानी पिउन, भात भान्सा गर्न प्रयोग गर्ने गरिएको छ। घरमा पालिएका पशु चौपाया र मानिसले त्यही खोलाको पानी खाँदै आएका छन्।

पानी परेको बेला खोलामा बाढी आउँछ । त्यसपछि धमिलो पानीसमेत खानुपर्ने बाध्यता सुनामले सुनाइन्। ‘पानी ल्याइदिन्छौं भनेर आशा देखाए तर न धारा आयो न पानी आयो’, उनले गुनासो पोखिन्, ‘खानेपानीको दुःख छ। बाढी आयो भने धमिलो पानी खानुपर्छ।’

सरकारले सहरबजारमा खानेपानी पुर्‍याउन करोडौंको लागतमा आयोजना सञ्चालन गरे पनि गाउँवासी अहिलेसम्म खोलाको पानी खानुपर्ने बाध्यता छ। दाङस्थित लमही नगरपालिका–६ घोँडेबासका स्थानीयले अर्जुनखोला र गोराखे खोलाको पानी खाने गरेका छन्। खानेपानीको आयोजना गाउँमा सञ्चालन नहुँदा दुई दशकदेखि स्थानीयले खोलाको पानीले प्यास मेटाउँदै आएका छन्।

प्रकाशित मिति: : 2021-09-24 14:36:00

प्रतिकृया दिनुहोस्