के अफगानिस्तानका उप–प्रधानमन्त्रीलाई हक्कानी नेटवर्कले बन्धक बनाएको सत्य हो?

तालिबानले अफगानिस्तान कब्जा गरेपनि पूर्णरुपमा सरकार गठन गर्न सकेको छैन।

तालिबान नेताहरूबीचको मनमुटाबले आन्तरिक दरार उत्पन्न भएको चारैतिर अनुमान फैलिन थालेको छ। सरकार गठनमा हक्कानी नेटवर्क प्रभावशाली देखिएको छ, जुन पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईनिकट मानिन्छ।

भर्खरै सत्ता सम्हालेका उप–प्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादर हालसम्म कहिकतै देखिएका छैनन्। उनलाई हक्कानी नेटवर्कले कन्दहार प्रान्तमा बन्धक बनाएको बताइएको छ। जबकि तालिबान प्रमुख हैबतुल्लाह अखुण्डजादाको समेत मृत्यु भइसकेको ब्रिटिश साप्ताहिक पत्रिका 'द स्पेक्टेटर'ले समाचार प्रकाशित गरेको छ।

तालिबानका सह–संस्थापक मुल्ला बरादरले सरकारको नेतृत्व ताकेपछि तालिबानभित्र विवाद उत्पन्न भएको थियो। लगतै, उनलाई विपक्षी समूहले बन्धक बनाएको सञ्चार–स्रोतको दावी छ।

सन् २०१० मा मुल्ला बरादरलाई पाकिस्तानको दक्षिणी शहर कराँचीमा पाकिस्तानको शक्तिशाली गुप्तचर एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्सका एजेन्टहरुले गिरफ्तार गरेका थिए।

अमेरिकाले अफगानिस्तान छोड्ने प्रयासलाई तीव्र बनाएपछि बरादर सन् २०१८ मा रिहा भएका थिए। तालिबानको वार्ता टोलीको उनी हिस्सा बने। उनी तालिबानको सबैभन्दा प्रसिद्ध अनुहार हुन्, जसले समूहमा कूटनीतिक प्रभाव बढाए।

सन् १९६८ मा वीटमक गाउँमा जन्मेका बरादार तालिबान आन्दोलनको जन्मस्थान दक्षिणी अफगानिस्तानको कन्दहार शहरमा हुर्किए। उनी सन् १९७९ – १९८९ को युद्धमा अफगानिस्तानबाट सोभियत सेनाहरुलाई निकाला गर्न लडेका थिए।

प्रकाशित मिति: : 2021-09-22 05:56:00

प्रतिकृया दिनुहोस्