मदन पुरस्कार भगिराज इङ्नामलाई, भैरवबहादुर थापालाई जगदम्बा-श्री 

०७७ सालको मदन पुरस्कार 'लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह'का लेखक भगिराज इङ्नामलाई र जगदम्बा–श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिने भएको छ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बिहिबार बसेको गुठीको साधारण सभाले उक्त निर्णय गरेको जानकारी दिएका छन्।

यसअघि सार्वजनिक गरिएको श्रेष्ठ सूचीमा रहेका नौ पुस्तकमध्ये इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०’ लाई मदन पुरस्कार प्रदान गरिने भएको हो। २०७७ को मदन पुरस्कारका लागि प्राप्त २२२ पुस्तकमध्ये गुठीले १५ साउनमा नौ पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको थियो।

जसमा गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प-ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्‍गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्‍गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०’ रहेका थिए।

गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा-श्री सम्मान प्रदान गर्दै आएको छ। दुवै पुरस्कारको राशी चार लाख नगदसहित सम्मान पत्र रहेको छ।

प्रकाशित मिति: : 2021-09-23 17:51:00

प्रतिकृया दिनुहोस्