उर्लाबारीकी रोजीका माइतीको दाबीः मर्नुपर्ने कारण नै थिएन, हत्या गरेर झुण्ड्याइयो

तेजन खड्का

उर्लाबारी
File Photo
File Photo

आफ्नै कोठामा  मृत अवस्थामा फेला परेकी सुन्दरहरैँचा वडा नं–८ सलकपुरकि  रोजीना गिरीले आत्महत्या गरेको नभएर हत्या गरिएको उनका आफन्तले आरोप लाएका छन्। 

उर्लाबारीबाट किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय बेलबारी आएका आफन्तले उक्त कुरा बताएका हुन्। 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले रोजी घरको आफ्नै कोठाभित्र चुकुल लगाइएको अवस्थामा मृत भेटिएको बताएका छन्। घटनाको प्रकृति हेर्दा आत्महत्या नै देखिएको, बाँकी कुरा पोस्टमार्टमको रिपोर्ट आए पछि मात्र भन्न सकिने बताएका छन्।

उर्लाबारी नगरपालिका वडा नं ८ दुर्गापुरी माइती भएकी रोजी आइतबार बिहान सातबजेतिर आफ्नै कोठामा मृत फेला परेकी थिइन। आइतवार अबेरसम्म पनि रोजी नउठे पछि प्रहरीलाई खबर गरिएको र खबर पाउनसाथ प्रहरी पुगेर  वडाध्यक्ष खेमप्रसाद न्यौपानेको रोहबरमा उनको फोडेको थियो। मृतकका आफन्तले माइती पक्ष नआई कोठा खोलिएकोमा आपत्ति जनाएका छन्।

‘हामी आउँदै थियौँ, किन हतार हतार ढोका तोडियो’ भनेर प्रश्न गरेका छन्।

तर यता प्रहरीले भने जीवित भएको भए अस्पताल लैजान सकिने आसामा ढोका तोडिएको बताएको छ। उता दोइलो खोल्दा रोहवरमा बसेका सुन्दरहरैँचा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष खेमप्रसाद न्यौपानेले पनि प्रहरीले आफ्नै अघि ढोका तोडेको बताएका छन्।  

घटनाको प्रकृति हेर्दा आधा खुट्टा बाहिर र शरीर चाहिँ बक्स पलङमा रहेको, सिरानी च्यापेर घोप्टो परेको अवस्थामा लास फेला परेको थियो। सलको पासोले सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरिएको भनिए पनि यो आत्महत्या नभएर हत्या भएको, हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लाएका छन्। घटनाको प्रकृति हेर्दा आत्महत्या गरिएको जस्तो नदेखिएको, परिवारकै सदस्य मिलेर हत्या गरेकोजस्तो देखिने मृतक रोजीका काका चक्र गिरी बताउँछन्।

उनी ‘भन्छन् आत्महत्या गर्नुपर्ने कुनै कारण नै थिएन। यो आत्महत्या नभएर हत्या नै हो भन्ने हाम्रा अनुमान रहेको छ।’  

२१ वर्षीय रोजीको २०७७ साल असारमा मात्र सुन्दरहरैँचा ८ सलकपुरका विनोद काफ्लेसँग प्रेम विवाह भएको थियो। उनीहरूलाई भदौ ७ गते माइती पक्षले बोलाएर टिकाटाला गरिदिएका थिए। विनोद अहिले संयुक्त अरब इमिरेट्स अन्तरगतको दुबईमा छन्। घरमा भने सासू र बुहारी मात्र बस्थे। 

दुई दाजुभाइमध्ये विनोदका जेठा दाजु छुट्टिएर बसेका छन्। जेठाजुसँग भने राम्रो सम्बन्ध नभएको, जेठाजुले बुहारीलाई नराम्रा अपशब्दले गाली गर्ने गरेको माइती पक्षले आरोप लगाएका छन्। उनीहरूले आमा र रोजीका श्रीमान्का नाममा भएको घर घडेरी विक्री गरेको पैसाको विषयलाई लिएर दाजुसँग विवाद भइरहेको, सोही विवाद नै रोजीको मृत्युको कारण हुनसक्ने बताउँदै आएका छन्। 

लास पोस्ट मार्टमका लागि धरानस्थित घोपा क्याम्प पठाइएको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: : 2021-09-21 09:00:00

प्रतिकृया दिनुहोस्